गंगालाल अस्पतालमा अक्सिजन उत्पादन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 12:02:44 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गरेका छन् । महानगरले उपलब्ध गराएको २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आजैदेखि अक्सिजन उत्पादन सुरु भएको छ । 

४७ लिटरका १३५ सिलिण्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ । यसमध्ये गंगालालमा दैनिक करीब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । यो (अक्सिजन भर्ने) प्रणाली जडान हुन बाँकी छ । 

प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, १ हजार लिटर क्षमताको एअर ट््याङ्क, २ वटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् । 

प्लान्ट शुभारम्भपछि प्रमुख शाक्यले, गंगालालमा महानगरले अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्याधिक माग नभएको स्मरण गर्दै त्यसबेला गरेको निर्णयबाट अहिलेको महामारी व्यवस्थापनमा लाभ भएको उल्लेख गरे । 

‘गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल गरी २ वटा अस्पतालमा हामी अक्सिजन प्लान्ट गर्दैछौँ । दुई ठाउँबाट दैनिक करीब २ सय सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । अबको केही दिनमा कान्तिको प्लान्ट पनि सुरु हुन्छ । यसपछि यी दुई अस्पतालमा दैनिक आवश्यक पर्ने करीव २ सय सिलिण्डर अक्सिजन अन्यत्र पठाउन सकिन्छ । यसबाट कोविडका विरामीमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरेको छु’ प्रमुख शाक्यले भन्नुभयो, ‘घरमा बस्दा सर्जिकल मास्क भए पुग्छ । अस्पतालमा पुगेपछि अक्सिजनको मास्क चाहिन्छ । त्यसैले सबैभन्दा राम्रो त घरमा बसेर संक्रमणको चक्र तोड्नु नै बुद्धिमानी हुन्छ । तर, कुनै कारणले अस्पताल आउँदा अक्सिजन नपाएर विचल्ली नहोस् भनेर हामीले काम गरिरहेका छौँ ।’

अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले गंगालालले विरामीसँग अक्सिजन र भेन्टिलेटरको पैसा नलिजे बताए । 

केन्द्रमा प्लान्ट अनामिभले जडान गरेको हो । अनामिभका इञ्जिनियर बिजन अर्यालकाअनुसार प्लान्टको ५ बर्षे वारेन्टी छ । त्यसपछिको ३ बर्षसम्म यसमा केही भए अनामिभले निःशुल्क मर्मत गर्नेछ । 

मुटुको समस्या भएर गंगालाल हृदय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो । यसका लागि महानगर र केन्द्रबीच २०७६ माघ १५ गते सहिद सप्ताहका कार्यक्रम पारेर सहमति पत्रमा हस्ताक्षर भएको थियो । केन्द्रको २४ औं स्थापना दिवस तथा सहिद सप्ताहको कार्यक्रम पारेर महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए । यसका लागि महानगरले ३ करोड रुपैयाँ छुट््याएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved