साउदी अरबले अबको ५ महिनापछि लागू हुने गरि कफाला प्रणालीमा परिवर्तन गरेको छ। परिवर्तित व्यवस्थाअनुसार आगामी मार्च अर्थात् अबको ५ महिनापछि साउदी अरबका निजि कम्पनीमा काम गर्ने विदेशी कामदारले काम गर्ने संस्था सहजै परिवर्तन गर्न पाउनेछन भने आफुले चाहेको समयमा विदेश जान वा स्वदेश फर्किन पाउनेछन।
साउदी सरकारको मावन संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम सुधार पहल’ को घोषणा गर्दै नयाँ नियम लागु गरेको जनाएको हो। रोजगार करार अवधि सकिएपछि श्रमिकले आफूले चाहेमा अर्को कम्पनीमा काम गर्न पाउने व्यवस्था ल्याइएको हो । उक्त व्यवस्था आगामी मार्च १४ देखि कार्यान्वयनमा आउनेछ। यसअघि रोजगारदाताको सहमतिबेगर कम्पनी परिवर्तन गर्न नपाइने व्यवस्था थियो।
कफाला प्रणालीमा भएको परिवर्तित व्यवस्थाले नेपाल सहित साउदीमा रहेका करिब १ करोड आप्रवासी कामदारलाई राहत मिल्ने अपेक्षा गरिएको छ। साउदी सरकारले आप्रवासी श्रमिकका लागि नयाँ व्यवस्था पहिलो पटक लागु गर्ने निर्णयपछि नेपालीको आकर्षक श्रम गन्तव्यको रुपमा रहेको साउदीमा सहज हुने अपेक्षा गरिएको छ ।
उक्त व्यवस्था कार्यान्वयनमा आएपछि साढे तीन लाख नेपाली श्रमिकले करार अबधि सकिएपछि आफ्नो रुचि र सीपअनुसार कम्पनी परिवर्तन गर्न पाउनेछन् । साउदी सरकारले करार अवधिको समय भने तोकेको छैन् । नेपाल सरकारले मलेसिया लगायत खाडीका मूलुकमा जाने नेपाली श्रमिकका लागि २ वर्षको भिसा दिदैँ आएको छ ।
घरेलु कामदारको समस्या अझ उस्तै
साउदीका निजि कम्पनीमा काम गर्ने आप्रवासी कामदारको लागि परिवर्तित कफाला प्रणाली लागु हुने भनीएपनि घरेलु कामदारको हकमा के हुने भन्ने स्पष्ट पारिएको छैन। विदेशबाट घरेलु कामदारको रुपमा साउदी जाने बिशेषगरि महिलाहरुमाथि शारीरिक तथा मानसिक शोषण हुने गरेको घटना बेला बेला बाहिर आउने गरेका छन् र अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्थाले पनि साउदी अरबका घरेलु कामदारको अवस्थाबारे चिन्ता व्यक्त गर्दै आएको छ।