गोल्छाले ऋण नतिरेपछि लिलामीमा चढेको श्रीराम सुगर मिल्स सांघाईले किने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 05:33:11 PM मा प्रकाशित

laxmi  sunrise bank

गोल्छा ग्रुप र  विशाल ग्रुपले ऋण नतिरेपछि नेपाल बैंकले लिलामीमा निकालेको श्रीराम सुगर मिल्स लिमिटेड लिलाम भएको छ । श्रीराम सुगर मिल्स सांघाईहरु (रामचन्द्र सांघाई र विरेन्द्र सांघाई ) को त्रिवेणी ग्रुप अन्तर्गतको रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले किनेको हो । रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजमा त्रिवेणी ग्रुपसहित शिवशक्ति ग्रुपको लगानी छ ।

रिलायन्स सुगरले ४३ करोड ६० लाखमा श्रीराम सुगर मिल्स सकारेको हो । 

श्रीराम सुगर मिल्सले ऋण नतिरेपछि नेपाल बैंकले गत जेठ ३२ गते लिलामीको प्रक्रिया सुरु गरेको थियो । बैंकले साउन ४ गतेसम्म लिलाम बढाबढमा बोलपत्र पेश गर्न भनेको थियो । बैंकले न्यूनतम मूल्य ३८ करोड ११ हजार ७५५ रुपैयाँ तोकेर सूचना निकालेको भएपनि रिलायन्स सुगरले ४३ करोड ६० लाख कबोल गरेर सकारेको हो । 

श्रीराम सुगर मिल्समा नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कर्मचारी सञ्चय कोषले १७ करोड रुपैयाँ ऋण लगानी गरेका थिए । ऋणको ब्याजसमेत जोड्दा साँवा र ब्याजसहित अहिले २६ करोड रुपैयाँ पुगेको छ ।

श्रीराम सुगर मिल्समा गोल्छा समूहले साझेदार भित्र्याउने क्रममा विशाल ग्रुपलाई प्रवेश गरायो । उद्योगले १ः३ को अनुपातमा ८९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको माग गरेको भएपनि धितोपत्र बोर्डले स्वीकृति दिएन । त्यसपछि २०४९ साल साउनमा गोल्छा समूहले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन देखि पूर्णरूपमा बन्द हुन पुग्यो । 

श्रीरामले सर्वसाधारण लगानीकर्तामा समेत सेयर जारी गरेको थियो  । उद्योगले चुक्त पूँजीको ९ प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको थियो । नेप्सेमा सूचीकृत श्रीराम सुगर मिल्सको अन्तिम सेयर कारोबार २०७७ साउन १२ गते भएको थियो । यस दिन ४.९७ प्रतिशतले बढेर कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३८ रुपैयाँ थियो ।

३० करोड ४५ लाख ९९ हजार रुपैयाँ चुक्त पूँजी भएको श्रीराम सुगर मिल्सको ३० लाख ४५ हजार ९९० कित्ता सेयर नेप्सेमा सूचीकृत छ । यो मध्ये २ लाख ७४ हजार १३९ कित्ता सेयर सर्वसाधारणको छ । कम्पनीले २०७७ साउन ९ गते नेप्से र नेपाल धितोपत्र  बोर्डलाई कम्पनी बन्द गरेको जानकारी गराएको थियो । 

रौतहट गरुडामा रहेको श्रीराम सुगर मिल्सको नाममा ८० बिगाहा जमिन छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved