दशैँ छिमेकी मिलन, मित्र मिलन र परिवार मिलन समारोह होः अध्यक्ष उपाध्याय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 01:33:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय व्यस्त दैनिकीमा हुन्छन् । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका उनको दैनिकी व्यस्त नहुने कल्पना पनि गर्न सकिँदैन । बैंकर्स संघको नेतृत्वमा रहेको र कृषि विकास बैंकको कार्यकारी भूमीकामा रहेकाले उनको दैनिकी तुलनात्मक रुपमा व्यस्त हुने नै भयो । 

त्यसैले, सीईओ उपाध्यायले दशैँ बिदाको समयमा अघिपछिको व्यस्त जीवनलाई केही दिन भएपनि परिवारसँग बिताउने र आफन्तसँग रम्ने योजना बनाएका छन् । उपाध्यायकी आमा ९० वर्षकी हुनुहुन्छ । दाजुभाईहरुमा उनकी आमा नै सबैभन्दा जेष्ठ हुन् । त्यसैले ५/७ खलक दशैँको दिन उपाध्यायकै परिवारमा जम्मा हुन्छन् । 

उनको दशैँ काठमाडौँमै हुन्छ । 

‘काठमाडौँमै बसेर यहीँको संस्कृतिसँग रमाउँछौँ, आमा हुनुहुन्छ, आमाको आशिर्वाद लिन्छौँ, हाम्रो ५/७ खलकमै मेरी आमा सबैभन्दा जेठी हुनुहुन्छ, त्यसैले आमाको आशिर्वाद लिन टिकाको दिन हामी खलकका ९० प्रतिशत जति एकैठाउँ भेला हुन्छौँ’ उपाध्याय भन्छन्, ‘हाम्रा लागि दशैँ भनेको मुख्यगरी आमाको आशिर्वाद लिने नै हो, त्यही भएर ८० जनाजति हुन्छौँ त्यो दिन ।’

उपाध्यायको सन्तान धादिङबाट रौतहटको गौरमा बसाई सरेको हो । अहिले गौरबाट अधिकांश काठमाडौँ केन्द्रित छन् । अनिल उपाध्यायका केही दाजुभाइ र अंकलहरु भने गौरमै हुनुहुन्छ । त्यसैले हरेक वर्ष दशैँको बेलामा उनी एकपटक गौर पुग्छन् । 

‘दशैँ अगाडी एक रात बस्नेगरी मात्रै भएपनि गौर पुग्छु, गाउँमा छुट्टै रमाइलो हुन्छ’ उपाध्याय भन्छन्, ‘दूर्गा पूजा गर्ने दिन गाउँमा छुट्टै खालको सांस्कृतिक माहोल हुन्छ, मलाई कहिले आउने भनेर गाउँबाट फोन नै आइसक्यो (लामो हाँसो) ।’

दशैँलाई परिवार मिलन मात्रै नभई मित्र मिलनको सुखद क्षणका रुपमा पनि उपाध्यायले लिएका छन् । सँगै पढेका, हुर्केका साथीहरुसँग बालापनको स्मृति साटासाट गर्दै रमाउनु र परिवारसँग बसेर वर्ष भरीको व्यस्त दैनिकीलाई केही दिनका लागि मात्रै भएपनि आराम दिलाउनु दशैँले जुटाइदिने अवसर हो ।

‘मित्र मिलन, छिमेकी मिलन समारोह जस्तो हो दशैँ भनेको’ लामो हाँसो हास्दै सीईओ उपाध्याय भन्छन्, ‘यसपाली बाहिर घुम्न जाने माहोल भएन, नत्र हरेक दुई दुई वर्षमा आन्तरिक भ्रमणमा निस्कने गरेको थिएँ ।’

सँगै, गौरसँग छुट्टै खालको सम्बन्धको अनुभूति उनलाई हुन्छ । दशैँ, छठ र फागू पूर्णीमामा उनी जस्तै व्यस्त भएपनि गौर पुग्ने गर्छन् । यसले संस्कृतिप्रतिको प्रेम झल्काउँछ ।

यसपालीको दशैँ चाहिँ कुपण्डोलस्थित घरमै मनाउँदैछन् । ३ दिदी बहिनी र ३ भाइ दाजुभाइ रहेका उपाध्यायहरु दानुभाइको घर घरमा गएर रमाइलो गर्छन् । 

‘एक दिन एउटा भाइकोमा, अर्को दिन अर्को भाइकोमा गएर रमाइलो गर्छौ’ उपाध्याय भन्छन्, ‘टीकाको दिन चाहिँ आमा हुनु भएकाले मेरै घरमा सबै जना ७०/८० जना जम्मा हुन्छौँ । यसलाई पारिवारिक मिलन समारोह पनि भन्न सकियो (फेरि हाँसो) ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved