बालेनको डोजरले खेदिएका बानेश्वरका फुटपाथ व्यवसायीले भेट्टाए गुजाराका माध्यम

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 21, 2023 | 03:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिका (बालेनको डोजर)ले गत साउनबाट बानेश्वरलगायत काठमाडौँका मुख्य शहर क्षेत्रमा अभियान नै चलाएर फुटपाथ पसलहरु हटायो । डोजर लगाउँदा स्वरोजगार गरिब, किसानहरु लछारपछारमा परे । कति आँसुका धारा बगाउँदै फुटपाथ छाड्न बाध्य भए । उनीहरुका गुहार भूइँमै विलाउँथ्यो । चित्कार सुन्ने कोही भएन । 

उनीहरुका फलफूल, कपडाहरु र प्रयोग भएका सरसामान यत्रतत्र छरिए, यन्त्र उपकरणहरु भत्किए । यस्ता कारुणिक दृष्यहरु सामाजिक सञ्जालहरुमा छरपष्ट देखिँदा मन अमिलो हुन्थ्यो । अहिले पनि ती दृष्यहरु सामाजिक सञ्जालमा हेर्न पाइन्छ । भनिन्छ नी ‘हरि नभएको मान्छे’, त्यस्तै बनेको थियो काठमाडौँ महानगर । बजार व्यवस्थापन योजना नराम्रो होइन, फुटपाथ व्यवस्थापन गर्नु पनि नराम्रो होइन । तर विकल्पविहिन व्यवस्थापन आफैँमा अधिनायकवादी सिको भन्दा फरक होइन ।

सन्तानको लालनपालन र शिक्षादीक्षाका खातिर साँझको समयमा सडक पेटीमा व्यवसाय गरेर दशकौँदेखि गुजारा चलाइरहेका उनीहरुका व्यथा कसले सुन्ने ? खुकुरीको चोट अचानोलाई मात्रै थाहा हुन्थ्यो । आफ्नो र बालबच्चाको रोजीरोटी गुम्यो । 

सडकपेटीमा बसौँ नगर प्रहरी आएर सामान उठाएर लैजाने, नबसौँ कोठामा साँझ बिहानको चुल्हो नबल्ने । चेपुवामा परेका उनीहरुले नगरप्रमुख बालेनसँग नसकेपछि भोकसँग पौँठेजोरी खेले । सत्ता र शक्तिका पछाडि निहत्या उनीहरुको जोर चल्ने कुरै भएन । 

बालेन (महानगरप्रमुख बालेन्द्र शाह)ले बस्न नै नदिने भएपछि गुजाराका लागि केही त गर्नैपर्यो भनेर विकल्प खोज्न तिर लागेको उनीहरु बताउँछन् । 

बानेश्वरका फुटपाथ व्यवसायीका लागि साथ दिने मुकेश पाण्डे भेटिए । उनले नै विकल्प जुराइदिएपछि ती उठिबास लागेका स्वरोजगार मजदुरका पिलपिलिएका आँखामा खुसीको बहार छचल्किन थाल्यो ।

उनै पाण्डेले विगतमा नयाँ बानेश्वरस्थित घरमा फुटपाथ व्यवसायीका सामान राख्न गोदाम उपलब्ध गराएका थिए । त्यही ठाउँलाई अहिले ती व्यवसायीहरु आफ्नो गुजाराका माध्याम खोजिरहेका छन् ।

त्यसैको पहिलो र दोस्रो तल्लामा फुटपाथ व्यवसायीलाई स्टल अनुसार पसल राख्न दिने मुकेशको प्रस्तावप्रति विलखबन्दमा परेका व्यवसायी राजी भए ।

पहिल्यैदेखि धेरै फुटपाथ व्यवसायीले उनको अस्थायी संरचनालाई गोदाम बनाएका हुनाले व्यवसायीहरुमा पाण्डेको प्रस्तावले गुजारा चल्ने झिनो आशा पनि पलायो । त्यसपछि पाण्डेले ठड्याएको अग्लो फलामको अस्थायी घरमा फुटपाथ व्यवसायीहरु दैनिक भाडा तिरेर व्यवसाय चलाउन थाले घरको तल्लो तलामा फास्टफुड तथा चिया नास्ताका खाजा घर छन् । जुत्ता चप्पलका पसल व्यवसाय छ । 

तर भाडा तथा ग्राहक नआउनेलगायत विभिन्न समस्याका कारण उनीहरु ऋझै शशंकित छन् । अन्य क्षेत्रबाट उठिबास लागेका व्यवसायीका पीडा पनि उस्तै हो । यसैगरी स्थान पाएकाहरुले त केही कमाइ गर्न सके होला तर नपाएकाहरु महानगरका प्रहरी आउँदा भाग्ने, प्रहरी गएपछि फेरि व्यवसाय चलाउने, सडकमा यस्तै लुकामारी चलिरहेकै छ । उनीहरु प्रश्न गर्छन, ‘के स्थानीय सरकार भएपछि त्यो सरकारले त्यहाँका नागरिक तथा साना व्यवसायीको व्यवस्थापनको जिम्मा लिनुपर्दैन ? सिंहदरबारको अधिकार गाउँघरमा भन्ने नारा यही हो ?’ 

कहाँ छ त्यो फुटपाथ ?

माइतीघरतिरबाट जाँदा बानेश्वर चोकमा रहेको फलामे आकाशे पुलको नजिकै ‘फुटपाथ बजार’ भनेर लेखिएको बोर्ड टाँसिएको एउटा अग्लो अस्थायी घर देखिन्छ । तर, उक्त घरमा आकाशे पुलतिरबाट प्रवेशद्धार छैन, घुमेर पछाडिबाट प्रवेश गर्नुपर्छ ।

बानेश्वर चोकबाट पिपलबोटतर्फ हिँड्दा देब्रेतिर सडकबाटै देखिने गरी बोर्ड राखिएको छ । सडकबाट सरेका फुटपाथ उक्त अस्थायी भवनको पहिलो र दोस्रो तलामा छन् । लत्ताकपडा, जुत्ता, चप्प्लदेखि बिजुलीका सामानहरु पाइने स्टलहरु छन् । 

यसरी फुटपाथबाट मेयर बालेन्द्र शाह (बालेन)ले हटाएर विचल्लीमा परेका व्यवसायीहरु अहिले एकीकृत भएर एकै ठाउँमा भाडा तिरेर व्यवसाय गर्दैछन् । 

फुटपाथ व्यवसायीहरु अस्थायी घरमा फुटपाथकै झल्को दिने गरी साना–साना स्टलहरु लिएर व्यवसाय गर्न थालेका छन् । जेनतेन अलिअली कमाइ भए पनि सन्तोष मान्ने अबस्था अझै बनिसकेको छैन । तर शुरुवाती अभ्यासको नमूना काम यहाँ ती व्यवसायीहरुबाट शुरु भएको देखिन्छ ।

महानगरले ठाउँ दिएको झुठो हल्ला

त्यहाँ व्यवसायीहरु आफ्नै वुताले भाडा तिरेर बल्लतल्ल व्यवसाय थालेका छन् । त्यसको जस लिन काठमाडौँ महानगर तम्मिसकेको छ । महानगरले नै ठाउँ उपलब्ध गराइदिएको भन्दै प्रचार हुन थालेको छ । जुन झुठो प्रचार भएको त्यहाँका व्यवसायी बताउँछन् ।

बिजपाटीको टिम त्यहाँ पुग्दा पहिलो तल्लामा सटर नै लिएर अहिले व्यवसाय गरिरहेका पाण्डे थरका व्यक्ति सटर खोल्न चाबी लिएर आउँदै थिए । उनको साथमा अर्का एक जना साथी थिए । शिवरात्रीको दिन शनिबार पसल एकछिन मात्रै खोलेर बन्द गरेर हिडेको र आइतबार सबेरै खोलौँ भनेर आएको उनले बताए । उनले महानगरले ठाउँ खोजिदिएर फुटपाथ पसलहरुलाई यहाँ बस्ने प्रबन्ध मिलाएको भनेर महानगरलाई जबरजस्ती ‘जस’ दिलाउने होडबाजीले झुठो भएको जिकिर गरे ।

ती व्यक्तिको सटरको ठ्याक्कै पारीपट्टि (फलामको भर्याङको मुखैमा) एउटा ठूलो कपडाको पसल छ । उक्त पसलमा २ जना दाजुभाई थिए । सामान बिक्री गर्ने तरखर हुँदै थियो । उनीहरुले पनि महानगरले ठाउँ दिएको भनेर गरिएको प्रचारप्रति नै आपत्ति जनाए । आफूहरु आफैँ व्यवस्थित ठाउँको खोजीमा रहेका बेला गोदामलाई नै फुटपाथको शैलीमा चलाउने भनेर एकजुट भएको उनीहरुको भनाइ छ ।

त्यसो त, भुइँ तल्लामा तरकारी पसल राखेकी लिम्बु थरकी एक महिलाले त अक्रोश नै पोखिन् । उनको स्टलको छेवैमा मोटरसाइकल पार्किङ गर्ने स्थान छ । पार्किङ क्षेत्रबाट उनको स्टलमा पुगेर ‘महानगरले तपाइँहरुलाई यहाँ सारेर व्यवस्थित गरेको हो ? भन्ने प्रश्न खस्न नपाउँदै उनले भनिन्, ‘युटुब (युट्युब) देखि फेसबुकसम्म बानेश्वरमा फुटपाथ पसललाई मा’नगर (महानगर) ले घर दियो भनेर भिड्यो (भिडियो) देखिन्छ । कल्ले (कसले) भन्यो ? हामी पैसो तिरेर आफैँ बस्या हो । घरबेटीले गोदाममै पसल चलाओ भनेपछि यहीँ बस्यौँ ।’ यत्ति भनेर उनी फटाफट क्रेटमा टमाटर राख्न थालिन् ।

भाडा महँगो भएको गुनासो

गोदामलाई फुटपाथको शैलीमा स्टल राखेर फुटपाथ पसल चलाउन पाउन पाएका उनीहरु भाडा भने महँगो भएको गुनासो गर्छन् । सटर लिएकाहरुले एक वर्षदेखि पाँच वर्षसम्म सम्झौता गरेपनि स–साना स्टल राखेर व्यवसाय गर्नेहरुले दैनिक भाडा तिर्नुपर्छ । यस्तो भाडा १ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म छ ।

भुइ तल्लामा तरकारीका स्टलहरु छन् । बिहान बेलुका खुल्छन् । उनीहरुले १ हजार रुपैयाँ तिर्नुपर्छ । पहिलो तल्लामा स्टल राख्नेले साइड अनुसार दैनिक ३ सयदेखि ७ सय तिर्नुपर्ने रहेछ । दोस्रो तल्लामा भाडा सस्तो भएपनि किन्ने मान्छेहरु पुग्दैनन् ।

भाडा महँगो भयो भन्ने व्यवसायीहरुको गुनासोमा उक्त फुटपाथ बजारका व्यवस्थापकसमेत रहेका व्यवसायी वासु पाण्डे १ सय रुपैयाँदेखिका स्टलहरु रहेको र ‘अफ सिजन’मा यसमा पनि ५० प्रतिशतसम्म छुट दिने गरेको बताउँछन् । 

‘उहाँहरु एक पैसा पनि नतिरी सडकमा व्यवसाय गर्दै आउनु भएको हो, स्टल राखेको दिनको १ सय रुपैयाँ र नराखेको दिनको पैसा नलाग्ने व्यवस्था हुँदा पनि उहाँहरुलाई महँगो लागेको छ, किनभने कुनै शुल्क नतिरी व्यवसाय गर्दै आउनु भएको हुनाले त्यो शुःल्क महँगो लाग्नु स्वभाविक पनि हो’ वासु पाण्डेले बिजपाटीसँग भने, ‘ठाउँ अनुसार १ सयदेखि १ हजारसम्म लिने गरिएको छ, स्टल नराखेको दिनको तिर्नु पर्दैन । उहाँहरुलाई विस्तारै बानी पर्दै जान्छ ।’

दशैँ अघि (भदौको मध्यतिरबाट) बाट फुटपाथ व्यवसायीहरुले यहाँ व्यवसाय सुरु गरेका हुन् । पाण्डेका अनुसार अहिले १२० स्टल सञ्चालनमा छन् । फुटपाथकै झल्को दिने गरी अर्को स्टल जोडेरै ‘डेकोरेशन’ गरिएको छ । पसल यता सरेको प्रचार भइरहेकै छ ।

विस्तारै उपभोक्ताहरु पनि बढ्दै छन् । ‘अब गर्मी सिजन लाग्न थाल्यो, जाडोमा त खासै भएन, गर्मीमा चाहिँ मान्छेहरु बढ्लान् की भन्ने आशा छ’ बालबच्चाका कपडा बेच्ने अर्की व्यवसायीले भनिन् ।

यस अघि: बालेनको डोजरले बैंकिङ प्रणालीकै ‘चेन ब्रेक’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved