मानवतस्करको केन्द्रबिन्दु बन्यो दुबई, नाम चलेका म्यानपावर र कन्सल्टेन्सी नै तस्करका नाइके

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 10:52:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारको तथ्यांकले कुनै बेला नेपालीको लागि वैदेशिक रोजगारीको लागि आकर्षक केन्द्रबिन्दु बनेको खाडी मुलुक युएई पछिल्लो समय  घुम्न र पढ्न जाने पहिलो थलो बन्न पुगेको देखाउँछ। यसले प्रश्न उठ्छ, विश्वकै १८ औं महँगो मुलुक बन्न पुगेको युएईको राजधानी दुबई नेपालीको लागि घुम्न र पढ्न जाने पहिलो गन्तब्य बन्न सक्छ ?

उत्तर पक्कै पनि सक्दैन भन्ने आउँछ। त्यसो भए तथ्यांकमा नेपालीहरु पर्यटन भिजामा सबै भन्दा बढी जाने स्थानमा दुबई कसरी पहिलो बन्यो ? यो आफैंमा गम्भीर प्रश्न हो। 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजिव पोखरेलकाअनुसार युरोप, अमेरिका, अष्ट्रेलिया पुग्नलाई नेपालीको लागि दुबई ट्रान्जिट बनेको देखन्छ। अधिकांश नेपालीहरु भ्रमण तथा अध्ययन भिजामा दुबई पुग्ने र त्यहाँबाट तेस्रो मुलुक कामको लागि जाने क्रम बढिरहेको छ। 

नेपालको कानुनले यो अभ्यासलाई गैरकानुनी मानेको समेत उनी बताउछन्। कुनै पनि मुलुकमा रोजगारीको लागि जाने हो भने नेपालबाट नै श्रम अनुमति लिएर जानुपर्नेमा पछिल्लो समय भ्रमण तथा अध्ययनको नाममा दुबई जाने र त्यहाँबाट तेस्रो मुलुक जाने अभ्यास बढेको छ। 

यस्तो कार्य सरासर गैरकानुनी भएकाले नेपाल सरकारले यस विषयमा नेपाल स्थित युएई दुतावासको समन्वयमा युएई सरकारसंग कुरा गर्दा दुबईले आफुहरुको कानुनले यसलाई मान्यता दिने भएकाले आफुहरुले केहि गर्न नसक्ने जवाफ फर्काएको प्रवक्ता पोखरेल बताउछन् । 

 "यो विषयमा युएईको सरकारसंग हामीले कुरा गरेका थियौं तर दुबई 'ग्लोबल हब' को रुपमा अगाडी बढेकाले आफुहरुले यसलाई रोक्न नसक्ने जवाफ दियो।' प्रवक्ता पोखरेलले भने, 'युएई सरकारले यस्तो कार्यमा नेपाली नागरिक नै सामेल भएकाले आफुहरुले यसलाई रोक्न नसक्ने र  युएईका कुनै पनि नागरिक सामेल भएको पाइए कानुनी कारबाही गर्ने आश्वासन दिएको छ।'

दुबई मानवतस्करको केन्द्रबिन्दु बनिरहेको छ भन्नेबारे नेपाल सरकारलाई थाहा भएरै विभिन्न तहमा छलफल तथा संवाद गरिरहँदा पनि यो समस्या झनै झाङ्गिएको बताउदै प्रवक्ता पोखरेलले यसका लागि नेपाली नागरिक नै सचेत हुनुपर्ने समेत बताए। 

भिजिट तथा अध्ययन भिजामा दुबई पुगेर त्यहाँबाट तेस्रो मुलुक पलायन हुँदा यसरी पलायन हुनेहरु कुनै पनि किसिमले नेपाल सरकारको 'रेकर्ड' मा नपर्ने हुँदा उनीहरुलाई अप्ठ्यारो पर्दा सहयोग गर्न नसकिने भएकाले सकेसम्म श्रम स्वीकृति लिएर मात्रै सम्बन्धित देशमा रोजगारी जानुपर्ने प्रवक्ता पोखरेलको भनाई छ। 

अध्यागमन विभागकाअनुसार सन् २०२३ मा मात्रै पर्यटक भिजमा १५६ देशमा नेपालीहरु पुगेका छन्। यसरी पर्यटन भिजामा जानेको संख्या सन् २०२३ मा २ लाख ४ हजार ५१८ जना रहेको छ। जसमा भारतपछि सबै भन्दा बढी पर्यटन भिजामा दुबई गएका छन्। सन् २०२३ मा मात्रै ५५ हजार ६१८ जना नेपाली पर्यटन भिजामा दुबई पुगेका छन्, जसमा १६ हजार २९० जना महिलामात्रै रहेका छन्। 

नेपाल सरकारले पर्यटन भिजामा बाहिर जानलाई पुरागर्नुपर्ने मापदण्ड परिवर्तन गरेपछि पर्यटन भिजाको नाममा दुबई पुग्नेको संख्या ह्वात्तै बढेको छ। सन् २०२४ को जनवरी २४ देखि फेब्रुअरी २७ सम्म मात्रै पर्यटन भिजामा विदेश जानेको संख्या ४२ हजार ६२८ पुगेको छ। एक महिनामै झन्डै ४२ हजार जना पर्यटन भिजामा विदेश गएकोमा दुबई नै पहिलो सूचीमा रहेको छ। 

अध्यागमन विभागको तथ्यांकले पनि पर्यटन भिजाको मापदण्ड परिवर्तन पश्चात दुबई लगायत ठाउँमा पुग्न झनै सजिलो बनेको र मानवतस्करको धन्दामा लागेका म्यानपावर र कन्सल्टेन्सीलाई झनै 'मस्ती' भएको देखिन्छ।  यस धन्दामा कुन कुन म्यानपावर र कन्सल्टेन्सीले के कसरी मानवतस्करीको काम गरिरहेका छन् भन्नेबारे नेपाल सरकारले पनि सुक्ष्म विश्लेषण गरेको श्रम मन्त्रालय स्रोतले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved