लगानी सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधनः नेपाल उदार आर्थिक नीतिमा प्रतिवद्ध छ (पूर्णपाठ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 01:03:34 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको भन्दै विश्वभरीका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल उदार आर्थिक नीतिमा प्रतिवद्ध रहेको जनाउँदै विश्वभरीका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठः

पूर्व प्रधानमन्त्रीहरू

मन्त्रीपरिषद्का सदस्यहरू

विशिष्ट अतिथिहरू

आदरणीय अतिथिहरू

महिला तथा सज्जनवृन्दहरू

 नमस्ते 

सर्वप्रथम म तेस्रो नेपाल लगानी शिखर सम्मेलन, २०२४ मा तपाईंहरू सबैलाई हार्दिक स्वागत गर्दछु । आजको दिन आर्थिक समृद्धि र दिगो विकासतर्फको हाम्रो यात्राको महत्वपूर्ण अवसर हो ।

यस सम्मलेन हुँदै गर्दा म गहिरो आशा र विश्वासमा छु किनभने नेपाल एक प्रमुख लगानी गन्तव्यको रूपमा उदाइरहेको छ, यसले विश्वभरका लगानीकर्ताहरूका लागि  महत्त्वपूर्ण अवसरहरू प्रदान गर्दैछन् ।

नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो । त्यसैगरी, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो । नेपाल प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्ताहरूलाई स्वागत गर्दैछ । हाम्रो उदार आर्थिक नीतिप्रतिको अटल प्रतिबद्धता जीवन्त र लगानीकर्तामैत्री व्यापार वातावरणको जग हो । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीहरूलाई सहजता प्रदान गर्न हामी निरन्तर सुधार गर्न दृढ छौँ । यस सन्दर्भमा नेपाल सरकारले हालै व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरेको छ । मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।

 विशिष्ट अतिथितिहरू

शान्ति र स्थायित्व भएको देशका रूपमा हामीले आर्थिक विकास र समृद्धिको लागि अनुकूल वातावरण सिर्जना गरेका छौँ । सङ्घीय शासन प्रणालीले देशभर सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको छ ।

नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त रहने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहनहरू प्रदान गरेको छ । नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौता (बिआइए) को ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रव्द्र्धन गर्ने लक्ष्य राखेको छ । म हाम्रा सबै मित्र राष्ट्रहरूलाई चाँडोभन्दा चाँडो ‘बिआइए’ मा हस्ताक्षर गर्न प्रोत्साहित गर्दछु ।

हाम्रा उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्छ । हाम्रो दक्ष जनशक्ति र कम श्रम लागतले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको लागि आकर्षण गर्दछ । राष्ट्रिय एवं सबै ‘एफडीआई’ बीच हुने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षणलाई अझ बढाउँछ ।

विशिष्ट अतिथितिहरू

नेपालका ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या श्रमिक उमेर समूहभित्र रहेको र तीव्र रूपमा विस्तार हुँदै गएको मध्यमवर्गीय जनसङ्ख्याले उपभोक्ता वृद्धिका अपार सम्भावना देखाएको छ ।

यसबाहेक, विदेशी भाषा बोल्ने युवाहरूको सङ्ख्या उल्लेख्य रहेकाले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा मनपर्ने स्थानीय दक्ष श्रमशक्ति खोज्न मद्दत पुग्छ । नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधार एवं उच्च मूल्यका बाली उत्पादनलगायत विभिन्न क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ ।

जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको  प्रतिबद्धता व्यक्त गर्दछ । त्यस्तै पर्यटन क्षेत्रले समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई संकेत गरेको छ ।

नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको छ । करिब ५ हजार ५६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मा निर्माण चरणमा छन् । यसले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरू स्पष्ट रूपमा देखाएको छ ।

विद्यमान एवं योजनामा रहेका भारत र चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइनहरूले ऊर्जा आदानप्रदानलाई सहज बनाउँछ । यस क्षेत्रभित्र विद्युत् सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत् व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत् निर्यात समझदारीमा हस्ताक्षर गरेका छौँ ।

पर्यटन उद्योग अर्थतन्त्रको महत्त्वपूर्ण योगदानकर्ताको रूपमा देखिएको छ । सन् २०२३ को जुनमा १२ लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकको आगमनले गत वर्षको तुलनामा उल्लेखनीय १७ प्रतिशत वृद्धि भएको तथ्य प्राप्त भएको छ । त्यस्तैगरी सूचना प्रविधि क्षेत्रले सन् २०२१ मा सेवा निर्यातमा लगभग ६५ प्रतिशतको उल्लेखनीय बृद्धिदर कायम गरी उच्चस्तरको लगानी मार्ग देखाएको छ । त्यसैगरी नेपालले उच्च मूल्यवान नगदे बालीहरू निर्यातका लागि आकर्षक अवसरहरू प्रस्तुत गरेको छ, यसले लगानी आकर्षणलाई अझ बढाउने र आर्थिक वृद्धिमा योगदान पुर्‍याउने देखिएको छ ।

तयारी पोशाक र नेपाली गलैंचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात, लगानीको प्रचुर सम्भावना भएका प्रमुख उत्पादन हुन् । दुई विशेष आर्थिक क्षेत्रहरूको सञ्चालनसँगै देशभर निर्माणको चरणमा रहेका अन्य आर्थिक क्षेत्रले देशको आर्थिक वृद्धि र औद्योगिक विकासलाई बढावा दिने हाम्रो प्रतिबद्धतामा जोड दिएको छ ।

हाल नेपालमा दश औद्योगिक जिल्लाहरू सञ्चालनमा आएका छन्, थप छ वटा विकास गर्ने योजना रहेको छ, यसले कम लागतमा प्रारम्भिक लगानी सुनिश्चित गर्दछ र आवश्यक पूर्वाधार एवं अन्य सहयोग गर्नेछ ।

उदीयमान बजार भारत र चीन बीचमा अवस्थित नेपालको रणनीतिक स्थानका कारण पनि नेपाल लगानीको लागि उपयुक्त गन्तव्य हो भन्ने सङ्केत गर्दछ । बजारमा शुल्कमुक्त पहुँच, क्षेत्रीय सम्झौताहरू साफ्टा/बिमिस्टेक एवं स्वतन्त्र व्यापार सम्झौताले पनि द्विपक्षीय र क्षेत्रीय बजारहरू सुनिश्चित गरेको छ ।

अन्तर्राष्ट्रिय निजी लगानीको सहज प्रवाहलाई सहज बनाउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानीका लागि अनुमोदन गर्छ भने लगानी बोर्ड नेपालले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजनाहरू व्यवस्थापन गर्छ । दुबै सरकारी संस्थाहरू स्वदेशी र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई तोकिएको समय सीमाभित्र सहज सेवा प्रदान गर्न प्रतिबद्ध छन् ।

नेपालमा वैदेशिक लगानी गरेका कम्पन्नीहरू नाफामुखी देखिएका छन् । ती कम्पनीहरूले लाभांश फिर्ता लगेको अवस्थाले पनि नेपालमा लाभदायक लगानीको वातावरण भएको प्रष्ट देखाउँछ ।

विशिष्ट अतिथितिहरू

हालै भएका सम्झौता र समझदारीको आदानप्रदान सहकार्य र साझेदारीको  नयाँ युगको सुरुआत भएको प्रतीक हो । मलाई विश्वास छ निकट भविष्यमा यसको परिणाम आउनेछ । मलाई विश्वास छ, दुई दिनको यो महत्त्वपूर्ण सम्मेलनमा विभिन्न तहमा केही घोषणाहरू गरिनेछन् । यसले सरकार–सरकार, सरकार–व्यवसाय र व्यवसाय–व्यवसाय–सरकारको तहमा  नेपाललाई विश्वव्यापी लगानी गन्तव्यको रूपमा प्रस्तुत गर्नेछ ।

यस शिखर सम्मेलनमा प्रस्तुत गरिने परियोजनाहरूले हाम्रो देश र सम्भावित लगानीकर्ताहरू दुवैलाई फाइदा पुग्ने ठोस नतिजाहरूको प्रतिज्ञासहित नेपालमा लगानीका विशाल अवसरहरू सिर्जना हुनेछ । आगामी दशकमा दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य स्वदेशी र विदेशी दुवै निजी क्षेत्रसँगको सामूहिक साझेदारीमा सम्पन्न हुनेछ भन्नेमा म विश्वस्त छु । सबैको सहकार्य र सहयोगले नेपालको आर्थिक सम्भावनालाई सदुपयोग गरी आर्थिक रुपान्तरण र समृद्धिको दिशामा अघि बढ्नेमा म आशावादी छु ।

अन्तमा, म सबै प्रतिनिधिहरूलाई फलदायी र सफल शिखर सम्मेलनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हामी यस शिखर सम्मेलनको नतिजालाई साकार तुल्याउने छौँ । नेपालमा तपाईंहरूको समय, सहयोग र अवसर प्रेरणादायी रहोस्  । साथै उज्ज्वल भविष्यको लागि बाटो प्रशस्त गरौँ ।

यहाँहरूको नेपाल बसाइ आनन्दायी हरोस् ।

धन्यवाद !

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved