असोज २८ देखि देशभर रुट परमिट खुला, नारायणघाट-काठमाडौ सडकमा ठुला गाडी प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 08:28:16 PM मा प्रकाशित

laxmi  sunrise bank

यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला हुने भएको छ। आज भएको सर्वपक्षीय छलफलले असोज २२ बाट दशैँको अग्रिम टिकट बुकिङ खुला गर्ने र  घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, उपभोक्ता सम्बद्ध संस्था, ल्होत्से बहुउद्देशय प्रा. लि.,नाडा समेतका सरोकारवालहरुको बैठकले यसबारे निर्णय गरेको हो । 

यस्ता छन् बैठकका ११ निर्णय : 

 १. चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउनको लागि सार्वजनिक यातायात सेवा प्रदायकहरुले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा २०८० साल असोज २२ गते सोमबार देखि अग्रिम टिकट बुकिङ खुला गर्ने।1

२. यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने ।

३. अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देशय प्रा. लि., उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने/गराउने र यात्रु समेत सवारीमा मादक पदार्थ सेवन गरी यात्रा गर्न नहुने ।

४. सवारी चालकले यात्रुलाई खाना / खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्ने / गराउने ।

५. अनधिकृत काउन्टर, परिचय पत्र, पेशाक नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने/गराउने ।

६. मुख्य सडकलाई मर्मत संभार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने ।

७. यात्रुलाई आवश्यक सवारी साधनहरुको व्यवस्था यातायात व्यवसायीले गर्ने/गराउने ।

८. यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु २०८० साल आश्विन २८ गतेदेखि कार्तिक ०८ गतेसम्म नारायणघाटदेखि काठमाडौसम्म सञ्चालन गर्न रोक लगाउने ।

९. यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने । तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार-प्रकारका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै रहने ।

१०. उपत्यकामा भित्रीने र बाहिरिने प्रमुख स्थान लगायत देशभर मा. प. से रला. प. से गर्ने सवारी चालकको स्वास्थ्य अवस्थाको बारेमा चेक जाँच गर्ने / गराउने । सवारी चालकले मा.प.से र ला.प.से गरेको पाईएमा निजको सट्टा व्यवसायीले अर्को चालकको व्यवस्था गर्ने ।

११. चाडपर्व लक्षित सवारी साधन व्यवस्थापन गर्ने सिलसिलामा सडकको अवस्था र प्राकृतिक प्रकोप जस्ता कारणले काबु
बाहिरको परिस्थिति सिर्जना भई समयमा सवारी साधन पुग्न नसकेको अवस्थामा विकल्पको रुपमा सम्बन्धित यातायात कम्पनी (व्यवसायी) ले अर्को सवारी साधन उपल्बध गराउने र यस विषयलाई सहजिकरण गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, उपभोक्ता सम्बद्ध संस्था, ल्होत्से बहुउद्देशय प्रा. लि. सम्मिलित सहजिकरण समिति गठन गर्ने तथा उक्त समितिमा रहने पदाधिकारीको नाम र सम्पर्क नम्बर नेपाल प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरमा उपलब्ध गराउने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved