'अहिले देउसी भैलोको नाममा चन्दा आतंक पो मौलाउँदै छ कि जस्तो लाग्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2023 | 10:29:55 AM मा प्रकाशित

laxmi  sunrise bank

लिमा अधिकारी 

म विराटनगरमा जन्मिएको हुँ । मेरा बुबाहरु ८ दाजुभाइ हुनुहुन्थ्यो, उहाँहरुको बसोबार विराटनगरमै थियो । दशैँ तिहार जस्ता चाडवाडमा सबै भेला हुनुहुन्थ्यो । 

हामी सानो छँदा तिहारमा खुब भैलो खेल्ने गथ्र्यौँ । विराटनगरको वडा नम्बर १० मा बालिका विद्यालय छ, टेलिकम अफिस नजिकै पर्छ । उक्त विद्यालयमा मेरा ठूलो आमाहरु शाधना अधिकारी, कृष्णा अधिकारी पढाउनुहुन्थ्यो । त्यो टोलमा म एक खालको ‘लिडर’ जस्तो थिएँ । पिकनिक आयोजना गर्ने, तिहारमा भैलो आयोजना गर्ने काममा ‘कोर्डिनेटर’को भूमीका निभाउँथे । कृष्ण जन्माष्टमी पनि हामी एकदम राम्रोसँग मनाउँथ्यौँ । कोही सिँगारिएर राधा बन्ने, कोही कृष्ण बन्ने हुन्थ्यो । तिहारमा पनि हामीले टोल छिमेकमा भैली खेल्थ्यौँ ।

अहिलेका बालबच्चाहरु सबै ‘ग्याजेट्स’मा मात्रै रमाउने भए । उनीहरुलाई छरछिमेक के हो भन्ने नै थाहा छैन । हाम्रो बाल्यकालमा टोल छिमेकमा सबै बालबच्चा भेला भएर तिहारमा के गर्ने, लक्ष्मी पूजा कसरी मनाउने, भैलो कसरी खेल्ने, कुन कुन गाना गाउने भनेर छलफल गथ्र्यौँ र त्यसै अनुसार ‘प्राक्टिस’ गर्ने गथ्र्यौँ । यसरी भैलो खेलेर जम्मा भएको पैसा कहिले बाँड्थ्यौँ, कहिले त्यहीँ पैसाले हामी पिकनिक जान्थ्यौँ । तिहार सकिए लगत्तै जाडो सुरु हुने भएकाले जाडो मौसममा पिकनिक जाने चलन हुन्थ्यो । 

पछि म काठमाडौँ बनस्थलीमा पढ्न आएँ । बनस्थली पढ्दा पनि दशैँ तिहारमा एक महिना बिदा हुन्थ्यो । त्यो बेलामा तिहारमा भैलो खेल्ने भनेर खुशी हुँदै गाउँ गइन्थ्यो । तिहारमा हरेक घर घरमा पुगेर भैलो खेलिन्थ्यो, भैलो खेल्दा गीतहरु गाउँथ्यौँ, गीत पनि लामा लामा गाउँथ्यौँ । 

अहिले हरेक कुराहरु ‘रेडिमेड’ जस्तो भएको छ । देउसी भैलोमा पनि विदेशी गाना बज्न थालेका छन् । यसले तिहारको, देउसी भैलोको महत्व नै घटाइदिएको जस्तो अनुभूति हुन थालेको छ । हामी भैलो खेल्दा जहाँ जहाँ पुग्थ्यौँ, त्यहाँ उहाँहरुले बनाउनु भएका सेलरोटीहरु राखेर, पैसा राखेर, दियो बालेर नाङ्लोमा सजाएर दान दक्षिणा दिनुहुन्थ्यो । यसरी दान दक्षिणा पाइसकेपछि हामी आशिष दिन्थ्यौँ ।

तर अहिले महत्व नै हराउँदै गएको छ । तिहार आउनुभन्दा अगाडी नै देउसी भैलो खेल्न थालिएको छ । केटी मान्छेले भैलो र केटा मान्छेले देउसी खेल्ने भन्ने हुन्थ्यो, अहिले केटी मान्छेले पनि देउसी खेलिरहेका हुन्छन् । भैलो भनेको केटी मान्छेहरुले खेल्ने हो भनेर भन्नुमा पनि केही कारण होला । तर, आधुनिकतामा नाममा हाम्रो संस्कृति र परम्परालाई हामीले कता तिर लैजान खोजिरहेका छौँ भन्ने कुरा मैले बुझ्न सकेको छैन ।

समय अनुसार परिवर्तन हुनुपर्छ । तर, हाम्रा कला, संस्कृति, हाम्रा चाडपर्वहरु परापूर्व कालदेखि कसरी चलेका थिए, कसरी मनाइन्थ्यो भन्ने कुरा नै बिर्सिनु चाहिँ पक्कै पनि राम्रो कुरा होइन । हाम्रा रितिरिवाजहरु, हाम्रा संस्कृतिहरु, हाम्रा चाडपर्वहरु मौलिक नै हुनुपर्छ । हामी आधुनिकताका नाममा बढी तडकभडक गर्न तिर पो लाग्यौँ कि !

अहिले देउसी भैलोको नाममा कतै चन्दा आतंक पो मौलाउँदै छ कि जस्तो पनि लाग्छ । संघ संस्था, राजनीतिक दलहरुले पैसा संकलन गर्ने अवसरका रुपमा देउसी भैलोलाई लिएको जस्तो पनि देखिन्छ । यसरी हाम्रा मौलिक पर्वहरुलाई व्यवसायिकताको नाममा पैसा संकलन गर्ने ‘इभेन्ट’का रुपमा लिइनु राम्रो होइन । देउसी भैलोलाई हामीले हाम्रो परम्परा र संस्कृति अनुसार नै मनाउनुपर्छ भन्ने मेरो भनाई रहँदै आएको छ ।

अर्को कुरा, भविष्यका सन्नतिलाई हामीले हाम्रा चाडपर्वको वास्तविक महत्व बुझाउन पनि सक्नुपर्छ । भैलो किन खेलिन्छ, देउसी किन खेलिन्छ, लक्ष्मी पूजा किन गरिन्छ, परापूर्व कालदेखि भैलो किन खेल्थे, कसरी खेल्थे, देउसी भैलो खेल्नेहरुलाई घर समाजले के दिन्थ्यो, आशिष कस्तो दिइन्थ्यो भन्ने कुरा सिकाउनुपर्नेमा हामी अन्तै कतै भुलिरहेका पो छौँ कि, हामीले हाम्रा चाडपर्वलाई पैसासँग मात्रै जोडेर हेर्न थाल्यौ कि जस्तो पनि लाग्छ । 

यसले भोली हाम्रा सन्तानले देउसी भैलो भनेको पैसा कमाउने, पैसा जम्मा गर्ने इभेन्ट हो भनेर मात्रै बुझिदिए भने हाम्रो संस्कृतिको अवस्था के होला ? यदि अहिलेबाटै संस्कृति र चाडपर्वबारे वास्तविक महत्व बुझाउन सकिएन भने चाडपर्वको महत्व नै मेटिँदै जाने जोखिम हुन्छ । हामी सबैले यतातर्फ पनि सोच्नुपर्छ । 

हामीले त्यो बेलामा मनाउने चाडपर्व, त्यो समयमा खेल्ने देउसी भैलो र अहिलेको तौरतरिकामा निकै फरक छ । म आफू बाल्यकाल र युवा अवस्थामा भैलो खेल्दाका क्षणहरु अहिले पनि सम्झिन्छु । निकै रमाइलो हुन्थ्यो । मैले अझै पनि आफू सिके अनुसार, जाने अनुसार परम्परागत रुपमै तिहार मनाउने, लक्ष्मीपूजा गर्ने गर्दै आएको छु । म अहिले कसैको बुहारी छु, कसैको श्रीमति छु, आमा छु, व्यवसायिक महिला पनि हुँ, राजनीतिक दलमा पनि आवद्ध छु, बुबाको नाममा फाउण्डेशन खोलेर सामाजिक काममा पनि सक्रिय छु । तर पनि लक्ष्मी पूजाको दिन अफिस र घरमा आफैँ लक्ष्मीपूजा गर्दै आएको छु । घरमा आफैँ सेलरोटी बनाउँछु ।

सँगै, म आफ्ना छोरीहरुलाई पनि भैलो खेल्न प्रोत्साहन गर्छु । उनीहरु सानो छँदा गोल्फुटारस्थित घरमा बस्थ्यौँ, त्यहाँ टोल छिमेकमा भैलो खेल्न पठाउँथ्यौँ । एक दुइ घरमा गएपछि फर्किन्थे । अहिले पनि जाउ, रमाइलो गर चाहिँ भनिरहेको हुन्छु, तर उनीहरु खासै जान चाहँदैनन् । उनीहरु किन जान चाहँदैनन् भनेर बुझ्दा शहरमा देउसी भैलो खेल्न आउँदा मान्छेहरुले घरको गेट नै खोल्दा रहेनछन् । संघ संस्थाका समूहहरु देउसी खेल्न जाँदा पहिल्यै पत्र लिएर जाने चलन आइसकेछ । यो त संस्कृति अनुसार भएन नि । यसको पनि सुधारको खाँचो देखेको छु मैले । सुधार भनेको मतलब संस्कृति अनुसार नै हुनुपर्यो भन्ने हो ।

अर्को कुरा, भाइटिका लगाउने हाम्रो विधि छ । दाइभाइलाई राखेर, पूजेर, तेलले छेकेर, ओखर फोडेर विधिपूर्वक टिका लगाउने चलन छ । तिहार भन्ने बितिक्कै भाइमसला बनाउने कुरा आउँछ । यो पनि अहिले बढी तडकभडक भयो भन्ने नै लाग्छ । पहिला पहिला हामी ल्वाङ भिजाएर जरी किनेर ल्याएर जरीसँग मिलाएर ल्वाङको माला बनाउँथ्यौँ । अहिले यसरी कसैले पनि बनाउँछ जस्तो लाग्दैन । टिका लगाइसकेर काजु, किसमिस राखेर घरमै बनाएको सेलरोटी राखेर भाइमसला दिने गथ्र्यौँ । भाइलाई कपडा दिने चलन थिएन । भाइटिका लगाइदिए बापत भाइहरुले बरु दक्षिणा वा कपडा दिने गर्थे । तर अहिले दिदीबहिनीले दाजुभाई र भाउजू बुहारीलाई समेत कपडा दिने तडकभडक देखिन थालेको छ । यो तडकभडकले हामी हाम्रो संस्कृतिभन्दा बाहिर गयौँ कि भन्ने चिन्ता पनि लाग्छ ।

म आफू लक्ष्मी माताको भक्त हुँ । तिहार भन्नासाथ म लक्ष्मीको भक्त भएकाले लक्ष्मी पूजाको दिनलाई विशेष महत्वका साथ सम्झिन्छु । हरेक वर्ष लक्ष्मीको पूजा आराधना गर्छु । पञ्च महालक्ष्मीको पूजा आराधना गरेर प्रसाद सबैलाई बाँड्ने गर्छु ।

भाइटिकाको कुरा गर्दा मेरा आफ्ना दाजुभाई हुनुहुन्न । म सानो छँदा ठूलोबुबा मनमोहन अधिकारीका छोरा प्रकाशचन्द्र अधिकारी, माइलो ठूलोबुबाको छोरा विनयचन्द्र अधिकारी, नविनचन्द्र अधिकारीहरुलाई टिका लगाउँथे । अहिले उहाँहरु आफ्नो आफ्नो ठाउँमा हुनुहुन्छ । मेरा श्रीमानको पनि दिदीबहिनी हुनुहुन्न । उहाँलाई उहाँको मामाको छोरीले टिका लगाइदिनुहुन्छ । मलाई पनि भाउजू भनेर बहिनीले नै टिका लगाइदिनुहुन्छ । उहाँको हातबाट टिका थाप्न, आशिर्वाद थाप्न जान्छु । 

तिहारको भाइटिकाकै दिन मेरो बुढा ससुराको श्राद्ध पर्छ । पहिला बिहान घरमा श्राद्ध गर्छौ र श्राद्ध सकेर मात्रै टिका लगाउन जान्छौँ । 

अन्तिममा, म सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीलाई मौलिक संस्कृतिका रुपमा रहेको तिहार पर्वलाई मौलिक ढङ्गले नै मनाउन अनुरोध गर्दछु । आधुनिकीकरणका नाममा मौलिकता हराउँदै गएको आभाष भइरहेका बेला हामीले हाम्रो परम्परा र संस्कृति अनुसार मौलिकता जोगाउँदै चाडपर्वहरु मनाउनुपर्छ भन्ने सन्देश पनि दिन चाहन्छु । हामीले देखासिकी गर्नु हुँदैन । हाम्रा अग्रजहरुले हामीलाई सानैबाट ‘घाँटी हेरेर हाँड निल्नुपर्छ’ भनेर सिकाउनु भएको छ । अर्काले बढी खर्च गर्यो, राम्रो लगायो, महँगा वस्तु किन्यो भनेर देखासिकी नगरी आफ्नो घरमै सेलरोटी पकाएर, माला गाँसेर मौलिकता जोगिने गरी चाडपर्व मनाउन सबैलाई अनुरोध पनि गर्न चाहन्छु ।

साथै, हामीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि हाम्रा स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्छ । अहिले सयपत्री फूलको खेती बढेको छ । फूल खेतीमा नेपाललाई आत्मनिर्भर बनाउने अभियानका साथ धेरै नेपाली दाजुभाइ दिदीबहिनीले फूल खेती सुरु गर्नुभएको छ । म पनि हरेक वर्ष झैँ यसपाली पनि नेपाली फूल नै प्रयोग गरेर लक्ष्मी पूजा गर्ने, घर सजाउने र दाजुभाइका लागि माला बनाउँदैछु । 

म सबै नेपाली दाजुभाइ दिदीबहिनीमा स्वदेशी फूलको प्रयोग गर्न पनि अनुरोध गर्न चाहन्छु । यो तिहार पर्वले अहिलेको आर्थिक मन्दीको अवस्थाबाट बाहिर निस्कदै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित हुन सबैलाई प्रोत्साहन गरोस् भन्ने कामना गर्दै सबै नेपालीमा शुभ दीपावलीको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

लिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शकी सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य हुन्  ।

बिजपाटी डटकमले दशैँको अवसरमा ‘यसपालीको दशैँ’ स्तम्भ संचालनको गरेको थियो। तिहारको अवसरमा हामीले विभिन्न क्षेत्रका महिला व्यक्तित्वहरुसँग उनीहरुको तिहारको योजना, बाल्यकालका तिहारका स्मरण र फेरिएको तिहार मनाउने शैली लगायतका विषयवस्तु समेटेर यो विशेष सामग्री तयार पारेका हौ।: सम्पादक

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved