'तिहारमा लाभाको माला गाँस्ने चलन हराउँदै गएकोमा चिन्ता लाग्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2023 | 02:00:28 PM मा प्रकाशित

laxmi  sunrise bank

यमुना श्रेष्ठ

हामी सानो छँदा तिहार हाम्रा लागि उत्सवको क्षण जस्तै हुन्थ्यो । दशैँ सकिनासाथ हामी तिहारको तयारी सुरु गथ्र्यौँ । नेवार समुदायमा तिहारमा दाजुभाइलाई टिका लगाइदिँदा लाभाको माला लगाउने चलन हुन्थ्यो । लाभा भनेको चामलको फूल हो । लाभाको माला गाँस्न समय लाग्थ्यो । अरु फूलको माला थोरै समयमै तयार गर्न सकिने भएपनि लाभाको माला उन्न निकै दिन लाग्थ्यो । त्यहीँ भएर हामी दशैँ सकिनासाथ लाभा टिप्ने र मालाको तयारी गर्ने काम सुरु गथ्र्यौ । यस्तो माला सबैभन्दा राम्रो कसले बनाउने भन्ने टोल छिमेकका दिदीबहिनीबीच एक खालको प्रतिस्पर्धा नै हुन्थ्यो ।

यस्तो मालामा पाँच वटा, छ वटा लुङ राखेर, बीच बीचमा कपडा राखेर, कपडालाई फूलको आकृति दिएर बनाउने गरिन्थ्यो । मेरा लागि बाल्यकालको तिहारको सबैभन्दा सुन्दर क्षण नै यहीँ थियो । अहिले त यस्तो माला देख्न नपाएको पनि धेरै भइसक्यो । अहिले यो कुरा धेरै नै ‘मिस’ हुन्छ मलाई ।

देउसी भैलो पनि निकै चल्थ्यो । तर म चाहिँ त्यति धेरै खेलिन । एकाध पटक भैली खेल्न गएको छु, तर मलाई आफू भैली खेल्न भन्दा पनि हेर्न रमाइलो लाग्थ्यो । दाजुभाइहरुले देउसी खेलेको खुब मन पथ्र्यो ।

हामी त्यतिबेला घरमा नै मिठाइ र सेलरोटी बनाउँथ्यौँ । भाइमसला पनि घरमै आफैँले प्याक गरेर सजाएर दिने चलन थियो । अहिले बजारको तडकभडक तिर हामी गयौँ कि जस्तो पनि लाग्छ । अहिले सबै मरमसला प्याकिङ भएको ‘ट्रे’ किनेर भाइमसला दिने चलन आयो । सबै जना व्यस्त भएर घरमा बनाउन नभ्याउने कुरा पनि होला, तर यो मात्रैले यस्तो तडकभडक देखिएको होइन । हामीले घरमा आफ्ना परम्परागत खानाहरु बनाउनै छोड्यौँ, जसका कारण सेलरोटी बनाउने, लड्डु बनाउने, मिठाइ बनाउने सीप नै हराउँदै गयो । हामीले दाजुभाइलाई तिहारमा मसला दिँदा सेलरोटी घरमै बनाउँथ्यौँ, भोगटेको प्रयोग गर्थ्यौँ, मौसम, सुन्तला र केरा छुटाउँदैनथ्यौँ । त्यतिबेला आफ्नै उत्पादन दिने चलन थियो, अहिले सबै विदेशी उत्पादनले ओगटेको छ ।

यसरी हाम्रो मौलिकता कता कता हराउँदै गएको छ । मैले माथि पनि भनेको छु, लाभाको माला उन्दा, माला गाँस्दा जुन खालको ‘एक्साइटमेन्ट’ थियो, अहिले छैन । छिमेकतिर अरु दिदीबहिनीले हामीले त लाभा उन्न थालिसक्यौँ भनेको सुनेपछि हामी घरमा आमासँग झगडा गथ्र्यौँ । हामी कहिले लाभा ल्याउने, कहिले उन्ने, छिटो गरिदिनुन भनेर आमासँग झगडा गरेको अहिले पनि याद छ मलाई । तर अहिले भोली भाइटिका छ, भोली लक्ष्मी पूजा छ भनेपनि घरमा केही तयारी गरिएको हुँदैन । बजारमा पाइहालिन्छ नि भन्ने सोच बढ्दै गएको छ । सबैकुरा रेडिमेड हुँदै गएको छ ।

मैले यो किन भनेको भने, यसले चाडवाडप्रति हाम्रो ‘फिलिङ्स’ घटाउँदै लगेको छ । हिजो जुन खालको अनुभूति हुन्थ्यो, आज त्यो छैन । हिजो जुन खालको ‘इमोशनल अट्याचमेन्ट’ थियो, आज त्यो घट्दो क्रममा छ । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता घटेको होइन कि, चाडवाड प्रतिको अट्याचमेन्ट घटेको छ ।

दक्षिणा र उपहार समय अनुसार दिने कुरा होलान् । तर, हाम्रो परम्परा अनुसार हिजो कसरी तिहार मनाइन्थ्यो र, आज कसरी मनाइन्छ भनेर हेर्दा नै हामी मौलिकताबाट टाढा गइसक्यौँ कि जस्तो लाग्छ ।

म एउटा उदाहरण भनौँ, हाम्रो नेवार समुदायमा मण्डप बनाउने चलन हुन्छ । पूरानो सिरकको खोलको बत्ती बनाउने चलन हुन्छ । अनि जजन्गा बनाउने चलन हुन्छ । धागो काटेर, कपडा मिलाएर आफू बराबरको जजन्का बनाउने चलन हुन्छ । यी चलनहरु हिजोदेखि अहिलेसम्म कायम छन् । मैले आज पनि हिजोकै परम्परा अनुसार यी चिजहरु बनाएरै तिहार मनाउँदै आएको छु । सुपारी फूलको माला प्रयोग गर्दै आएको छु । आजसम्म कृत्रिम फूलको माला प्रयोग गरेको छैन । यसरी भोलीका आफ्ना सन्तानहरुले पनि संस्कृतिबारे थाहा पाइरहुन् भन्ने उदेश्यले सकेसम्म संस्कृति र मौलिकता झल्किने गरी नै चाडवाड मनाउने प्रयास गरिरहेको हुन्छु ।

मैले तिहारमा टिका लगाउने दुइ जना दाइ र एक जना भाइ छन् । उहाँहरुलाई म मौलिक संस्कृति अनुसार पूजा गरेर टिका लगाउँछु ।

म संस्कृति अनुसार चाडवाड मनाउन हाम्रा संरचनाहरु नै बाधक भए कि भन्ने पनि ठान्दछु । जस्तो, हिजो हामी मन्दिरमा कपडाको बत्ती बाल्थ्यौँ । आज मन्दिरमा पार्केटिङ गरिएको हुन्छ । पार्केटिङ भएको ठाउँमा बत्ती बाल्न त मिलेन । घरमै पनि हिजो पूजा आराधनाका लागि हुने गरी संरचना बनाइन्थ्यो । आज पूजा कोठा हुन्छ, अन्यत्र धार्मिक गतिविधि गर्न मिल्ने ठाउँ नै हुँदैन । त्यसैले, हामीले घर बनाउँदा संस्कृति र चाडपर्वलाई सोचेर संस्कृतिमैत्री घरहरु बनाउनुपर्छ भन्ने लाग्छ । 

सँगै, अहिले रातो माटोले लिपेर मण्डप बनाउने चलन नै हरायो । अहिले पित्तलको थालीमा रेडिमेड मण्डप किन्ने चलन आयो । मण्डप बनाउँदा पीठो प्रयोग हुन्छ । त्यसमाथि तेल लगाइन्छ । चामल र कालो भटमास राखिन्छ । त्यसपछि मण्डपको माथि लाभाले घेरिन्छ । यो बनाउन समय लाग्छ । समय लाग्छ भनेर पित्तलको थालीमा रेडिमेड मण्डप किन्दा त समय बच्यो होला, तर संस्कृति त लोप हुँदै गयो नि । अनि, यसका लागि घरमा ठाउँ पनि हुन छोडेछ ।

म अहिले सम्झिन्छु, हाम्रा अग्रज बुबा, हजुरबुबाहरुले घर बनाउँदा चोटा, बुइगल भनेर राखेका हुन्थे । आफन्तलाई बोलाएर भोज खुवाउने, धुपबत्ती बाल्ने स्थानका रुपमा चोटा, बुइगल रहन्थे । अहिले यो छैन, त्यो खासमा चाहिने रहेछ । म आफैँलाई पनि अहिले यो कुरा ‘मिस’ हुन्छ । 

अन्तिममा, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा तिहार पर्वको शुभकामना दिँदै हाम्रो नेपाली संस्कृति र मौलिकता जोगाउँदै चाडपर्वहरु मनाऔँ भन्ने सन्देश दिन चाहन्छु ।

यमुना श्रेष्ठ साइमेक्स इन्क (बीवाईडी) की प्रबन्ध निर्देशक हुन्  ।

बिजपाटी डटकमले दशैँको अवसरमा ‘यसपालीको दशैँ’ स्तम्भ संचालनको गरेको थियो। तिहारको अवसरमा हामीले विभिन्न क्षेत्रका महिला व्यक्तित्वहरुसँग उनीहरुको तिहारको योजना, बाल्यकालका तिहारका स्मरण र फेरिएको तिहार मनाउने शैली लगायतका विषयवस्तु समेटेर यो विशेष सामग्री तयार पारेका हौ।: सम्पादक

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved