आजबाट दशैँ सुरु, यस्तो छ जमरा राख्ने विधि र शुभ साईत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 07:55:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आजबाट दशैँ पर्व सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रुपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधीको रुपमा सेवन गर्ने गरिएको छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान १० ः २३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजा आराधना गरिन्छ ।

हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उनकी पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ । आज घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved