‘भन्सारमा २ डलरको सामानलाई ४ डलरको मुल्यांकनले हामी मर्कामा पर्यौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 03:52:23 PM मा प्रकाशित

laxmi  sunrise bank

औद्योगिक कच्चा पदार्थका रुपमा आयात हुने वस्तुको मूल्यमा सो वस्तुको वास्तविक मूल्यभन्दा बढी मूल्यको ‘भ्यालुएशन’ गरिँदा उद्योगधन्दा चौपट हुने अवस्था आएको गुनासो सुनिन थालेको छ । सँगै, उत्पादन लागत बढेर जाँदा महँगी पनि आकासिएको व्यवसायीहरुको भनाइ छ ।

‘कस्टम क्यिलिरिङ’मा कच्चा पदार्थको आयातमा कर लिने क्रममा आयातकर्ताले तिरेको मूल्यभन्दा बढी मूल्य देखाइँदा आफूहरु उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको विराटनगरका उद्योगी अरुण राठी गुनासो गर्छन् । उनका अनुसार २ डलरको सामान ल्याउँदा यसको भ्यालुएशन सरकारले ४ डलर तोकिदिएको छ । सँगै, ४ डलर पर्ने सामान २ डलरमा ल्यायो भनेर जरिवाना पनि लगाउने गरिएको राठीको दुःखेसो छ ।

‘२ डलरको सामानलाई ४ डलरको भ्यालुएशन गर्दिएको छ, यसमा १० प्रतिशत ड्युटी लाग्थ्यो भने कम भ्यालुएशन गरायो भनेर थप ५ प्रतिशत पेनाल्टी लगाइन्छ, पेनाल्टीसहित ड्युटी मात्रै १५ प्रतिशत पुग्यो’ राठीले भने, ‘५ प्रतिशत अन्तःशुल्क लाग्थ्यो, अन्तःशुल्कमा पनि थप २.५ प्रतिशत पेनाल्टी गरेर ७.५ प्रतिशत बनाइयो । २ डलरको भन्सार लिनुपर्नेमा भन्सार शुल्क पनि ४ डलरको लियो । यसमा १३ प्रतिशत भ्याट पनि लाग्यो । यसरी एउटा वस्तुको भ्यालुएशन नै बढाएर एक्स्ट्रा १९ प्रतिशत कर लिने गरिएको छ ।’

राठीका अनुसार यसरी भन्सार विभागले नै भ्यालुएशन बढाउँदा एउटा कन्टेनरमा २५ लाख रुपैयाँ थप कर तिर्नुपर्ने बाध्यतामा उद्योगीहरु रहेका छन् ।

‘लाग्नुपर्ने जम्मा १५ लाख हो, थप २५ लाखको बोझले ४० लाख पुग्यो’, राठीले भने, ‘त्यसरी आयात भएको वस्तुको वास्तविक भ्यालुएशन अनुसार कर तिर्दा त्यसबाट बनेको सामान बजारमा १२ रुपैयाँमा पाइन्थ्यो भने अब २० रुपैयाँ पुग्यो ।’

भन्सार विभागले अन्तराष्ट्रिय बजारमा टुक्रा टुक्राको आधारमा देखिने मूल्यलाई हेरेर बढी ‘भ्यालुएशन’ गराउने गरेको उद्योगी राठी बताउँछन् ।

‘हामीले कन्टेरमा सामान ल्याउने हो, तर भन्सार विभागले एउटा एउटा पिसको मूल्यलाई हेरेर बढी भ्यालुएशन गर्दिन थालेपछि हामी मारमा परेका छौँ’ उनले गुनासो गर्दै भने, ‘एकै पटकमा धेरै सामान ल्याउँदा त्यसको मूल्य स्वभाविक रुपमा कम पर्न जान्छ । तर, हाम्रो भन्सार विभागले यो बुझेन ।’

यस विषयमा भन्सार विभागले भने ‘भ्यालुएशन’ समितिले तोकेको मूल्यका आधारमा कर तथा महशुल लिने गरिएकाले बढी मूल्यको भ्यालुएशन गरियो भन्न नमिल्ने बताएको छ । भ्यालुएशन समितिमा भन्सारका अधिकारीहरु मात्रै नभई व्यवसायीहरुको समेत प्रतिनिधित्व हुने भएकाले उनीहरुको समेत रायका आधारमा भ्यालुएशन हुने भएकाले वस्तुको मूल्यभन्दा बढी मूल्यको भ्यालुएशन भयो भन्ने कुरा सत्य नभएको विभागका एक अधिकारीले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved