रुट-७७ को सपना देखेका राजेन्द्र बजगाईं – 'मतान्तर धेरै छ, तर प्रतिस्पर्धा पनि उत्तिकै छ'

ईश्वर अर्याल/बिजपाटी

ईश्वर अर्याल/बिजपाटी

Nov 16, 2022 | 01:27:05 PM मा प्रकाशित

laxmi  sunrise bank

तिब्बतसँग जोडिएको मुस्ताङको लोमान्थाङदेखि भारतसँग जोडिएको सुस्तासम्म फैलिएर रहेको गण्डकी प्रदेशभित्र रुट ७७ आयोजना बनाउने सपना पालेका पर्यटन व्यवसायी राजेन्द्र बजगाईं गोर्खा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार बनेका छन् ।

चुनावी ग्राउण्ड जिरो रिपोर्टिङका क्रममा गोर्खा क्षेत्र सदरमुकाम पुगेको बिजपाटीको टीमसँग संक्षिप्त कुराकानी गर्दै बजगाईंले आफ्नो उम्मेदवार गोर्खाका लागि मात्र नभएर समग्र गण्डकीको विकासका लागि भएको प्रतिकृया दिएका छन् ।

उनले सबै जिल्लाको रहनसहन, भेषभुषा, संस्कृति, खानपान र अन्य विषय जोडेर हिमालदेखि तराईसम्म रुट ७७ बनाउने परिकल्पना गरेका छन् । 'मेरो मनमा यो धेरै पहिलादेखि आएको थियो,' उनले भने, 'यो निर्वाचन जितेर संघीय संसदमा प्रतिनिधित्व गर्न जानेबित्तिकै यसबारे कुरा उठाउँछु ।'

उनले लार्के टु ठोरी एउटा रुटको परिकल्पना गरेका छन् । त्यसलाई आफूले रुट ७७ नाम दिएको उनले बताए ।

उनले गोर्खा जिल्लाको विकासका लागि त्यहाँ रहेका प्राकृतिक स्रोतहरूको भरपुर सदुपयोग गर्नुपर्ने र त्यसका लागि नीतिगत व्यवस्था गर्न आफूले उम्मेदवारी दिएको बताए ।

'कतिपय प्रतिबन्धित क्षेत्रहरू खोलिदिने हो भने यहाँको पर्यटनले राम्रो गति लिनेछ,' बजगाईंले भने, 'हामीले यहाँको विकासको सम्भाव्यतालाई नजरअन्दाज गरिरह्यौं । तर मेरो जितपछि त्यसो हुनेछैन ।'

उनले आफ्नो क्षेत्रमा रहेको नेपाल-चीन सीमामा जनतालाई अप्ठेरो परेको सुनिरहेको भन्दै त्यसको समाधान गर्न आफूले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे ।

'रुहिला नाका पारीपट्टीको गाउँ हराएको छ,' उनले भने, 'राष्ट्रिय मिडियामा नआएका यी र यस्ता सीमा समस्याहरू म समाधान गर्ने प्रयास गर्नेछु ।'

त्यससँगै समग्र राष्ट्रको विकासका लागि विदेशी लगानी भित्र्याउन आफूले पहलकदमी लिने उनको प्रतिबद्धता छ । 'जस्तै माइक्रोसफ्टले अहिले भारतको पुनेमा भएको डाटा सेन्टर बारपाकमा राख्न खोजेको थियो,' उनले भने, 'तर यहाँको परिस्थितिले उनीहरूलाई सोच्न बाध्य बनायो । अनवरत विद्युत चाहिन्छ, एक सेकेन्डका लागि भएपनि समस्या भयो भने अर्बौं घाटा हुन्छ उनीहरूलाई । हामीले त्यसको प्रत्याभूति दिन सकेनौं ।'

पर्यटन, उद्योग र अन्य धेरै व्यवसायमा हात हालेका बजगाईंले आफ्नो उम्मेदवारी र व्यवसायबीच कुनै स्वार्थको द्वन्द्व नरहेको दाबी गरेका छन् ।

'यहाँ व्यवसायीहरू चुनाव उठेर जित्छन् र आफ्नो पक्षमा नीति निर्माण गर्छन् भन्ने भाष्य स्थापित गरिएको छ,' उनले गुनासो गरे, 'तर मेरो हकमा त्यस्तो केही छैन । म पहिला राजनीतिज्ञ हुँ, त्यसपछि मात्र व्यवसायी हुँ । राजनीतिलाई व्यवसाय बनाउनेहरूले समग्र सिस्टम नै बिगारेका छन् । मसँग भने कुनै स्वार्थको द्वन्द्व छैन ।'

बजगाईंले नेपाल गार्डेन जस्तो हुनुपर्ने तर अहिले जंगल जस्तो बनाइएको भन्दै पुरानो नेतृत्वप्रति कटाक्षसमेत गरेका छन् ।

उनले भने, 'नेपाल गार्डेन हो, तर अहिले जंगल बनाइएको छ । यसलाई गार्डेन नै बनाउनुपर्छ । त्यसका लागि भएका प्राकृतिक स्रोत र साधनहरूको संरक्षण, उचित व्यवस्थापन र सदुपयोग गरेर अघि बढ्ने हो । विकल्प छैन ।'

गोर्खा क्षेत्र नम्बर १ मा बजगाईंसँग नेकपा एमालेका रामशरण बस्नेत चुनावी मैदानमा छन् । गत स्थानीय तहको निर्वाचनको मतपरिणामले गठबन्धनको तुलनामा एमाले त्यहाँ कमजोर देखिन्छ ।

उक्त क्षेत्रमा अन्य ६ जनासमेत उम्मेदवार रहेका छन् तर मुख्य प्रतिस्पर्धा भने बजगाईं र बस्नेतबीच नै हुने देखिएको छ । गत २०७४ सालको संसदीय निर्वाचनमा बजगाईं गोरखा १ ख मा बस्नेतसँगै प्रतिस्पर्धा गरेका थिए ।

त्यतिबेला माओवादीको मत ल्याएर बस्नेत निर्वाचित भए । अहिले भने परिस्थिति उल्टिएको छ । माओवादी र कांग्रेसबीच भएको गठबन्धनको फाइदा बजगाईंले लिने देखिन्छ ।

गत स्थानीय तहको निर्वाचनमा उक्त क्षेत्रमा कांग्रेसका उम्मेदवारले २७ हजार ८४, माओवादी केन्द्रका उम्मेदवारले २५ हजार ४७२ मत पाएका थिए भने नेकपा एमालेका उम्मेदवारले १४ हजार ४६६ मत पाएका थिए । सोही आधारमा बजगाई उक्त क्षेत्रमा अहिलेसम्म सुरक्षित देखिन्छन् ।

'मतान्तरका आधारमा हामी निकै अगाडि छौं,' बजगाईंले भने, 'तर प्रतिस्पर्धा भने हुन्छ । एमालेका रामशरण बस्नेत पनि कमजोर हुनुहुन्न यहाँ ।'

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved