खेतान समूहको गोर्खा ब्रुअरीले सरकारलाई तिरेन ९० करोड ३२ लाख अन्तःशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2021 | 12:07:17 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७७ असोजमा बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीका सबैजसो उत्पादनमा खराबी भेटियो । गोर्खा ब्रुअरीका काल्सवर्ग, टुबोर्ग, गोर्खा र सानमिगल वियर गुणस्तरहीन भेटिएपछि २०७७ कार्तिक १ गते नै आन्तरिक राजस्व विभागले गोदाम नै सिल गरेको थियो ।

४ लाख ३७ हजार बक्स वियर भण्डारण गरिएको नवलपरासीस्थित गोदाम सिल गर्दै विभागले ‘कमजोर गुणस्तरको रक्सीले तिनुपर्ने बराबरको अन्तःशुल्क तिरेपछि मात्रै खोल्ने’ भनेको थियो । तर, अहिलेसम्म गोर्खा ब्रुअरीले विभागले तोकेको अतिरिक्त अन्तःशुल्क तिरेको छैन ।

के हो घटना ?

काल्सवर्ग, टुबोर्ग, गोर्खा र सानमिगल वियरमा जौको मात्रा ५० प्रतिशतभन्दा कम रहेको आन्तरिक राजश्व विभागको ठहर थियो । गोर्खामा उल्लेखित वियरमा ५० प्रतिशतभन्दा बढी जौको मात्रा राख्नु पर्नेमा ५० प्रतिशतभन्दा बढी कनिका राखेर उत्पादन गरेको भेटिएको थियो । यी वियरको गुणस्तर लोकल रक्सी सरह पाईएको थियो । 

त्यसपछि विभागले नवलपरासी गोदाम सिल गरेको थियो । कम गुणस्तरका रक्सीका लागि तोकिएको अन्तःशुल्क तिरेपछि मात्रै गोदाममा लगाईएको सिल हटाउने विभागले जनाएको थियो ।

अन्तःशुल्क निर्देशिका अनुसार ५० प्रतिशतभन्दा बढी जौको मात्रा राखेर बनेको वियरमा प्रतिलिटर १ सय ६५ रुपैयाँ अन्तःशुल्क लाग्छ । तर, ५० प्रतिशतभन्दा कम जौको मात्रा प्रयोग गरेर बनेको वियरमा भने प्रतिलिटर ४ सय ३० रुपैयाँ अन्तशुल्क लाग्छ ।

गोर्खाले स्टकमा राखेको ४ लाख ३७ हजार बक्स वियरमा ५० प्रतिशतभन्दा कम जौको प्रयोग भएको हुनाले प्रतिलिटर ४३० रुपैयाँ अन्तःशुल्क तोकिएको थियो । 

४ लाख ३७ हजार कार्टुनमा कति लिटर ?

एक बोतल वियरमा ६५० एमएल हुन्छ । एक कार्टुनमा ७.८ लिटर हुन्छ । ४ लाख ३७ हजार कार्टुनमा ३४ लाख ८ हजार ६ सय लिटर वियर हुन्छ । 

यो हिसाबमा गोर्खाले एक कार्टुन वियर बराबर ३ हजार ३ सय ५४ रुपैयाँ अन्तशुल्क तिर्नुपर्ने थियो । कुल ३४ लाख ८ हजार ६ सय लिटर वियरको १ अर्ब ४६ करोड ५६ लाख ९८ हजार रुपैयाँ अन्तशुल्क गोर्खा ब्रुअरीका लागि तोकिएको थियो ।

यो मध्ये प्रतिलिटरमा २६५ रुपैयाँ अतिरिक्त अन्तशुल्क हो । बाँकी १६५ रुपैयाँ भने एक लिटर वियरमा नियमित लाग्ने अन्तशुल्क हो । यो आधारमा गोर्खा ब्रुअरीलाई ९० करोड ३२ लाख ७९ हजार रुपैयाँ अतिरिक्त अन्तःशुल्क तोकिएको थियो । 

तर गोर्खाले तिरेन 

आन्तरिक राजस्व विभागका अनुसार गोर्खा ब्रुअरीले उक्त अन्तःशुल्क अहिलेसम्म तिरेको छैन ।  विभागका सूचना अधिकारी अर्जुन ढकालका अनुसार कम्पनीले अतिरिक्त अन्तशुल्क पनि नतिर्ने र गुणस्तरमा कमी भएको भनी प्रमाणित भएको वियर बजार पनि नपठाउने नीति अख्तियारी गरेको पाईएको बताए ।

सन् २०१० मा खेतान समूहबाट कम्पनीको अधिकांश शेयर खरिद गरेर व्यवस्थापन सम्हालेको काल्सवर्ग समूहले यस विषयमा औपचारिक रुपमा केही बोलेको छैन । तर, आफ्ना उत्पादनमा खराबी रहेको मौन स्वीकार गरेको काल्सवर्ग समूहले सरकारलाई तिर्नुपर्ने ९० करोड बढी अन्तशुल्क भने नतिर्ने उदेश्य राखेको आन्तरिक राजस्व विभागको निष्कर्ष छ ।

गोर्खा ब्रुअरीमा काल्सवर्ग समूहको ९० प्रतिशत र खेतान समूहको १० प्रतिशत स्वामित्व रहेको छ । खेतान समूहबाट सञ्चालक प्रेमप्रकाश खेतान छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved