अर्थमन्त्री भन्छन्, ‘नेपालले ऋण तिर्न नसकेको इतिहास छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 03:14:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले दीगो विकासको लक्ष्य हाँसिल गर्न पर्याप्त वित्तीय लगानी गरी पूर्वाधार अभावको खाडल पुर्नुपर्ने बताएका छन् । लगानी बोर्डको आयोजनामा नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले देशमा लगानी योग्य कोषको प्रवाह कसरी बढाउने भन्नेमा समन्वय र व्यवस्थित छलफल आवश्यक रहेको बताएका छन् । 

‘हामी डब्लुटीओका सदस्य हौं, हामीले तीन दशकभन्दा बढी समयदेखि उदार आर्थिक नीतिहरू अपनाएका छौं’ उनले भने, ‘हाम्रो मुद्रा भारतीय रुपैयाँसँग स्थिर गरिएको छ तर बाँकी परिवर्तनीय मुद्राहरूको विनिमय दर बजारले निर्धारण गर्छ । नेपालले स्थायित्व र लचिलोपनमा पर्याप्त ध्यान दिएर आफ्नो बृहत् अर्थतन्त्रको व्यवस्थापन गरिरहेको छ ।’

उनले नेपालको मासिक रेमिटेन्स आप्रवाह करिब ८० अर्ब र विदेशी विनिमय सञ्चिति १०.९ अर्ब डलर रहेको भन्दै यस रकमबाट ९ महिना भन्दा बढीको व्यापारिक वस्तु र सेवा आयात गर्न पर्याप्त रहेको बताए ।

‘हामीले नेपालको सकारात्मक बृहत् आर्थिक अवस्थालाई विश्व समुदायलाई पर्याप्त रूपमा सम्प्रेषण गर्न सकेका छौं या छैनौ भन्ने मेरो पहिलो चासो हो’ मन्त्री  डा. महतले भने, ‘नेपालले इतिहासमा न त ऋण चुक्ता गर्न असफल भएको छ, न त कुनै अन्तर्राष्ट्रिय कम्पनीलाई नाफा फिर्ता गर्ने सुविधाबाट वञ्चित गरेको छ । हाम्रो ऋण तिर्ने क्षमता इतिहासदेखि नै अत्यन्तै सकारात्मक छ । हामीले यसलाई अन्तर्राष्ट्रिय वित्तीय बजारमा उजागर गर्न आवश्यक छ ।’

डा. महतले नेपालको अर्को सकारात्मक पक्ष भनेको उच्च सम्भावित जनसांख्यकीय लाभांश भएको युवा जनसङ्ख्या पनि भएको बताएका छन् । 

‘नेपालको औसत उमेर २६ वर्ष मुनिको छ, राष्ट्रिय योजना आयोगले सन् २०५० सम्म देशमा जनसांख्यिक लाभांश कायम रहने प्रक्षेपण गरेको छ, हामीसँग अझै पनि पर्याप्त युवा जनसङ्ख्या हुनेछ जसले आगामी दिनको लागि देशको आर्थिक गतिविधिलाई सहयोग गर्नेछ’ उनले भनेका छन् । 

उनले रेमिट्यान्सलाई उत्पादनमा लगानी गर्न नसकिएको स्वीकार गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved