अघि बढ्यो ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना, ६ वर्षभित्र उत्पादन थाल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 06:22:13 PM मा प्रकाशित

laxmi  sunrise bank

३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढ्ने भएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीमा ३४१ मेगावाट क्षमताको जलविद्युत आयोजना अघि बढेको हो । 

आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) तय गर्नको लागि आज विद्युत नियमन आयोगमा सार्वजनिक सुनुवाई भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल विद्युत प्राधिकरणमा फाइल पुगेको प्राधिकरणका निर्देशक राजन ढकालले जानकारी दिए।  प्राधिकरणसँग पीपीए भएपछि आयोजना कार्यान्वयन जाने निर्देशक ढकालको भनाइ छ । 

टाईम्स ईनर्जीको लगानीमा सन् २०३० सम्ममा आयोजना पूरा भइ व्यवसायिक उत्पादनमा जाने टाईम्स ईनर्जीका अध्यक्ष दीपक मल्होत्राले बताए । उनले छिट्टै नै लगानीको लागि बैंकहरुसँग सम्झौता गरिने उल्लेख गरे।   प्रतिमेगावाट १६ करोड लागतमा आयोजना प्रस्ताव गरिएको छ । परियोजनाको कुल लागत ५५ अर्ब ५७ करोड छ । आयोजनामा ७० प्रतिसहत ऋण र ३० प्रतिशत इक्विटी प्रस्ताव गरिएको छ।

हाल जलविद्युत क्षेत्रमा उत्साहको वातावरण बनेको नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले दाबी गरे । निजी क्षेत्रले जलविद्युतको लाईसेन्स पाउन विगतमा निकै सकस भए पनि अब नीतिगत सुधारका कारण सहज भएको उनको भनाइ छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरूले पर्यावरणीय सवालमा आयोजना गम्भीर बन्न सुझाएका थिए । सरोकारवालाहरुले पर्यावरणमा गम्भीर नबन्दा आयोजना प्रभावित बन्ने मात्रै नभई स्थानीयले विपत्ति भोगेको स्मरण समेत गराएका थिए । जिज्ञासाको जवाफ दिँदै मल्होत्राले यस विषयमा आफू गम्भीर रहेको प्रष्ट्याएका थिए । 

कस्तो हो आयोजना ?

टाइम्स इनर्जीले गण्डकी प्रदेश अन्तर्गत पर्ने गोरखा जिल्लाको चुमनुव्री र धार्चे गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीको पानीको उपयोग गरी अर्धजलाशय प्रारूपमा आधारित (Peaking Run off River (PROR) Type) बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण गर्न लागेको हो । टाइम्स इनर्जी प्रा.लि. कम्पनी ऐन २०६३ बमोजिम मिति २०६७ सालमा स्थापना भएको संस्था हो । यसको मुख्य उद्देश्य विद्युत उत्पादन प्रसारण तथा बिक्री वितरण गर्ने लगायत रहेको छ ।

यो दैनिक ५ घण्टाको दरले पिकिङ्ग हुने गरी अर्धजलाशययुक्त (Peaking Run of River) प्रकारको आयोजना हो र जडित क्षमता ३४१ मे. वा. रहनेछ । यसको डिजाइन वहाव Design Discharge १०० २७ घनमिटर प्रति सेकेण्ड र कूल हेड (Gross Head) ३९८ मी. रहनेछ । आयोजनाको वार्षिक सरदर १८३७.१६ गिगावट घण्टा (GWh) विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।

आयोजनको मुख्य संरचनाहरु बुढीगण्डकी नदीको दायाँ किनारामा पर्दछन् । बुढीगण्डकी नदीमा बाध बांधी खोलाको दायापट्टि निर्माण हुने Intake बाट पानी फर्काई सो पानीलाई आयोजनाको मुख्य संरचानाहरु Settling Basin, Headrace Tunnel, Surge Shaft, Penstock हुदै भूमिगत विद्युत गृहमा लगिने छ। तत्पश्चात Tailrace Tunnel मार्फत बुढीगण्डकी नदीमा पठाइनेछ ।

आयोजनाबाट उत्पादित ऊर्जालाई ९७५ मि. लम्बाई १४ मि. चौडाइ र १८ मि. उचाई हुने गरी विद्युत गृह नजिकै बनाइने भूमिगत ट्रान्सफरमर क्याभर्नमा जडान हुने ११/२२० के. भि. २२.०२ एम. भि. ए. क्षमता भएका १८ वटा १ Phase Power Transformers बाट करिव ४५ किलोमिटर लम्बाइमा रहेका नेपाल विद्युत प्राधिकरणको प्रस्तावित रातमाटे सब-स्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने छ । यो कम्पनी व्यवसायी दिपक मलहोत्रा अध्यक्ष रहेको आइएमएस ग्रुप अन्तर्गतको कम्पनी हो । 

नेपाल सरकारले बुढीगण्डकी नदी मै १२ सय मेगावाटको बहुचर्चित बुढीगण्डकी स्टोरेज आयोजना निर्माण गर्ने तयारी गरेको छ । यो आयोजना  टाइम्स इनर्जी प्रालिले निर्माण प्रस्ताव गरेको ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना भन्दा तल पर्दछ । 

प्रस्तावित विद्युत खरिद बिक्री दर 

आयोजनाले वर्षायाममा १३०४.०३९ गिगावट घण्टा र सुक्खायाममा ५६३.७३५ गिगावाट घण्टा विद्युत उत्पादन गर्ने छ। वर्षायामको प्रति युनिट दर ४ रुपैयाँ ८० पैसा र सुक्खायाममा प्रति युनिट ८ रुपैयाँ ५० पैसा, ८ रुपौयाँ ८० पैसा, र १० रुपैयाँ ५५ पैसा प्रस्ताव गरिएको छ । आयोजनाको कुल लागत ५५ अर्ब ५७ करोड रहेको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved