साँढे ५५ अर्बमा ३४१ मेगावाटको बुढीगण्डकी आयोजना निर्माण गर्दै टाइम्स इनर्जी, पीपीए तय हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 10:53:22 AM मा प्रकाशित

laxmi  sunrise bank

टाइम्स इनर्जी प्रालीले बनाउने बुढीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री दर (पीपीए) निर्धारण गर्न सार्वजनिक सुनुवाई हुने भएको छ । विद्युत नियमन आयोगले आगामी चैत्र २० गते सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंह, आयोगका सदस्यहरु भागीरथी भट्टराई ज्ञवाली, र गौतम डंगोल  उपस्थित हुने छन् । त्यस्तै नेपाल विद्युत प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र निर्देशक रञ्अजन ढकाल उपस्थित हुने छन्। प्रबर्दक कम्पनी टाइम्स इनर्जीको तर्फबाट अध्यक्ष दिपक मलहोत्रा, संचालक चन्द्रमणि बास्कोटा,  लगायत अन्य उच्च तहका कर्मचारी उपस्थित हुने आयोगले जनाएको छ । 

नियमन आयोगले ३४०.४२३ मेगावाटको सो आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर निर्धारण गर्ने सम्वन्धमा सरोकारवालाहरूबाट राय, सुझाव तथा प्रतिक्रिया लिन सार्वजनिक सुनुवाई गर्न लागेको हो ।  आयोगले सार्वजनिक सुनुवाई कार्यक्रममा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानीय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, सम्बन्धित स्थानीय तहका प्रतिनिधि, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाहरूलाई सहभागी हुन आह्वान गरेको छ। सरोकारवालाहरूले लिखित रूपमा एवम् आयोगको इमेल ठेगाना ([email protected]) मार्फत समेत आफ्नो राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न सक्ने जनाएको छ ।

कस्तो हो आयोजना ?

 टाइम्स इनर्जीले गण्डकी प्रदेश अन्तर्गत पर्ने गोरखा जिल्लाको चुमनुव्री र धार्चे गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीको पानीको उपयोग गरी अर्धजलाशय प्रारूपमा आधारित (Peaking Run off River (PROR) Type) बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण गर्न लागेको हो । टाइम्स इनर्जी प्रा.लि. कम्पनी ऐन २०६३ बमोजिम मिति २०६७ सालमा स्थापना भएको संस्था हो । यसको मुख्य उद्देश्य विद्युत उत्पादन प्रसारण तथा बिक्री वितरण गर्ने लगायत रहेको छ ।

यो दैनिक ५ घण्टाको दरले पिकिङ्ग हुने गरी अर्धजलाशययुक्त (Peaking Run of River) प्रकारको आयोजना हो र जडित क्षमता ३४१ मे. वा. रहनेछ । यसको डिजाइन वहाव Design Discharge १०० २७ घनमिटर प्रति सेकेण्ड र कूल हेड (Gross Head) ३९८ मी. रहनेछ । आयोजनाको वार्षिक सरदर १८३७.१६ गिगावट घण्टा (GWh) विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।

आयोजनको मुख्य संरचनाहरु बुढीगण्डकी नदीको दायाँ किनारामा पर्दछन् । बुढीगण्डकी नदीमा बाध बांधी खोलाको दायापट्टि निर्माण हुने Intake बाट पानी फर्काई सो पानीलाई आयोजनाको मुख्य संरचानाहरु Settling Basin, Headrace Tunnel, Surge Shaft, Penstock हुदै भूमिगत विद्युत गृहमा लगिने छ। तत्पश्चात Tailrace Tunnel मार्फत बुढीगण्डकी नदीमा पठाइनेछ ।

आयोजनाबाट उत्पादित ऊर्जालाई ९७५ मि. लम्बाई १४ मि. चौडाइ र १८ मि. उचाई हुने गरी विद्युत गृह नजिकै बनाइने भूमिगत ट्रान्सफरमर क्याभर्नमा जडान हुने ११/२२० के. भि. २२.०२ एम. भि. ए. क्षमता भएका १८ वटा १ Phase Power Transformers बाट करिव ४५ किलोमिटर लम्बाइमा रहेका नेपाल विद्युत प्राधिकरणको प्रस्तावित रातमाटे सब-स्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने छ । यो कम्पनी व्यवसायी दिपक मलहोत्रा अध्यक्ष रहेको आइएमएस ग्रुप अन्तर्गतको कम्पनी हो । 

नेपाल सरकारले बुढीगण्डकी नदी मै १२ सय मेगावाटको बहुचर्चित बुढीगण्डकी स्टोरेज आयोजना निर्माण गर्ने तयारी गरेको छ । यो आयोजना  टाइम्स इनर्जी प्रालिले निर्माण प्रस्ताव गरेको ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना भन्दा तल पर्दछ । 

प्रस्तावित विद्युत खरिद बिक्री दर 

आयोजनाले वर्षायाममा १३०४.०३९ गिगावट घण्टा र सुक्खायाममा ५६३.७३५ गिगावाट घण्टा विद्युत उत्पादन गर्ने छ। वर्षायामको प्रति युनिट दर ४ रुपैयाँ ८० पैसा र सुक्खायाममा प्रति युनिट ८ रुपैयाँ ५० पैसा, ८ रुपौयाँ ८० पैसा, र १० रुपैयाँ ५५ पैसा प्रस्ताव गरिएको छ । आयोजनाको कुल लागत ५५ अर्ब ५७ करोड रहेको छ । 

टाइम्स इनर्जीले यस आयोजनाको लाईसेन्स शाहस उर्जालाई बिक्री गर्ने सम्झौता गरेपछि लाईसेन्स हस्तान्तरणको कार्य भने भएको छैन  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved