बालेनको डोजरले बैंकिङ प्रणालीकै ‘चेन ब्रेक’

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 15, 2023 | 01:05:04 PM मा प्रकाशित

laxmi  sunrise bank

करिब चार महिना अघिसम्म पूरानो बानेश्वर चोकको एउटा कुना फलफूलले भरिपूर्ण हुन्थ्यो । फलफूलको रसले आउने ग्राहकका आँतमात्र होइन पसलेको परिवारका आँत पनि भरिन्थ्यो । 

रमेश यादव (नाम परिवर्तन) रौतहटबाट काठमाडौँ छिर्दा यसरी नै परिवारको ओठमा खुसी छर्न आएका थिए । परिवारको रहर त्यही पसलबाट पूरा गरेका पनि थिए । लामो समयको फलफूल पसलको दौरान पूरानो बानेश्वरका चोक र गल्लीका हरेकले उनलाई परिचित झैँ ठान्न थालेका थिए । 

पसलको आम्दानीपछिको लगानीबाट बचेको खुद्रे रकमहरु उनले नजिकैको एक सहकारीमा जम्मा गर्थे । आडमै फलफूल पसल चलाइरहेका ती व्यक्तिलाई सहकारीले पनि विश्वास गथ्र्यो । आवश्यक पर्दा कहिले हजारमा कहिले एकाध लाख रुपैयाँ ऋण लिदैँ र तिर्दै गर्थे । दश वर्षदेखि त्यो सहकारी सुखदुखको साथी बन्दा पछिल्लो समय लिएको तीन लाख रुपैयाँको ऋण तिर्दै कमाउँदै गर्नमा व्यस्त थिए उनी ।

यही बीचमा तीन महिना अघि सडकको फुटपाथ मिचेको भन्दै उनको फलफूल पसलमा काठमाडौँ महानगरपालिकाको डोजर चल्यो । असरल्ल सडकमा छरिएका स्याउ, सुन्तला, केरा र अंगुरका दानाजस्तै उनका आँखाका आँसु पनि असरल्ल छरिए । डोजरका दाँतले जुस बनाउन किनेको मेसिन क्षणभरमै कच्याककुचुक पार्यो । अनि उनका सपना आँसुका रुपमा सडकमाझ चुहिए । आँसुका रेसाले सुन्निएका आँखा टिलपिल गर्दै पोका पन्तुरा बोकेर उनी रौतहटको गौर फर्किए । 

आम्दानीको स्रोतमाथि नै बालेनको डोजर चलेपछि उनीमाथि सहकारीमा तिर्नुपर्ने कर्जाको साँवा र ब्याज तिर्न त के, दैनिक गुजारामै समस्या पर्यो । मजदुरकै भनाइमा काठमाडौँमा महानगरको डोजर आतङ्क फैलियो ।

त्यहाँ मात्र होइन न्यूरोड गेट नजिकै र काठमाडौँ मल अगाडिको आसपासमा साँझ परेपछि फुटपाथमा जुत्ता–चप्पल र कपडा बिक्री गर्नेहरु अहिले देखिँदैनन् । 

महाबौद्ध, असन र इन्द्रचोकका होलसेल पसलहरु सुके । किनकी, त्यही होलसेल पसलबाट सामान ल्याएर केही नाफा राखेर रत्नपार्क आसपास फुटपाथ व्यवसाय चल्थ्यो । मजदुरहरु भन्छन्, “डोजर आतङ्कले दोकान चल्ल दिएन, विल्लीबाठ बनायो ।”

ती साना व्यवसायीहरु होलसेलबाट सामान ल्याएर फुटपाथमा व्यापार गर्थे । उधारोमा सामान ल्याएर बिक्री गर्थे, त्यसबाट थोरै कमाउँथे र साहुलाई पनि पैसा बुझाउँथे । त्यसैगरी चल्ने साना व्यवसायीका गुजारामा महानगरले बुझो लगाइदिएको उनीहरु बताउँछन् । 

उनीहरु कुबेरले औँलामा थुक लगाएर तोरी टिपे झैँ फुटपाथको ब्यापारको न्युन परिसनाको कमाइबाट दैनिक गर्जाे टारेर थोरै सहकारीमा राख्थे । त्यसो त न्यूरोड आसपासका होलसेल पसलहरुको कारोबार पनि सहकारीमै जम्मा हुन्थ्यो । 

तर, फुटपाथ हटेपछि होलसेल पसलहरुबाट सामान जान छोड्यो । पहिल्यै उधारोमा सामान लगेकाहरु सम्पर्कविहीन हुन थाले । यता, होलसेल सञ्चालकहरुले सप्लायर्सलाई तिर्नुपर्ने उधारोबापतको रकम पनि तिर्न सकेनन् । सँगै, होलसेलवालाहरुले सहकारीबाट लिएको कर्जा पनि तिर्न सकेनन् । त्यो असर सबैभन्दा पहिले न्यूरोड र असन तिरका सहकारीमा देखियो । ओम बटु र बिजनेश बचत तथा ऋण सहकारी उदाहरण हुन् ।

ओम बटु बचत तथा ऋण सहकारीका सञ्चालक हाल बेपत्ता छन् । बिजनेश बचत तथा ऋण सहकारीका सञ्चालकहरु पनि कहाँ छन् कसैलाई पत्तो छैन । एउटा कारण बालेनको डोजरपछि निम्तिएको समस्या सहकारीसम्म आइपुगेको हो तर सबै कारण त्यही मात्रै पनि होइन ।

हल्लै हल्लाले सहकारीको ‘रिजर्भ’ सकियो

सप्लार्य, होलसेलर र फुटपाथ तथा किराना पसलबीचको चक्र अथवा चेन बिग्रिएपछि यसको प्रभाव बैंकिङ प्रणालीमा पनि परेको नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ बताउँछन् । किनकी, बजारको चेन बिग्रिएकाले पैसा नभएपछि केही सहकारीका सञ्चालक फरार भएको र सहकारीहरु समस्यामा पर्न थाले भन्ने खालका समाचारहरु देशैभर फैलिँदा देशैभरका सहकारीमा निक्षेपकर्ताहरुको भिड लागेको श्रेष्ठको दाबी छ ।

यसरी, एकैपटक निक्षेपकर्ताहरु आफूले जम्मा गरेको बचत रकम फिर्ता लिन आएपछि सहकारीहरुले दिन नसक्ने अवस्था आएको उनको दाबी छ । किनकी, सहकारीहरुले पनि बचतकर्ताबाट संकलन गरेको रकममध्ये ८० प्रतिशतको हाराहारीमा अन्यत्र लगानी गरेका थिए । सहकारीहरुले घरजग्गा र शेयरबजारमा लगानी गरेकाले आफूसँग ‘रिजर्भ’ रकम अत्यन्त कम मात्रै राख्ने गरेको सहकारी विभागकै अनुसन्धानले देखाइसकेको छ ।

देशैभरका सहकारीले कुल १० खर्ब बराबरको पुँजी परिचालन गरेको अनुमान पनि विभागले गरेको छ । तर, यसमध्ये सहकारी संस्थाहरुसँग करिब २० प्रतिशत मात्रै पैसा ‘रिजर्भ’ थियो । त्यो २० प्रतिशत भनेको २ खर्ब रुपैयाँ हो । यो २ खर्ब रकम सहकारीहरुले बैंकमा राखेका थिए ।

बचतकर्ताहरु बचत फिर्ता लिन लाइन लागेपछि बैंकहरुबाट यो २ खर्ब रुपैयाँ पनि सहकारीहरुले एकैपटक फिर्ता लगे । 

‘यसरी बैंकबाट फिर्ता लगेको रकम सहकारीहरुले पुगेसम्म बचतकर्तालाई फिर्ता त गरे होलान्, तर बजारमा तरलताको संकट आइलाग्यो’ श्रेष्ठ भन्छन्, ‘२ खर्ब रुपैयाँ एकाएक बैंकिङ प्रणालीबाट बाहिरिएपछि बैंकहरुसँग लगानीयोग्य रकम हुने कुरा पनि भएन ।’

अहिले कुनै पनि सहकारी बचतकर्ताको सबै रकम एकमुष्ट फिर्ता गर्न सक्ने अवस्था छैनन् । किनकी, उनीहरुको निक्षेप घटेको छ ।

‘निक्षेप घट्नुमा उहीँ फुटपाथ हटाइनु नै मुख्य कारण हो, सहकारीले सानोसानो रकम संकलन गर्ने हो, सानो रकम कहाँ हुन्छ भन्दा सानो प्रकृतिको ब्यापार गर्नेसँगै हुन्छ’ श्रेष्ठ थप्छन्, ‘संसारमा जहाँ पनि फुटपाथ हुन्छ, अकस्मात हटाउने होइन, व्यवस्थापन गर्नुपथ्र्यो ।’

सहकारीमाथि अविश्वास पैदा भएर फिर्ता गएको रकम अब पुनः सहकारी हुँदै तत्काल च्यानलमै फिर्ता आउने सम्भावना न्यून रहेको सहकारीकर्मीहरु बताउँछन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved