दोस्रो दिन नै साउदीको बायोमेट्रिक लिने सिस्टम डाउन: श्रमिकको बिचल्ली, आर्थिक भारले तनाव

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Jan 17, 2024 | 06:03:39 PM मा प्रकाशित

laxmi  sunrise bank

विवादका बीच स्थापना भएको साउदी भिसा सेवा केन्द्र ‘तशीर’ को सिस्टम डाउन भएको छ । उद्घाटन भएर कार्य सुरु भएको दोस्रो कार्यदिनमा नै केन्द्रको सिस्टम डाउन भएको हो । 

बायोमेट्रिक लिने सिस्टम बुधबार डाउन भएको केन्द्रका एक अधिकारीले जानकारी दिए। सफ्टवेयर बुधबार दिउँसो १२ बजेदेखि डाउन भएको ति अधिकारीले बिजपाटीलाई जानकारी दिए ।  

उक्त केन्द्रको उद्घाटन शुक्रबार भएको हो। केन्द्र थापाथलीमा स्थापना गरिएको छ । शुक्रबार बायोमेट्रिकको कुनै काम भएको थिएन । शनिवार र आइतबार साप्ताहिक विदा र सोमबार माघे संक्रान्ति विदा थियो। त्यसैले उद्घाटन भएपछि मंगलबार मात्र केन्द्रमा बायोमेट्रिकको काम भएको थियो । आज बुृधबार १२ बजेपछि सिस्टम डाउन भएको हो। 

यसरी सिस्टम डाउन भएपछि सयौँ युवाहरुले सास्ति भोगेका छन् । केन्द्रमा अहिले बायोमेट्रिका लागी दिनहुँ सयौँ युवाहरुको ओहोर दोहोर हुन्छ । भलै दिनमा ६० जनाको मात्र बायोमेट्रिक हुन्छ । सिस्टम डाउन हुँदा बायोमेट्रिक गराउन आएका सयौँ युवाहरुले हैरानी मात्र भोगेका छैनन् थप आर्थिक भारमा समेत परेका छन्।सिस्टम डाउन भएको भन्ने थाहा नपाएर बायोमेट्रिका लागि आएका युवाहरु त्यसै फर्किन बाध्य भएका छन् । 

बायोमेट्रिक गर्न आएका झापाका नरेन्द्र बहादूर कार्की (नाम परिवर्तन) ले समय र पैसाको मात्र खर्च भएको बताए। आफ्ना नाम नलेख्ने सर्तमा उनले भने ' बायोमेट्रिक दिन भनेर झापाबाट हिजो साँझ काठमाडौँ आएको हो । तर, सिस्टम नै डाउन भयो भनेर फर्किनु पर्नेभयो ।’ उनले उक्त केन्द्रको लोकेसन समेत थाहा नपाएर आउन ढिलो भएको बताए। अचानक बायोमेट्रिक गराउनु पर्ने निर्णय आएको र त्यसबारे जानकारी पनि नहुँदा आफु पहिले मेडिकल मात्र गरेर फेरी झापा गएको उनले बताए । बायोमेट्रिक गर्नको लागि फेरी आउनु परेकोले यसको लागि २० हजार र सिस्टम डाउन भएपछि थप ५ हजार गरेर जम्मा २५ हजार आर्थिक भार परेको बताए । 

 नेपाली श्रमिकलाई आर्थिक भार पर्नेगरी साउदी सरकारले जनवारी एक तारिखदेखि बायोमेट्रिक सिस्टम लागु गरेको हो । जसको नेपालमा चौतर्फी विरोध भइरहेको छ । साउदीले नेपाल सरकारलाई जानकारी नै नदिई उक्त निर्णय गरेको थियो। जसले गर्दा नेपाल र साउदीबीचको कुटनैतिक सम्बन्धमा नै प्रश्न उठेको छ । 

यता श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले भने उक्त बायोमेट्रिकको बारेमा आफुहरुलाई जानकारी नभएको प्रतिक्रिया दिदै आएको छ । बुधबार मात्र श्रमका प्रवक्ता राजिब पोखरेलले त्यसबारे मन्त्रालयलाई जानकारी नहुने  बिजपाटीलाई बताएका हुन्। 

उक्त बायोमेट्रिको शुल्क हाल ७५० रुपैयाँ तोकेको छ । तर, केहि दिनमा नै त्यो शुल्क ३ हजार रुपैयाँ पुर्याउने जिकिर म्यानपावर व्यवसायीहरुले गरेका छन् । उक्त केन्द्रको बारेमा व्यवसायीहरु खुलेर विरोध गरे पनि मन्त्रालयले भने खासै चासो देखाएको छैन। 

यस अघि : विवादका बीच संचालनमा आयो साउदी भिसा सेन्टर, राजदूत आफैले गरे उद्घाटन

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved