‘हरा पत्ता’ र 'हरी पाती'को ट्रेडमार्क विवादमा के गर्ला उद्योग विभाग ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 07:44:32 PM मा प्रकाशित

laxmi  sunrise bank

कतिपय अबस्थामा दुई फरक एकै प्रकृतिका उद्योगलाई समान ट्रेडमार्क दर्ता गराइका घटनाहरु सार्वजनिक हुने गरेका छन् । यस्ता घटनाले दुई उद्योगबीच विवाद पनि हुँदै आएको छ । कोकाकोलाले त क्लबकोलाविरुद्ध मुद्दा नै हालेको छ । 

यस्तै घटना रुपन्देही र कैलालीका दुई उद्योग बीच पनि देखिएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–१, चैनपुरमा रहेको न्यू घडी सर्फ उद्योग र कैलालीको जानुका एण्ड सन इन्डष्ट्रिज प्रालिको  ट्रेडमार्क मिलेको भन्दै उनीहरुबीच विवाद उत्पन्न भएको हो । यद्यपि उद्योग विभागमा बुझ्दा न्यू घडीको ट्रेडमार्क ‘हरा पत्ता’ दर्ता भए पनि जानुका एण्ड सनको ट्रेडमार्क ‘हरी–पाती’को दर्ता भने प्रक्रिया मै रहेको पाइएको छ । 

जानुका एण्ड सनले ट्रेडमार्क प्राप्त  नगर्दै सामान उत्पादन गरेर बजारमा लगेको भेटिएपछि विवाद सतहमा आएको हो । न्यू घडी सर्फले २० वर्षदेखि ‘हरा पत्ता’ नाममा सरफ उत्पादन गर्दै आएको सञ्चालक कानुले बताए । तर, जानुका एण्ड सनले ट्रेडमार्क कपी गरेर ‘हरी–पाती’ नामक सरफ उत्पादन गरिरहेको कानुको दावी छ ।   

 जानुका एण्ड सन इन्डष्ट्रिज प्रालिले आफ्नो उद्योगको ट्रेडमार्क नक्कल गरेको न्यू घडी सर्फ उद्योगका सञ्चालक पशुपतिप्रसाद कानुको आरोप छ । उनले ट्रेडमार्क नक्कल गरी र ब्याच नम्बर नराखी एकै प्रकृतिको सामाग्री बेचेको भन्दै कैलालीको लम्कीमा रहेको जानुका एण्ड सन इन्डष्ट्रिज प्रालि विरुद्ध जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा उजुरी दर्ता गरेको जानकारी दिए ।  

कानुले उद्योग न्यू घडी सर्फ २०६० सालमा उद्योग विभागमा दर्ता भइ ट्रेडमार्क लिएर सञ्चालनमा ल्याएको बताए । तर, कैलालीको लम्कीमा रहेको जानुका एण्ड सनले न्यू सर्फको ट्रेडमार्कको दुरुस्त नक्कल गरी सरफ उत्पादन गरेको भन्दै उजुरी दिएका हुन् ।

‘मैले सबै कानूनी प्रक्रिया पूरा गरेर विगत २० वर्षदेखि उद्योग सञ्चालन गर्दै आएको छु’, न्यू घडी सर्फका सञ्चालक कानुले भने, ‘तर, कैलालीको जानुका एण्ड सनले ट्रेडमार्क नक्कल गरेर बजार भरी आफ्नो उत्पादन बिक्री गरिरहेको छ । यस विरुद्ध म उद्योग विभागमा पनि मुद्दा हाल्न जाने तयारीमा छु ।’ 

कानुनतः यसरी नक्कल गर्नु गलत हुन्छ । नक्कल गरेको प्रमाणित भए विभागले उत्पादन रोकेर त्यसबाट क्षतिपूर्ति भराउन सक्छ । न्यू घडी सर्फले २० वर्षदेखि ‘हरा पत्ता’ नाममा सरफ उत्पादन गर्दै आएको सञ्चालक कानुले बताए । तर, जानुका एण्ड सनले ट्रेडमार्क कपी गरेर ‘हरी–पाती’ नामक सरफ उत्पादन गरिरहेको कानुको दावी छ ।   

उता ट्रेडमार्क नक्कल गरेको आरोप लागेको जानुका एण्ड सनको उत्पादन हरी–पातीका सञ्चालक सञ्जय बुढाथोकीले आफूहरुले उद्योग विभागबाट प्रमाणपत्र लिएर नै उत्पादन सुरु गरेको दावी गरे । उनले उद्योग विभागमा प्रक्रिया पुर्याएर नै उद्योग सञ्चालनमा ल्याएको र ट्रेडमार्क कपिराइट भए नभएको जाँच यकिन गर्ने निकायबाट नै आएकाले आफू निर्धक्क भएको बताए  । 

 ‘उद्योग विभागमा दर्ता नभएको भए डराउन  हुन्थ्यो, गल्ती केही गरेको छैन, ससाना कमजोरी भए होलान् यसलाई सुधार्छौं’, उनले भने, ‘ट्रेडमार्कको बारेमा भने अनुमति लिएका छौं ।’

उद्योग विभागले भन्यो, 'बुलेटिन नै जारी गर्न बाँकी छ, दावी/विरोध गर्न सकिन्छ' 

यस विषयमा उद्योग विभागले भने ‘हरी–पाती’ नामक ट्रेडमार्कको सर्टिफिकेट नै जारी भइनसकेकाले बुलेटिनमा प्रकाशित हुँदा यसबारे दावी विरोधको समय रहने बताएको छ । 

ट्रेडमार्क शाखाकी शाखा अधिकृत कमला घिमिरेले ‘हरा पत्ता’को ट्रेडमार्क दर्ता प्रमाणपत्र नै जारी भएर गइसकेको देखिएको र ‘हरी–पाती’को हकमा बुलेटिनमा प्रकाशित हुनै अझै २ महिना लाग्ने भएकाले त्यतिबेला ‘नक्कल गरेको’ भनेर दावी गर्ने समय हुने बताइन् ।

‘हामीले हरेक महिना एक,एक हजार लटमा बुलेटिनमा निकाल्छौँ, कुनै नाम र रङ्को ट्रेडमार्क दिन हुने की नहुने, कसैको दावी छ की भनेर ३ महिनाको समय दिएर बुलेटिन प्रकाशित हुन्छ’, उनले भनिन्, ‘अहिले बल्ल ९९ हजारमा परेकाहरुको लटका लागि बुलेटिन प्रकाशनको तयारी भइरहेको छ, हरी पाती १ लाख २ हजारको लटमा रहेछ, यो समावेश भएर २ महिनापछि बुलेटिन प्रकाशित हुन्छ । चित्त नबुझेको भए त्यतिबेला दावी, विरोध हाल्न सकियो ।’

विभागले अध्ययन र अनुसन्धान गरेरै काम गर्ने गरेको हुनाले ठ्याक्कै नाम र ब्राण्ड नै चोरी हुने अवस्था नरहेको तर, कसैले कुनै नाम र ब्राण्ड आफ्नो जस्तै लाग्यो भने उजुरी गर्ने अधिकार भएको घिमिरे बताउँछिन् ।

‘बुलेटिन प्रकाशित भएपछि ३ महिनासम्म उजुरी दिने समय हुन्छ, उजुरी पर्यो भने महानिर्देशकले अध्यक्षता गर्ने न्यायिक समितिले निर्णय गर्छ, यो निर्णय पनि चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन जान सकिने कानुनी व्यवस्था नै छ’, उनले थपिन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved