करिब ५ हप्ता निरन्तर उकालो लागेको सुनको भाउ एकाएक सस्तिन थालेको छ । नेपाल सुनचाँदी
व्यवसायी महासंघका अनुसार यो ३५ दिनको अवधिमा सुनले ३ पटक नयाँ रेकर्ड कायम गरेको छ
। पछिल्लो नयाँ रेकर्ड (हालसम्मकै उच्च भाउ) ७३ हजार ५ सय पुग्यो । तर गत बुधबारदेखि
सुनको भाउ घट्न सुरु भएको छ । तोलाको ७३ हजार ५ सय पुगेको छापावाला सुन आज आइतबार प्रतितोला
७१ हजार ५ सयमा झरेको छ ।
अमेरिकी डलरको एक्सेन्ज रेट कम भएका कारण अहिले सुनको भाउ घटेको व्यवसायीहरु बताउँछन्
। अन्तराष्ट्रिय बजारमा तत्काल सुनको भाउ घट्ने लक्षण भने नभएको नेपाल सुनचाँदी व्यवसायी
महासंघका उपाध्यक्ष दियश शाक्यले बताए । यसअघि सुनको भाउ उच्च दरमा पुग्नुमा अमेरिका
र चीनबीचको व्यापार युद्ध, अमेरिका र इरानबीचको
आणविक तनाब, कोरिया र अमेरिकाबीचको विवाद
मुख्य कारण थिए । अहिले यी विवाद मिलिसकेको अवस्था छैन । ‘यसअघि सुनको भाउ जे कारणले बढेको हो, ती कुनै कारण सल्टिएका छैनन’ शाक्यले भने, ‘त्यसैले नेपालमा मात्रै
केही कम हो, अन्तराष्ट्रिय बजारमा घट्ने
संकेत छैन ।’
अहिले केही साना लगानीकर्ताले आफूले सञ्चित गरेको सुन बजारमा ल्याउन थालेको हुनसक्ने
व्यवसायीले अनुमान गरेका छन् । ठूला लगानीकर्ता धैर्य गर्न सक्ने भएपनि साना लगानीकर्ता
भने धैर्य गर्न नसक्ने हुन्छन् । त्यसकारण करिब ३ महिनादेखि उकालो लागेको सुनको भाउ
केही मात्रै कम भएको व्यवसायीको बुझाई छ ।
नेपालका व्यवसायीले प्रतिदिन २० किलोग्राम सुन पाउँछन् । यसको हिसाबमा वार्षिक
करिब ७ हजार किलो सुनको कारोबार नेपालमा हुन्छ ।
गतवर्षहरुमा साउन १५ देखि तीजसम्म सबैभन्दा धेरै सुन किनबेचन हुन्थ्यो । तर यसवर्ष
यो अवधिमा सुनको व्यापार शुन्य प्राय रह्यो । नेपाली बजारमा व्यापारको सिजनमा दैनिक
६० किलोग्राम सुन खपत हुँदै आएको थियो । महिलाहरुको चाड तीज, दशै तिहार, मंसिरदेखि फाल्गुन
र बैशादेखि असारसम्मको अवधिलाई सुनको व्यापार हुने मुख्य सिजनका रुपमा लिइन्छ । तर
यसवर्षको तीजका अवधिमा करिब १५ किलोग्राम मात्रै खपत भएको महासंघको अनुमान छ । अन्य
समयमा अफ सिजनमा समेत दैनिक ३० किलोग्रामको माग हुने भएपनि यसवर्ष भने सिजनमा पनि माग
निकै कम भएको हो ।
सुन चाँदीको भाउ नेपालीहरुको क्रयशक्ति भन्दा धेरै बाहिर गएकाले चाहाना हुनेले पनि किन्न नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुमान छ । सामान्यतया नेपालमा सुन खरिद गर्ने ग्राहकले भाउ केही समय स्थिर भएपछि मात्रै खरिद गर्छन् । तर सिजनको बेलामा दैनिकजसो मूल्य उच्च हुँदै गएपछि खरिदकर्ता अताल्लिएको उनीहरुको बुझाई छ । अहिले दशैँका लागि नै भनेर सुन किनबेच सुरु भइनसकेकोले अहिले माग कम भएको समयमा मूल्य घट्दा व्यापार सन्तोषजनक नरहेको महासंघले जनाएको छ ।