'आफ्नो मान्छे' विरुद्द उजुरी परेपछि विद्युत नियमन आयोगको सदस्य नियुक्तिको लागि फेरी आवेदन आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2021 | 08:51:39 AM मा प्रकाशित

laxmi  sunrise bank

उर्जा मन्त्रालयले विद्युत नियमन आयोगमा रिक्त रहेको सदस्य पदपूर्तिको लागि फेरी आवेदन खुलाएको छ। मन्त्रालयले नियुक्त गर्न चाहेको उम्मेदवार विरुद्द उजुरी परेपछि मन्त्रालयले फेरी आवेदन खुलाएको हो । 

यद्यपि आयोगको सदस्य सिफारिस समितिले भने यस अघि आवेदन खुलाउंदा  ४ जना उम्मेदवारहरूको आवेदन प्राप्त भएकोमा २ जनाको अनुभवको अवधि नपुगेको र बाँकी २ जना उम्मेदवारले पेश गरेको कार्ययोजना मूल्याङ्कन गर्दा तोकिए बमोजिम नरहेको हुँदा आवेदन दिएका कुनै पनि उम्मेदवारहरू सिफारिस हुन नसकेकोले पुन: आवेदन गरिएको जनाएको छ । समितिले आज पुस १ गते सूचना प्रकाशन गर्दै सूचना प्रकाशन भएको २१ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । 

यस संगै नेपाल सरकारको विद्युत क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको आयोगमा विज्ञ भन्दा पनि राजनीतिक व्यक्तिलाई ल्याउने मन्त्रालयको प्रयास असफल भएको छ । आयोगमा रिक्त रहेको एक सदस्य पदमा नेकपा माओवादी केन्द्रका सदस्यलाई नै नियुक्त गर्ने तयारी मन्त्रालयको थियो । तर उनी विरुद्द उजुरी परेपछि लामो समयपछि देखि सदस्य नियुक्ति प्रक्रिया रोकिएको थियो । अब भने मन्त्रालयले फेरी आवेदन खुलाएको हो।

यस अघि बिजपाटी डटकमले 'विद्युत नियमन आयोगमा पार्टीका कार्यकर्तालाई नियुक्त गर्ने तयारी, प्रक्रिया रोक्न पर्यो उजुरी ' शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

हाल आयोगमा आर्थिक तथा वित्त मामिला हेर्ने एक सदस्य पद रिक्त छ । रामकृष्ण खतिवडाले राजिनामा दिएपछि उक्त पद रिक्त रहेको हो । खतिवडाले दिएको राजिनामा सरकारले २०७७ असार मै स्वीकृति गरिसकेको छ । खतिवडा हाल नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको प्रमुख कार्यकारी अधिकृत छन् । २०७७ असारदेखि रिक्त रहेको सदस्य पदमा बल्ल पदपूर्ति हुन लागेको हो ।

उर्जा मन्त्रालय अन्तर्गतको 'विद्युत नियमन आयोगको सदस्य नियुक्ति सिफारिस समितिले गत असोज २१ गते सदस्य पदको लागि दरखास्त आह्वान गरेको थियो ।जसमा ४ जनाको आवेदन परेको थियो । सिफारिस समितिले  आवेदन दिएका शिवराम यादव, राम प्रसाद गौतम, डा. झमक प्रसाद शर्मा र नविन खनाललिई कार्ययोजना प्रस्तुतिको लागि बोलाएको थियो।

उर्जा मन्त्रालयले नियुक्त गर्न चाहेको यादव अयोग्य भन्दै उनको आवेदन रद्द गर्न माग गर्न उजुरी परेपछि प्रक्रिया रोकिएको थियो। यादव माओवादी केन्द्र कै सदस्य हुन् । संविधान सभाका पूर्व सदस्य समेत रहेका उनी नेकपा क्रान्तिकारी माओवादी अर्थात् मोहन वैद्यको पार्टी परित्याग गरि माओवादी प्रवेश गरेका थिए । शिवराम यादव र भक्तराज थापाको नेतृत्वमा ५७ जना माओवादी केन्द्र प्रवेश गरेका थिए । यादव उर्जा मन्त्री पम्फा भुषाल निकटमा व्यक्ति हुन् । उनले आफ्नो फेसबुक प्रोफाइलमा मन्त्री भुषालका समाचारहरु शेयर गरेको देख्न सकिन्छ । पार्टीमा प्रवेश गरेपछि ठूलो जिम्मेवारी नदिएको र मन्त्री भुषालको निकटको व्यक्ति रहेकोले उनलाई नै सदस्य बनाउने गरि काम भईरहेको स्रोतको भनाई थियो ।

विभिन्न पार्टीबाट आएकाहरुको व्यवस्थापन गर्न माओवादी केन्द्रले २०७८ भदौ ६ गते तीन सदस्यीय कार्यदल बनाएर अध्ययन गरेको थियो। सोहि कार्यदलको प्रतिवेदनले पनि यादव माओवादी केन्द्रको सदस्य भएको पुष्टि गर्छ । कार्यदलले विभिन्न पार्टी र समूहबाट माओवादी केन्द्रमा समाहित भएका नेता–कार्यकर्तालाई व्यवस्थापन गर्दै जिम्मेवारी दिन सिफारिस गरेको थियो । सोहि अनुसार यादवलाई आयोगमा पठाएर ब्यबस्थापन गर्ने तयारी उर्जा मन्त्री पम्फा भुषालको थियो । त्यसो त विद्युत नियमन आयोगको सदस्य हुन कुनै पनि राजनीतिक दलको सदस्य नभएको हुनु पर्ने उल्लेख छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved