तिहारको लागि ३ लाख माला भारतबाट ल्याईदै, एउटाको मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2022 | 01:05:13 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहार नजिकिएसँगै फूल र झिलिमिलि बत्तीको ब्यापार फस्टाउँछ । यसवर्ष तिहारमा २३ लाख ४५ हजार वटा मालाको खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एशोशिएशन नेपालले २३ लाख ४५ हजार वटा माला खपत हुँदा १३ करोड माथिको कारोबार हुने अनुमान गरेको छ ।

गत वर्षको तिहारमा ११ करोड ५६ लाख रुपैयाँका १९ लाख ३५ हजार वटा माला खपत भएका थिए । यसपर्ष खपत हुने फूलमालाको संख्या र कारोबार बढ्ने अनुमान एशोसियनले गरेको हो । 

यसवर्ष २० लाख सयपत्री फूलका माला बिक्रि हुनेछन् । बाँकी मखमली लगायत अन्य फूलका माला बिक्रि हुनेछन् । २० लाख सयपत्री फूलका मालामध्ये १७ लाख माला नेपालमै उत्पादित फूलले बनाइनेछ । बाँकी ३ लाख मालाका लागि भने फूल नै भारतबाट आयात हुनेछ । 

एशोशिएशनका अध्यक्ष मीनबहादुर तामाङका अनुसार सयपत्रीबाहेक ३ लाख २५ हजार माला मखमली फूलका र २० हजार माला गोदावरी फूलका खपत हुनेछन् । 

यसवर्ष आयात गर्नु नपर्ने लक्ष्य सहित कृषकहरुले पुष्प खेती बढाएको भएपनि दशैँको अवधिमा परेको पानीले फुल्ने बेलामै देशका विभिन्न ठाउँमा फूल खेतीमा प्रभाव पारेपछि स्वदेशी उत्पादनले नधान्ने ३ लाख मालाका लागि भारतबाट फूल ल्याउनुपर्ने बाध्यता परेको हो । 

मूल्य कति ? 

सयपत्री मालाको औसत मूल्य प्रतिगोटा ५५ रुपैयाँ, मखमली फूलको मालाको मूल्य औसतमा प्रतिगोटा ३५ देखि ४० रुपैयाँ र गोदावरी मालाको ३५० देखि ४ सय रुपैयाँसम्म पर्न जान्छ ।

गत वर्षको तुलनामा यसवर्ष उत्पादन १० प्रतिशतले बढ्ने देखिएको कृषकहरु बताउँछन् । 

कहाँ कहाँ छ पुष्प खेती ?

काठमाडौँ उपत्यकासहित धादिङ, चितवन, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कास्की, झापा, इलाम, धनकुटा, बाँके र कैलालीमा व्यवसायिक रुपमा सयपत्री फूलको खेती हुँदै आएको छ । 

मखमली फूलको व्यावसायिक खेती पनि काठमाडौँको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी, बडिखेलसहित धादिङ, पाल्पा, कैलाली र इलाममा हुने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved