एक दर्जन लघुवित्त जो बनिरहेका छन् नेता र नियुक्तिको लागि दुहुनो गाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2024 | 09:29:45 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्तलाई सांसद र सरकारी नियुक्तिको तयारी थलो बनाउँदा आर्थिक अनियमितता बढेको पाइएको छ। सांसद र सरकारी नियुक्ति नपाउँदा लघुवित्तमा सीइओ र संचालक पदमा बस्ने प्रवृत्तिले पछिल्लो समय आर्थिक अनियमितता बढ्न थालेको हो। 

कार्यकारी पदमा बसेर सांसद र सरकारी नियुक्तिको तयारीमा लाग्ने अभ्यासले लघुवित्त एकातर्फ प्रमुख कार्यकारीबिहिन जस्तै बनेको छ भने अर्कोतर्फ 'लुटको धन फुपुको श्राद्द' भनेझै बनेको छ। सांसद बन्नको लागि स्थानीय जनतादेखि माथिल्लो निकायका नेताहरुलाई मनाउनलाई विभिन्न तरिकाले लघुवित्तको प्रयोग हुँदै आएको छ। कसैले लघुवित्तको बजेट र स्रोतको दुरुपयोग गर्ने गरेका छन् भने केहिले टाउकेहरुको निकटकालाई संचालक नै बनाएर लघुवित्तको दोहन गर्ने गरेका छन्। 

आफु सांसद बन्न वा सरकारी नियुक्ति पाउनलाई लघुवित्तको बजेट र स्रोत दुरुपयोग गर्ने प्रवृत्तिले पछिल्ला समय यस्ता लघुवित्तमा संचालन र बैठक भत्ता बापत ठूलो रकम खर्च हुने गरेको छ। जसको प्रत्यक्ष असर लघुवित्तबाट ऋण लिएर लगानी गर्ने तथा लघुवित्तमा निक्षेप संकलन गर्ने सदस्यमाथि परेको  छ। 

विशेषगरि विगतमा फिन्गोको रुपमा संचालनमा रहेका लघुवित्तमा यस्तो समस्या अत्यधिक रहेको पछिल्लो अध्ययनले देखाएको छ भने नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको प्रतिवेदनमा पनि यो बिषय स्पष्ट रुपमा उल्लेख गरिएको छ। यसरी लघुवित्तको रकम र स्रोत दोहन बढी हुनेमा दुई दर्जन बढी लघुवित्त रहेका छन्। 

साझा प्रकाशनबाट विवादित बनेर निस्किएका डोलेन्द्र प्रसाद शर्मा अहिले सिवाईसी लघुवित्तका संचालक भएपनि यस अगाडी दुई कार्यकाल प्रबन्ध निर्देशक बनिसकेका छन्। शर्माले खाद्य संस्थान, नेपाल आयल निगम र नेपाल दुरसंचार प्राधिकरण प्रमुखको लागि दिएको आबेदन सफल नभएपछि अहिले फेरि उनी तेस्रो कार्यकालको लागि प्रबन्ध निर्देशक बन्ने तयारीमा छन्। तर राजनीतिक दलका नेताहरुलाई मनाउनलाई उनले माघ २९ गतेको बार्षिक साधारणसभा पश्चात बनेको संचालक समिति त्यहि अनुसार तयारी गरेका छन्। शर्मामाथि भविष्यमा सरकारी नियुक्तिको लागि माहोल बनाउनलाई पछिल्लो संचालक समितिमा विभिन्न राजनीतिक ब्याकराउण्डका मान्छे राखेको आरोप छ। 

यस्तो अवस्था सिवाईसी लघुवित्तमा मात्रै नभई अन्य दुई दर्जन बढी लघुवित्तमा पनि यस्तै अवस्था रहेको जानकार बताउछन्। युनिक लघुवित्तका अहिलेका सीइओ डा.गोपाल दहित यसअगाडी यहि संस्थामा प्रबन्ध निर्देशक थिए। नेपाल राष्ट्र बैंकको निर्देशनपश्चात संचालकबाट राजिनामा दिएर सीइओ रोजेका दहित नेपाली कांग्रेसबाट सांसद भएका व्यक्ति हुन्। पहिलो चुनावमा हारेपछि युनिक लघुवित्त फर्किएका उनि दोस्रो चुनाव जितेर सांसद भएका हुन्। तेस्रो पटकको चुनावमा सांसदमा पराजित भएपछि उनि फेरि लघुवित्तमा सीइओको रुपमा फर्केका हुन्। 

त्यस्तै नेष्डो समृद्द लघुवित्तका सीइओ विश्व प्रकाश प्रसाई हाल कम्पनीका सीईओ छन् । एकै व्यक्ति संचालक र प्रमुख कार्यकारी अर्थात प्रबन्ध निर्देशक हुन् नपाउने राष्ट्र बैंकको निर्देशन पश्चात प्रबन्ध निर्देशक छाडेर उनले सीइओ रोजेका हुन्। तर संचालक भएको ६ महिना नपुग्दै सीइओ हुन नपाउने कानुनी व्यवस्थाका कारण हटाइएका थिए। नातामा भतिज पर्नेलाई अहिले सीइओको जिम्मेवारी दिएका उनी नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको सचिव हुन्। 

अन्तराष्ट्रिय संघ संस्थामा लामो समय काम गरेर लघुवित्तमा प्रवेश गरेका बसन्त लम्साल पनि नेपाली कांग्रेसको राजनीति गर्ने गरेको बताइन्छ तर अरु झैँ उनी खुलेर कुनै पनि दलको झण्डा बोकेर हिंडेको भने पाइदैन। विजय लघुवित्त वित्तीय संस्थामा सीइओको जिम्मेवारीमा रहेका लम्साल छोटो समयमै लघुवित्त क्षेत्रमा आफ्नो अलग्गै स्थान बनाएर लघुवित्तका सीइओहरुको संस्था नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत भएका व्यक्ति हुन। लम्सालमाथि पनि भविष्यमा राजनीतिमा लाग्नका लागि बिजय लघुवित्तलाई प्रयोग गर्ने गरेको आरोप छ। 

फरवार्ड लघुवित्तको अध्यक्ष रहेकी भगवती चौधरीको लागि पनि लघुवित्त तयारीथलो बनेको छ। चौधरीमाथि पनि चुनाव जिते सांसद बन्ने नभए लघुवित्तको अध्यक्ष बनेर लघुवित्तलाई प्रयोग गर्ने गरेको आरोप छ। मन्त्री समेत बनिसकेकी भगवती चौधरी अहिले पछिल्लो चुनावमा सुनसरी क्षेत्र नं. ३ मा प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई हराएर सांसद बनेकी हुन। 

जीवन बिकास लघुवित्तको अध्यक्ष रहेका योगेन्द्र मण्डल अहिलेको चुनावमा स्वतन्त्र सांसदबाट जितेका व्यक्ति हुन् । नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारको रुपमा उठेर उनले मोरङबाट चुनाव जितेका हुन। यिनका लागि पनि जीवन बिकास लघुवित्त अन्त केहि नहुँदा अध्यक्ष बन्ने थलो हो। 

चौतारी लघुवित्तका अध्यक्षमा जगत पोख्रेल रहेका छन्। उनका लागि पनि लघुवित्त अन्त नहुँदा बस्ने थलोको रुपमा रहेको छ। नेकपा माओवादीबाट  बुटवल उपमहानगर पालिकामा उप मेयरको चुनाव हारेपछि पोख्रेल पुन चौतारी लघुवित्तमा अध्यक्षको रुपमा फर्किएका हुन। उनी लघुवित्तका संचालकहरुको  संस्था  लघुवित्त  संघ नेपालका अध्यक्ष समेत हुन। पछिल्लो समय हाइड्रोपावर तथा लघु बीमामा पनि पोख्रेल सक्रिय छन्। 

अभियान लघुवित्तका अध्यक्षमा बाबुराम थापा छन्। नेकपा एमालेको जनबर्गिय संगठन अखिल नेपाल किसान महासंघका उपमहासचिव तथा संगठन किसान संघका प्रमुख हुन थापा। उनीमाथि पनि लघुवित्तको अध्यक्षमा रहेर पुर्वतिर एमालेको राजनीति गरेको आरोप छ। 

सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका संचालक अनन्त कुमार श्रेष्ठ तत्कालिन सुर्योदय लघुवित्तका अध्यक्ष हुन् । पछिल्लो चुनावमा नेकपा एमालेबाट टिकट नपाएकाले चुनाव नलडेका श्रेष्ठमाथि पनि लघुवित्तको संचालकको जिम्मेवारीमा रहेर अहिले पनि जिल्लामा राजनीति गर्ने गरेको आरोप छ। 

नेपाल राष्ट्र बैंकबाट रिटायर्ड भएर साधना लघुवित्तको अध्यक्ष बनेका कृष्ण थापामाथि पनि लघुवित्तको अध्यक्ष पदमा रहेर नेकपा माओवादीको राजनीति गरेको आरोप छ।  त्यस्तै धौलागिरि लघुवित्तका अध्यक्ष इश्वरलाल भण्डारी, मिर्मिरे लघुवित्तका निमित्त सीइओ मिनबहादुर बोहरा लगायत अन्यों कयौं व्यक्तिहरुमाथि पनि लघुवित्तलाई सांसद वा सरकारी नियुक्तिको सिंढी बनाएको आरोप छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved