रोजगारदाताले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू नगरेको पाईएको छ । सरकारले सामाजिक सुरक्षा नियमावली अनुरुप न्यूनतम पारिश्रमिक अनिवार्य गराएपनि रोजारदाताले व्यवहारमा नल्याएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सर्वेक्षणमा उल्लेख छ ।
नेपाल ट्रेड युनियन महासंघले कानुन कार्यान्वयन अवस्थासम्बन्धि सर्वेक्षणमा २०७४ सार्वजनिक गरेको छ । जिफन्टले विभिन्न ११ विषयमा ७९ वटा उद्योग–प्रतिष्ठानको श्रम अडिट प्रतिवेदनमा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा २७ दशमलव १२ प्रतिशत उद्योग–प्रतिष्ठानले न्यूनतम पारिश्रमिक लागू नगराएको पाईएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिएका छन् ।
यसैगरी ३० दशमलव ५१ प्रतिशत प्रतिष्ठानले सञ्चयकोषको व्यवस्था नगरेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षण अनुसार ५४ प्रतिशत प्रतिष्ठानले कानुनमा उल्लेख भए बमोजिमको उपदान प्रदान नगरेको पाईएको छ । श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली २०७५ मा प्रत्येक श्रमिकलाई सञ्चयकोष तथा उपदानको व्यवस्था गर्नुपर्ने स्पष्ट छ ।