अर्थमन्त्रीका कारण मोरङमा सञ्चालित उद्योगका १ हजार मजदूरले ‘रोजगारी’ गुमाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2022 | 12:54:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माका कारण मजदूरको मजदूरी खोसिन सुरु भएको छ । आज असार २२ गते बुधबारसम्म मात्रै पूर्वका उद्योगमा मजदूरी गर्ने १ हजार जनाले काम गुमाईसकेका छन् ।

जेठ १५ गते ल्याएको बजेटले एमएस वायर उद्योगहरु बन्द हुने अवस्थामा पुगेपछि रडमा आधारित यस्ता उद्योगले मजदूर र कर्मचारी हटाउन थालेका हुन् । मोरङका ५ वटा यस्ता उद्योगले श्रम कानुन अनुसार ‘कन्ट्रयाक्ट’मा राखेका ६ सय बढी कर्मचारी कटौती गरेका छन् ।

यस्ता उद्योगहरुले ३० दिनको म्याद राखेर अरु कर्मचारीहरुलाई पनि पत्र थमाईसकेका छन् । २ दिनको लागि मात्रै पुग्ने कच्चा पदार्थ रहेको र त्यसपछि कच्चा पदार्थ ल्याएर उत्पादन गराउन सक्ने अवस्था नरहेको भन्दै आफूहरुले ३० दिनको अवधि राखेर श्रम कानुन अनुसार कर्मचारीहरुलाई पत्र दिएको उद्योगी अनिल शारडाले बताए ।

शारडा समूहद्वारा सञ्चालित पायनियर वायर्सले जीआई वायरतर्फ काम गर्ने सबै कर्मचारी हटाउने प्रक्रिया सुरु गरिसकेको छ ।

‘९० जनालाई बिदा गरिसक्यौँ, केहीँ गरेपनि अर्थमन्त्री सुध्रिने अवस्था रहेन, त्यसैले अब हामी कच्चा पदार्थ ल्याएर काम गर्ने अवस्था रहेन, त्यहीँ भएर बाँकी ८४ जना मजदुर र २८ जना कर्मचारी पनि हटाउनुपर्ने बाध्यता पर्यो, त्यसैका लागि सूचना निकालेका हौँ’ उद्योगी शारडाले भने ।

यसलाई उद्योगले बाध्यात्मक अवकाश भनेको छ ।

कुन उद्योगले कति कर्मचारी हटाउँदैछन् ?

अर्थमन्त्री शर्माले जीआई वायरको कच्चा पदार्थमा १० प्रतिशत भन्सार र प्रति मेट्रिक टन ४५ सय अन्तःशुल्क लगाएका छन् । भारतले पनि यस्तो कच्चा पदार्थ निर्यातमा गत मे २० बाट १५ प्रतिशत कर लगाएको छ । 

तर, अर्थमन्त्री शर्माले तयारी बस्तु करिब १७ प्रतिशत कर तिर्दा आईपुग्ने र नेपालमै उत्पादन गर्न कच्चा पदार्थको आयातमै समग्रमा २९.५ प्रतिशत कर लगाउने नीति लिएपछि जीआई वायर उद्योगहरु बन्द हुने बाटोमा छन् । 

तर एमएस वायरबाट उत्पादन गरिने तयारी जिआई वायरको आयात गर्दा साफ्टा सम्झौताअन्तर्गत नेपालमा ६ प्रतिशत भन्सार र प्रतिकिलो १० रुपैयाँ अन्तःशुल्क तिरे पुग्छ । 

यसैकारण ठूलो ब्यापारिक घराना विशाल ग्रुपले सञ्चालन गरिरहेको कमला स्टीलले आगामी शुक्रबारसम्म २ सय जना मजदुर हटाउँदैछ । 

प्रिमियर वायरका सञ्चालक पवन शारडाका अनुसार उनको उद्योगले पनि कन्ट्रयाक्टका २ सय जना मजदुर कटौती गरिसकेको छ । 

हुलास वायरकी सञ्चालिका युक्ति गोल्छाका अनुसार केही दिन काम गर्न पुग्ने कच्चा पदार्थ बाँकी रहेकाले त्यो सकिनासाथ यहीँ हप्ताभित्र कम्तीमा १५० जनाले मजदूरले रोजगारी गुमाउँदै छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved