नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार याक एण्ड यति होटेलमा पत्रकार सम्मलेन गरी उनले वरिष्ठ उपाध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् । यस अघि उनले गृह जिल्ला बागलुङमा भएको एक महोत्सवमा अनौपचरिक रुपमा उम्मेद्वारी घोषणा गरेका थिए।
आफू महासंघको उपाध्यक्ष र उद्यमीका रुपमा विभिन्न ठाउँमा पुग्दा व्यवसायी साथीहरुले महासंघको नेतृत्वमा आउन आग्रह गरेकोले उम्मेदवारी घोषणा गरेको उनले बनाए ।
ढकाल हाल महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति छन् । महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरेका उनी आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक समेत हुन् । कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी छ ।
ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुन् । उनी लगानी बोर्डका आमन्त्रित सदस्यसहित हाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत समेत हुन् ।