मलेसिया रोजगारी बन्द हुने हल्ला कति सत्य ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 12, 2024 | 11:25:35 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियाले औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने र मलेसियाको रोजगारी नै बन्द हुने भन्ने खालको चर्चा सुरु भएको छ । यदि साँच्चै मलेसियाले विदेशी कामदार नलिने हो भने यसको सबैभन्दा ठूलो असर नेपाललाई पर्ने देखिएको छ । नेपालीहरुको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य रहेको मलेसियाले औपचारिक क्षेत्रमा विदेशी श्रमिकहरु नलिने निर्णय गरेपछि यसको सबैभन्दा ठूलो असर नेपालमा पर्ने देखिएको भन्दै सरकारले समेत चिन्ता जनाएको छ ।

बंगलादेश र अन्य मुलुकबाट पनि मलेसियामा कामदारहरु जाने गरेको भए पनि नेपाली श्रमिकको सबैभन्दा मुख्य गन्तव्य नै मलेसिया थियो । यहाँकै जस्तो हावापानी भएका कारण नेपालीहरु मलेसिया जाने गर्दथे । तर, मलेसियाले आउँदो जुन अर्थात् जेठ दोस्रो हप्ताबाट विदेशी श्रमिक नलिने निर्णय गरेपछि नेपाल सरकार चिन्तित बनेको छ ।

मलेसियाले १ करोड ७० लाख श्रमिकमध्ये आप्रवासीको संख्या १५ प्रतिशतमा सिमित गर्ने लक्ष्य राखेको छ । यसका लागि उसले विदेशी कामदार नलिने रणनीति बनाएको छ । मलेसियाका गृहमन्त्री सेरी सैफुद्दीन इस्माइलले आप्रवासी कामदारहरूको आगमनलाई नियमन गर्ने सरकारको निर्णय भएकाले मे ३१ पश्चात आप्रवासी कामदार नलिइने बताइसकेका छन् । तर, मे ३१ पश्चात सधैँका लागि नलिने वा निश्चित समयपछि फेरि खुलाउने भन्ने विषयमा मलेसियन सरकार बोलेको पाइएको छैन ।

यस सम्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव राजीव पोखरेल मलेसियन सरकारको यो निर्णयबाट नेपाल प्रभावित हुने बताउँछन् । उनका अनुसार मलेसिया सरकारले आफ्नो निर्णयबारे नेपाल सरकारलाई औपचारिक जानकारी नगराए पनि उसको आधारिक वक्तव्यमा विदेशी कामदार नलिने भनिसकेकाले यसको सिँधा असर नेपालमा पर्नेछ । 

नेपालीहरुको मुख्य गन्तव्य

हाल ५ लाख बढी नेपालीहरु मलेसियामा रहेको अनुमान छ । मलेसिया जान सजिलो, अदक्ष नै हुँदा पनि सोही अनुसारको काम गर्न पाइने र नेपालकै जस्तो हावापानी भएकाले मलेसिया नेपालीहरुको प्रमुख रोजगार गन्तव्य हो । गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै २ लाख १९ हजार जना नेपालीहरु मलेसिया गएका थिए । 

चालु आर्थिक वषको ७ महिना (साउनदेखि माघसम्म) ४२ हजार ९२५ जना श्रमिक श्रम स्वीकृति लिएर मलेसिया गएका छन् । मलेसिया गएर नेपाल फर्किएर पुनः श्रम स्वीकृति नवीकरण गराएर यो ७ महिनामा १२ हजार ६३४ जना नेपालीहरु मलेसिया फर्किएका छन् । 

युएई पछि नेपालीहरुको दोस्रो प्रमुख रोजगार गन्तव्य बनेको मलेसियाले आप्रवासी कामदार नलिने भएपछि नेपालको बेरोजगारी समस्या बढ्ने चिन्ता थपिएको श्रम मन्त्रालयका प्रवक्ता पोखरेल बताउँछन् । मुख्य गन्तव्य नै कामदार लिन बन्द गरेपछि नेपाली रोजगारीको अवसरबाट बन्चित हुनुपर्ने अवस्था आउने भन्दै उनले यसका लागि सरकारले चाँडै नयाँ नयाँ गन्तव्य पहिचान गर्ने गरि योजना बनाउने बताएका छन् । 

‘मलेसियाको यो निर्णयले हामीमाथि एक खालको धक्का त पर्छ नै, यसले नयाँ श्रम गन्तव्य बढाउनुपर्ने र खोज्नुपर्ने दबाब पनि थपिएको छ’ उनले भने, ‘तर, अहिले युरोपका देशहरुमा नेपाली श्रम शक्तिको माग बढेको छ, हामीले हाम्रा श्रमिक शक्तिलाई दक्ष र सीपयुक्त बनाएर युरोपका देशमा पठाउन सक्छौँ ।’

मलेसियाको रोजगारी बन्द हुने कुरा हल्ला मात्रै होः म्यानपावर व्यवसायी

वैदेशिक रोजगार व्यवसायीहरुले भने मलेसियामा विदेशी कामदारका लागि रोजगारी पूर्ण रुपमा बन्द हुने भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले भीएलएन, भीएसएफ लगायतका नाममा रहेका कोटा ‘क्लिन’ गरेर मलेसियाले विदेशी श्रमिकका सम्बन्धमा नयाँ नीति बनाउन खोजेको र यसैका लागि तय भइसकेका कोटा अनुसारका कामदार मार्चभित्र झिकाइसक्न भनेको बताए । तर, यसैलाई देखाएर मलेसियाको रोजगारी बन्द हुँदैछ भन्ने अफवाह फैलाइएको उनको भनाइ छ ।

‘मलेसिया भनेको त्यहाँको कुल अर्थतन्त्रमा ९९ प्रतिशत औद्योगिक क्षेत्रको योगदान छ, उद्योगहरु कामदानर बिना चल्न सक्दैनन्, उसको आफ्नो देशका कामदारले मात्रै ति उद्योगहरु चल्न सक्दैनन्’ महासचिव भुर्तेलले भने, ‘अहिले मलेसियाले नयाँ फरेन वर्कर नीति बनाउने गृहकार्य गरिरहेको छ । यसका लागि अहिले तय भइसकेका कोटा अनुसारका कामदार मार्चभित्र लगिसक्ने र त्यसपछि नयाँ व्यवस्था अनुसार लैजाने भन्ने मलेसियाको कुरा हो । तर, बुझ्दै नबुझी अब मलेसिया रोजगारी बन्द हुँदैछ भन्ने हल्ला फैलाइयो ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved