दैनिक १० हजार बोतल स्यानिटाइजर उत्पादन गर्दै औषधि लिमिटेड

रासस

रासस

Apr 22, 2020 | 07:34:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल औषधि लिमिटेडले दैनिक १० हजार बोतल ‘ह्याण्ड स्यानिटाइजर’ उत्पादन गरिरहेको जनाएको छ । नेपालमा लकडाउनको अवस्थामा चरम अभाव रहेको स्यानिटाइजरको सहजताका लागि लिमिटेडले गत चैत २ गतेदेखि उत्पादन थालेको हो।

औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजय रत्न बज्राचार्यले कोभिड–१९ का लागि चाहिने अत्यावश्यक हयाण्ड स्यानिटाइजर उत्पादन गरिरहेको जानकारी दिए। उनका अनुसार अहिले विभागले दैनिक आठदेखि १० हजार ह्याण्ड स्यानिटाइजर उत्पादन गरिरहेको छ भने पाँचदेखि छ हजार बिक्री वितरण भइरहेको छ। विभागले १०० एमएल बोलतको स्यानिटाइजर उत्पादन गरिरहेको हो।

लिमिटेडसँग दैनिक २० हजार उत्पादन गर्ने क्षमता छ । तथापि कच्चा पदार्थ र जनशक्तिको अभावले आवश्यक मात्रामा उत्पादन गर्न सकेको छैन । 

सिटामोल र जीवनजल उत्पादन गर्दै आएको लिमिटेडले लकडाउनको अवस्थामा बजारको अभावलाई पूर्ति गर्न स्यानिटाइजर उत्पादन थालेको हो। उत्पादित स्यानिटाइजर बजारमा राम्रोसँग बिक्री वितरण भइरहेको छ।

विशेषगरी सरकारी कार्यालय, विभिन्न निकाय विभागले उत्पादन गरेको स्यानिटाइजर उपभोग गरिरहेका छन्। धेरै कार्यालय तथा निकाय विभागकै बिक्री वितरणकक्षमा आएर आवश्यक स्यानिटाइजर लैजाने गरेका छन् भने कतिपय औषधि खरिदकर्ताले विभागबाट खरिद गरेर बिक्री वितरण गरिरहेको विभागले उल्लेख गरेको छ।

“हामीले कति स्यानिटाइजर कति उत्पादन गर्ने भन्ने बजारले निर्धारण गर्छ । हामीसँग अहिले १०० एमएलका २० हजार बोतल उत्पादन गर्ने क्षमता छ । करिब छ हजार बोतल बिक्री वितरणका लागि आठदेखि १० हजार बोतल फिलिङ गरिरहेका छौँ”, निमित्त महाप्रबन्धक बज्राचार्यले भने।

लकडाउनका कारण स्यानिटाइजर उत्पादन तथा उपभोगमा समस्या । कच्चा पदार्थको अभाव छ । वीरगञ्जबाट ल्याइने अल्कोहल ढुवानी गर्न समस्या छ । बोतल उत्पादन गर्ने उद्योग सबै बन्द छन् । लेवलका लागि प्रेस बन्द छन् । विभागको विशेष आग्रहमा अलिअलि सञ्चालन गरेर सहयोग गरिरहेका छन्।

औषधि लिमिटेडले पहिला थोक बिक्रेतालाई मात्रै बिक्री गर्दै आए पनि अहिले विषम परिस्थिति भएकाले कार्यालय आउने जो–कोहीलाई आवश्यक स्यानिटाइजर होलसेल मूल्य प्रतिबोतल १५० मा उपलब्ध गराइने गरेको जनाएको छ। लिमिटेडले अहिले स्टकको स्यानिटाइजर बिक्री गरिरहेको र अर्को चरणको उत्पादनमा मूल्य घटाइने जनाएको छ।

लिमिटेडबाट उत्पादन भएका स्यानिटाइजर बजारमा पाइने अन्यभन्दा गुणस्तरयुक्त रहेको दावी गरिँदै आएको छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुप उत्पादन गरिएको स्यानिटाइजर ८० प्रतिशत अल्कोहल हुन्छ। बजारमा ६० देखि ७० प्रतिशत मात्रै अल्कोहल भएको स्यानिटाइजर पाइने विभागको दाबी छ। कोभिड–१९ को भाइरस मात्र ७० देखि प्रतिशत अल्कोहल चाहिने बताइन्छ।

लिमिटेडले अत्यावश्यक एकतिहाइ कर्मचारीको व्यवस्था गरी बिहान ६ देखि बेलुका ८ बजेसम्म ‘फ्याक्ट्री’ चलाएर स्यानिटाइजरलगायत उत्पादन गरिरहेको छ । झण्डै १०० कर्मचारीमध्ये अहिले ३० ले काम गरिरहेका छन्। महत्वपूर्ण सरकारी कार्यालय, मन्त्रालय, राष्ट्रपति कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, बैंक, वित्तीय संस्था तथा विभिन्न सङ्घसंस्थालगायतले लिमिटेडको स्यानिटाइजर प्रयोग भइरहेको छ।

धेरैजसोले कार्यालयमै आएर सामग्री लैजाने गरेका छन्। औषधि लिमिटेडको उत्पादन बिक्रीका लागि ७७० थोक बिक्रेता कम्पनी छन्। उत्पादन पर्याप्त रहेको र बजार पनि राम्रो भइरहेको विभागले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved