कुलमानले बिजुली दिन नसकेपछि नखुल्ने भयो १४ अर्बको सिमेन्ट उद्योग

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 08, 2023 | 12:25:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले बिजुलीको पूर्वाधार नै नबनाइदिँदा कर्णाली प्रदेशमा स्थापना हुन लागेको त्यो प्रदेशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग नखुल्ने भएको छ । उद्योगको फ्याक्ट्री रहने सुर्खेतको पञ्चपुरीस्थित चौकुनासम्म विद्युत पुर्याउने जिम्मा पाएको नेपाल विद्युत प्राधिकरणले २ वर्षसम्म कारखाना स्थलसम्म बिजुली पुर्याउने काम नै सुरु नगरेपछि सिमेन्ट उद्योगले त्यहाँबाट हात झिक्ने मनसाय बनाएको छ । 

आजभन्दा २ वर्ष अगाडि नै लगानी बोर्डले सुर्खेतको पञ्चपुरीमा कारखाना रहने सूर्यतारा सिमेन्ट उद्योगका लागि १४ अर्ब २७ करोड लगानी स्वीकृत गरेको थियो । यसका लागि सरकारले सडकमार्ग र विद्युत पुर्याइदिने सुनिश्चित गरे पनि अहिलेसम्म कुनै काम शुरु नहुँदा सबै काम रोकिएको उद्योगी मुकुन्द तिमिल्सिना बताउँछन् ।

प्राधिकरणले फ्याक्ट्रीसम्म बिजुली पुर्याउने काम नै सुरु गरेन भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि सुर्खेतको बराहतालस्थित उद्योगको खानीसम्म पुग्ने पहुँचमार्ग बनाइदिएन । जसका कारण सूर्यतारा सिमेन्ट उद्योगमा आउन लागेको सवा १४ अर्ब लगानी फिर्ता हुने भएको हो । काम ठप्प भएपछि लगानीकर्ताहरु निरास भएका छन् ।

बिजपाटी सँगको कुराकानीमा उद्योगी तिमिल्सिनाले कसैले असहयोग गरे भनेर आलोचना गर्नुभन्दा पनि देशको नियति नै यस्तै रहेछ भनेर आफूले चित्त बुझाएको बताएका छन् । 

‘रिमोट एरिया’लाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न सकिन्छ भनेर कर्णाली रोजेको तर, पूर्वाधार बनाउने निकायले २ वर्षसम्म काम नगरिदिएपछि अब नहुने देखेर इन्जिनियर र केही कर्मचारीसमेत हटाएर हाललाई प्रक्रिया स्थगित गर्ने मनसाय बनाएको उनले बताए ।

‘दुई वर्ष बित्यो अहिलेसम्म भएन, यो दुइ वर्ष एक हिसाबले दुःख नै पाइयो’, उनले भने, ‘अझै एक वर्ष, दुई वर्ष कति समयमा बनाइदिन्छन्, अब बनिसकेपछि नै सोचौँला । तर, मेरो कोही कसैप्रति आलोचना छैन, हाम्रो देशको नियति नै यस्तै रहेछ भन्ने लागेको छ’ उनले भने ।

सम्झौता गर्न लगानी बोर्ड गएन सूर्यताराको टिम

सूर्यतारा सिमेन्ट उद्योगले लगानी बोर्डबाट लगानी स्वीकृति गराए पनि उद्योग स्थापनाका लागि सम्झौता गरेन । आवश्यक पूर्वाधार नै नबनेकाले आफूहरु लगानी बोर्डसँग समझदारीपत्रमा हस्ताक्षर गर्न तयार नभएको सूर्यताराका एक साझेदारले बताए । 

लगानी बोर्डबाट लगानी स्वीकृति भएपछि उद्योग स्थापना गर्न बोर्ड र उद्योगको सञ्चालक समितिबीच समझदारी पत्रमा हस्ताक्षर गर्नुपर्छ । तर, पूर्वाधार नबनेकाले आफूहरु समझदारीपत्रमा हस्ताक्षर गर्न लगानी बोर्ड नगएको ति सञ्चालकले बताए ।

‘छिमेकी देश चीनमा उद्योग खोल्नेहरुका लागि रातो कार्पेट बिच्छ्याएर स्वागत गरिन्छ, दक्षिण तिरको छिमेकी मुलुक भारतमा पनि यस्तो रिमोट एरियामा उद्योग खोल्छु भन्नेलाई फुलमालाले स्वागत गरिन्छ’ ति सञ्चालकले भने, ‘तर, हाम्रो देशमा २ वर्षसम्म सडकको पहुँचमार्ग पनि बनेन, बिजुलीको लाइन पनि पुगेन । बिना पूर्वाधार उद्योग चलाउन सक्ने कुरा भएन, त्यसैले बोर्डमा अन्तिम सम्झौताका लागि गएनौँ ।’

कति चाहिन्छ बिजुली ?

२०७८ चैत १७ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५०औँ बैठकले सूर्यतारा सिमेन्ट उद्योगका लागि १४ अर्ब २७ करोड लगानी स्वीकृत गरेको थियो । कारखाना र खानीसम्म पुग्ने पहुँचमार्ग र विद्युत आपूर्तिका लागि आवश्यक पूर्वाधार बनाउने जिम्मा सरकारले लिएको थियो । 

कैलाली लम्कीचुहाबाट २६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत विद्युत लैजानुपर्छ । उद्योगलाई २० मेगावाट बिजुली चाहिने भनिएको छ । तर, प्राधिकरणले हालसम्म काम नै सुरु गरेको छैन ।

प्राधिकरण के भन्छ ? 

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने सुर्खेतमा १३२ केभी प्रशारण लाइन नै नभएकाले अहिले सम्भव नरहेको बताएका छन् । सुर्खेतमा जम्मा ३३ केभीको प्रशारण लाइन भएकाले त्यसबाट सम्भव नहुने र १३२ केभीको प्रशारण लाइन निर्माणकै चरणमा हुँदा अहिले सूर्यतारालाई बिजुली दिन नसकिने बताए ।

‘अहिले २० मेगावाट दिन सक्ने अवस्था नै छैन, किनकी सुर्खेतमा जम्मा ३३ केभीको प्रशारण लाइन छ, १३२ केभीको बन्दैछ, त्यसमा पनि निकुञ्ज क्षेत्र परेर आफ्नै समस्या छन्, तर पनि अवरोध हटाएर बनाउने काम भइरहेको छ’, प्रवक्ता भट्टराईले भने, ‘हुँदै नभएको ठाउँमा जानुभएछ, भन्नासाथ हुने कुरा पनि भएन । अब १३२ केभीको डबल सर्किट प्रशारण लाइन बनेपछि मात्रै उहाँहरुले बिजुली पाउनुहुन्छ । यो भन्दा बढी जानकारी चाहिँ सुर्खेतमै बुझ्दा आउला ।’ 

उद्योग चले प्रतिबोरा ७५ देखि १०० रुपैयाँ सस्तो

उद्योगी तिमल्सिनाको टिमका एक सदस्यका अनुसार सुर्खेतको पञ्चपुरीस्थित चौकुनामा कारखाना रहने यो सिमेन्ट उद्योग सञ्चालनमा आउँदा कर्णाली र सुदूरपश्चिमका नागरिक बढी लाभान्वित हुन्थे । एक त रोजगारी बढ्थ्यो भने सिमेन्ट पनि सस्तो पथ्र्यो भन्ने दाबी उनीहरुको छ । 

‘कर्णाली र सुदूरपश्चिममा सिमेन्ट उद्योग छैनन्, अहिले ति क्षेत्रमा दाङबाट सिमेन्ट जान्छ’ ति उद्योगी भन्छन्, ‘दाङबाट लैजाँदा प्रतिबोरा ढुवानी मात्रै ८० देखि १२५ रुपैयाँसम्म पर्छ, तर सुर्खेतमा हाम्रो उद्योगले उत्पादन थालेपछि प्रतिबोरा ८० देखि सय रुपैयाँ सस्तो पर्ने थियो ।’ 

उद्योगीका अनुसार पहुँचमार्ग बन्दा सूर्यतारा सिमेन्ट उद्योगले मात्रै नभई कर्णालीका नागरिकलाई पनि आवतजावतमा सहज हुने थियो । ‘२८ किलोमिटर कच्ची बाटो पैदल हिड्नुपर्छ, तर खानीसम्म पुग्ने ट्रयाक खोल्दा यो १५ किलोमिटरमा छोटिन्छ’ सूर्यताराका एक जना साझेदारले भने, ‘यो त जनतालाई पनि सहज हुने कुरा थियो, एउटा उद्योगका लागि पूर्वाधार बन्दा भोलि अरु उद्योग खुल्ने बाटो पनि सुरु हुन्थ्यो, तर साचेजस्तो भएन ।’

 जग्गामा तारबार लगाएर छाडियो

उद्योग स्थापनाका लागि सूर्यताराका सञ्चालकहरुले ४० विघा जग्गा खरिद गरेका थिए । यो जग्गा अहिले तारबार लगाएर राखिएको छ । ‘४० विघा जग्गा किनियो, अहिले पर्खाल लगाएर राखेका छौँ’ एक सञ्चालकले भने, ‘विभिन्न पार्टी र संगठनका मान्छे आएर बेलाबेलामा दुःख पनि दिए, कोही उद्योगमा मेरा मान्छे राखिदे भन्थे, कोहीले आएर यहाँ उद्योग बनाउन पाउँदैनस् भनेर हामीले लिएको जग्गामा टहरा नै बनाए । बुढेसकालमा दुखै पाउन लेखेको रहेछ ।’

उद्योगमा हुने कुल लगानीमध्ये ८० प्रतिशत बैंक ऋण र २० प्रतिशत संस्थापकहरुको स्वपुँजी हुने भनिएको थियो । उद्योगबाट दैनिक ३ हजार मेट्रिक टन क्लिंकर र ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य थियो ।

यसअघिः

सम्राटबाट बाहिरिएका ‘मुकुन्द’: जसले ‘सूर्यतारा’का लागि १४ अर्ब लगानी स्वीकृत गराए

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved