ग्राउण्ड जिरो स्याङ्जा-२ : पद्मा र धनराजबीच प्रत्येक दिन जित-हार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 09:48:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्ता गठबन्धनका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको चुनावी अभियानमा सक्रियताका साथ लागेका वालिङका दामोदर लम्सालसँग ग्राउण्ड जिरो रिपोर्टिङका क्रममा रहेको बिजपाटी टीमले प्रश्न सोध्यो – 'यहाँ धनराजको पछिल्लो अवस्था कस्तो छ ?'

'हिजो बेलुकासम्मको रिपोर्ट हेर्दा धनराज गुरुङले जित्ने आंकडा छ,' उनले फ्याट्ट भनिहाले ।

'मतलब प्रत्येक दिन आंकडा बदलिन्छ ?' भन्ने बिजपाटीको अर्को प्रश्नमा उनले भने, 'हो, यहाँ कडा प्रतिस्पर्धा छ । प्रत्येक दिन होइन, घण्टा-घण्टामा आंकडा परिवर्तन हुन्छ । यता-उता आउने जाने सिलसिला चलिरहेको छ । प्रत्येक वडा र टोलबाट आफ्नो र अर्को पक्षको रिपोर्टिङ भइरहेकै छ ।'

उनले २ दिन अघिसम्म के हो, के हो जस्तो रहेको तर हिजो बेलुकासम्म परिस्थिति गुरुङकै पक्षमा आएको दाबी गरे ।

स्याङ्जा क्षेत्र नम्बर २ मा गुरुङ हेविभेट उम्मेदवार हुन् । उनी नेपाली कांग्रेसका उपसभापतिका साथै शेखर कोइराला गुटका प्रभावशाली नेता हुन् । स्याङ्जालाई आफैंमा कांग्रेसको गढ मानिन्छ । कांग्रेसबाट नै विद्रोह गरेर कम्युनिस्ट भएकाको संख्या पनि उल्लेख्य छ ।

गुरुङलाई पूर्व मन्त्रीसमेत रहेकी एमालेकी सचिव पद्मा अर्यालले कडा टक्कर दिइरहेकी छन् । अर्यालले पटक-पटक एमाले कमजोर भएका वडाहरूबाट आफैं रिपोर्टिङ लिइरहन्छिन् । रिपोर्टिङ लिने क्रममा कहिले अर्यालको अनुहार उज्यालो हुन्छ भने कहिले अँध्यारो ।

अर्यालको चुनावी अभियानमा रहेका वडा र टोलटोलका कार्यकर्ताहरूले उनलाई 'रियल टाइम सिचुएसन' रिपोर्टिङ गर्छन् ।

हामीले लम्साललाई सोधेकै प्रश्न नेकपा एमालेका भीरकोट नगरपालिका अध्यक्ष विश्वनाथ अर्याललाई सोध्यौं । उनले लम्सालकै शैलीमा भने, 'एक हप्तासम्म अलि अप्ठेरो नै पर्ला कि जस्तो थियो, तर अहिलेको पछिल्लो स्थिति हेर्दा पद्मा अर्याललाई सहज छ ।'

उनले कांग्रेस बलियो भएको वडाहरूमा निर्वाचन अभियान आक्रामक रूपमा चलाइएको बताए । 'गत स्थानीय निर्वाचनमा हामीले जति पर्फर्मेन्स गर्यौं, त्यति नै कायम हुन सक्यो भने पनि पद्माको जित सहज छ,' उनले भने ।

विश्वनाथ अर्याल गत स्थानीय निर्वाचनमा भीरकोटमा मेयरका उम्मेदवार थिए । उनी कांग्रेसका गोविन्द कर्माचार्यसँग सानो मतान्तरले पराजित भएका थिए । विश्वनाथ त्यतिबेला आफूले प्राप्त गरेको मत जोगाउन संघर्षरत छन् ।

दुवै उम्मेदवारको प्रत्येक दिन मात्र होइन, प्रत्येक घण्टा-घण्टामा ढुकढुकी बढिरहेको छ । जसको जित-हार भएपनि सानो मतान्तर हुने निश्चित छ ।

स्याङ्जा २ मा स्थानीय मतदाताहरू त्यति खुलेर कुरा गर्न चाहँदैनन् । वालिङका एक व्यवसायी रामबहादुर गुरुङले भने, 'अहिले त्यसै भन्ने अवस्था छैन । अझ त्यहाँमाथि हामी व्यवसायी पर्यौं, यसैले जित्छ र हार्छ भनेर भन्ने कुरै भएन । प्रतिस्पर्धा कडा छ, त्यत्ति हो ।'

चुनावका बेला स्थानीय विकास निर्माण र पूर्वाधारको कुरा जोडतोडले उठ्ने गर्छ । मतदाताहरू नदीमा आफू नजिकै पुल खोज्छन्, आफ्नो घर नजिकै बाटो खोज्छन् । चुनावी एजेन्डा पनि विकास निर्माण नै बनेको छ । निकै कम मतदाताहरूले आफूले जिताएको पठाएको सांसदले नीति निर्माण गर्ने र विकास निर्माण चाहिँ प्रदेश र स्थानीय सरकारको काम हो भनेर बुझ्न सकेका छैनन् ।

'उ त्यहाँ पुल जसले बनाइदिन्छ मेरो भोट त्यसैलाई हो,' भीरकोट-५ का एक मतदाताले भने, 'सांसद सहज रूपमा उपलब्ध हुनुपर्यो, विकास निर्माणका काम गरिदिनुपर्यो, हामीले उत्पादन गरेका कृषिजन्य वस्तुहरूको सहज विक्री हुनुपर्यो, हामीलाई कांग्रेस र एमालेसँग मतलब छैन ।'

उनले घरदैलोमा आएका उम्मेदवारहरूसँग यसबारेमा कुरा गरेको तर दुवै उम्मेदवारले हस हस मात्र भनेको, सिरियसली नलिएको गुनासो गरे ।

कांग्रेसको भोट तान्न एमाले र एमालेको भोट तान्न कांग्रेसका कार्यकर्ताहरूले भरमुग्दर प्रयास गरिरहेका छन् । अहिलेसम्म कुनै आर्थिक प्रलोभन दिइएको छ कि नाई भनेर सिर्सेकोटका एक युवालाई सोधेको प्रश्नमा उनले मुन्टो हल्लाए ।

'खै, अहिलेसम्म मैले त्यस्तो सुनेको छैन,' आफ्नो टोलका खेलकूदमा प्रत्यक्ष सहभागिता र नेतृत्व पनि गर्ने उनले भने, 'पैसाको हल्ला चल्ने गरेको छ तर हामीसम्म त्यो आएको छैन । आए पनि हामी त्यस्तो प्रलोभनमा फँस्दैनौं ।'

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved