यसपालीको 'नाडा अटो शो'मा अटोमोबाइल्स इन्डष्ट्रिको सिफ्टिङ हेर्न पाइन्छ (अन्तर्वार्ता)

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 10, 2023 | 11:13:32 AM मा प्रकाशित

laxmi  sunrise bank

१५औँ संस्करणको नाडा अटो शो यहीँ भदौ २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ । कोभिड १९ र त्यसपछि सवारी साधनको आयातमा लागेको प्रतिबन्धका कारण सन् २०१९ यता यसपाली पहिलोपटक अटो शो आयोजना हुन लागेको हो । नाडा अटोमोबाइल्स एसोसियसनले अटो शोले सुस्ताएको अटो व्यवसायलाई राहत प्रदान गर्ने अपेक्षा गरेको छ ।

त्यसो त, सन् २०१९ पछि विश्व बजारमा अटोमोबाइल्स उद्योगमा निकै परिवर्तन भइसकेको छ । विशेषगरी संसारका धेरैजसो देशले इलेक्ट्रिक सवारी साधनलाई प्रोत्साहन गरिरहेका छन्, नेपालमा पनि इलेक्ट्रिक सवारी साधनका उपभोक्ता बढिरहेका छन् । विश्व बजारमा आएका यी र यस्ता नयाँ नयाँ प्रविधि र तिनका उत्पादनहरु यसपाली नाडा अटोमा कत्तिको देख्न पाइएला भन्ने कौतुहलता पनि छ । यसै सेरोफेरोमा रहेर हामीले ‘नाडा अटो शो २०२३’का संयोजक अनुपकुमार बरालसँग कुराकानी गरेका छौँ ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

‘नाडा अटो शो’ नजिएको छ, तयारी पनि अन्तिम चरणमा पुगेको देखिन्छ । खासमा यसपालीको अटो शोमा विशेष के छ ?

सन् २०१९ पछि पहिलो पटक अटो शो हुँदैछ । ३ वर्ष रोकिएर चौथो वर्षमा हुन लागेको शो भएकाले पनि धेरै कुराहरु विशेष नै हुनेछन् । विश्व बजारमा अटोमोबाइल्स उद्योगमा भइरहेका चेन्जेजहरु भित्र्याउने प्रयास गरेका छौँ । यसपाली अटोमोबाइल्स इन्डष्ट्रिको सिफ्टिङ हेर्न पाइन्छ । दुइ पाङ्ग्रे, चार पाङ्ग्रे सवारीहरु अब आईसी इन्जिनबाट इलेक्ट्रिकमा सिफ्ट हुन लागेको हो कि होइन भन्ने कुरा यसपाली देखिने छ ।

इलेक्ट्रिक भेहिकलप्रति मानिसहरुको विश्वास बढ्दै गएको हो कि होइन, अथवा यो ३ वर्षमा विश्व बजारमा अटोमोबाइल्स इन्डष्ट्रिमा कस्ता प्रविधिहरु भित्रिए, यो ३ वर्षमा कस्ता कस्ता सवारीसाधनहरु विश्व बजारमा आए, नेपालमा आए भन्ने कुरा नै यसपालीको विशेष हो । साथै, नयाँ नयाँ ब्राण्डहरु पनि आइरहेका छन् । यसो भएको हुनाले सबै खालका ब्राण्डहरु एकै ठाउँमा हेरेर आफूलाई मन लागेको ब्राण्ड छान्ने अवसर नाडा अटो शोले प्रदान गर्नेछ ।

सँगसँगै, यो ३ वर्षको अवधिमा नेपालमै दुइ पाङ्ग्रे सवारीको एसेम्बल सुरु भयो । नेपालमै एसेम्बल भएका प्रडक्टहरुको क्वालिटी पनि यसपालीको नाडा अटो शोमा हेर्न पाइन्छ । लुब्रिकेन्टस्, टायर, ट्यूब, ब्याट्री, हेलमेट जस्ता अटो कम्पोनेन्टहरु पनि नेपालमै उत्पादन थालेका छन् । यी सबै यसपालीको अटो शोका विशेषता हुन् ।

अटो शोले अटोमोबाइल्स इन्डष्ट्रिको सिफ्टिङ देखाउँछ भन्नुको अर्थ अब इलेक्ट्रिक भेहिकलको बाहुल्यता हुँदैछ भन्ने संकेत हो ?

यो मात्रै होइन । पहिलो चाहिँ ईभीको पनि उपस्थिति राम्रो छ भन्ने नै हो । दोस्रो कुरा, भइरहेका प्रोडक्टहरुले पनि नयाँ विशेषतासहित आउँछन् । यसले उपभोक्तालाई मल्टिपल च्वाइस दिन्छ । भन्नुको अर्थ ईभी पनि छ, आईसी इन्जिनका सवारी पनि छ, दुइ पाङ्ग्रेमा पनि ईभी पनि पाइयो, इन्धनवाला पनि पाइयो । 

उदाहरणका लागि कुनै एक उपभोक्तालाई एउटा ब्राण्ड खुबै मन पर्यो भने उहाँले त्यहीँ ब्राण्ड इलेक्ट्रिक, पेट्रोल र डिजेलबाट चल्ने पाउनुहुन्छ । यो पनि सिफ्ट हो । यस्ता सिफ्टिङ अटो शोमा देख्न पाइन्छ । यसको फाइदा उपभोक्तालाई हुन्छ ।

अटोमोबाइल्स व्यवसाय मन्दीको मारमा परेको छ, बिक्रि घटेको छ, शोरुमहरु बन्द गर्नुपर्ने अवस्था छ भनेर भनिएको अवस्थामा अटो शोले व्यवसायीहरुलाई कसरी राहत देला ?

अहिले सबै क्षेत्र आर्थिक मन्दीको चपेटामा छन् । ठूलो लगानी भएको क्षेत्रका हिसाबमा अटोमोबाइल्स व्यवसायमा यसको ठूलो प्रभाव परेको छ । आर्थिक मन्दी, आयातमा प्रतिबन्ध, महँगो ब्याजदरका कारण अटोमोबाइल्स व्यवसाय धराशायी बनिरहेको अवस्थामा कम्तीमा यो शोले हामीलाई एक किसिमको नयाँ उर्जा र नयाँ आत्मविश्वास जगाउने छ भन्ने विश्वास छ ।

हामी ३ वर्षपछि अटो शो गर्दैछौँ, अहिले अलिअलि व्यवसाय बढेको देखिएको छ । योभन्दा अगाडीका २ वर्षमा त व्यवसाय शून्य नै भयो । बजार भएन भन्दैगर्दा कसको भएन भन्दा चलिरहेका प्रोडक्टहरुको भएन । इलेक्ट्रिक भेहिकलको मुभ राम्रै भयो, ईभीको इन्ट्री हो । यसकारण अब ईभीको प्रोत्साहन सँगै खर्बौ लगानी भएका र लाखौँलाई रोजगारी दिएका अन्य प्रोडक्टको पनि समानान्तर बिक्रि गर्दै जानुपर्छ । ठूलो लगानी भएको छ, त्यो बचाउनुपर्नेछ । ठूलो रोजगारी सिर्जना भएको छ, त्यो पनि जोगाइराख्नुपर्नेछ । 

यो भनिँदैगर्दा, यो २ वर्षको अवधिमा अटो व्यवसायले निकै दुःख पायो । अब क्रमिक रुपमा राम्रो हुँदै जान्छ भन्ने विश्वास छ । बैंकले पनि लगानी गर्न चाहिरहेका छन्, तरलता पनि छ, बैंकर्सहरु एक्साइटेड पनि हुनुहुन्छ । अटोमोबाइल्समा गरेको लगानी भनेको बैंकहरुको सबैभन्दा सुरक्षित लगानी हो, एक प्रतिशत पनि डिफल्ट छैन आजको दिनसम्म । 

यसकारण अटो इन्डष्ट्रिले यत्तिको दुःख भोगिसक्यो, अब त्यो दुःख बिर्सने वातावरण बन्नुपर्छ भन्ने नै हो । अटो शोले यसमा सहयोग पुर्याउँछ भन्ने आशा छ ।

सँगै, अटो शो हाम्रो परम्पराको निरन्तरता पनि हो । कोभिड भयो, त्यो २ वर्ष गर्न सकेनौँ । त्यसपछि आयात रोकियो, त्यतिबेला इभी अटो शो भनेर हामीले सफलतापूर्वक नै सम्पन्न गर्यौ । अहिले हामी १५औँ संस्करणको अटो शो आयोजना गर्दैछौँ ।

यसपालीको अटो शोमा कति उपभोक्ताले भिजिट गर्लान् र कति बराबर कारोबार होला ?

अटो शो अवधिभरमा ७५ हजार अवलोकनकर्ताले भिजिट गर्नुहुन्छ भन्ने छ । कारोबार रकम नै यकिन चाहिँ हुँदैन । किनभने, अटो शोमा आएर कसैले कुनै ब्राण्ड मन पर्यो भने बुकिङ गर्ने हो, त्यो ब्राण्ड त्यहीँबाट बिक्रि हुँदैन । यहाँ बुकिङ भएको ब्राण्ड सेल भएपछि बल्ल कारोबार भन्न पाइयो । त्यसकारण यत्ति नै कारोबार हुन्छ भन्न अहिले नै सकिँदैन ।

तर, अटो शोमा आएर कसैले कुनै ब्राण्ड मन पराएर बुकिङ गर्न सक्छन् । तर, बुकिङलाई नै कारोबार भन्न मिल्दैन । दशैँको बेला भएकाले गाडी र बाइक किन्ने सोच बनाएकाहरुले केही छुट पनि पाउने भएको हुँदा अटो शोबाटै बुकिङ गर्न पनि सक्छन्, अटो शो पर्खेर बस्नेहरु पनि हुनुहुन्छ । यसकारण बेटर कारोबार हुन्छ भन्न सकिन्छ ।

तपाईहरुले विगत वर्षमा हेभी इक्वीपमेन्टका पनि स्टल राख्ने चाहना छ भन्नु भएको थियो, यसपाली पनि सम्भव भएन होइन ?

यसमा २ वटा कुरा छन् । एउटा, ठाउँ साँघुरो भएरै हो । तर, हामीले यसपाली ९ वटा ब्राण्डका कमर्शियल गाडीका स्टल त राखेका छौँ । कमर्सियल गाडी सँगसँगै, हामीले हेभी इक्वीपमेन्टलाई पनि धेरै वर्ष पहिला राखेका पनि थियौँ । पछि ठाउँ अभाव हुने भएपछि राख्न सकेनौँ ।

यसपाली प्रयास गर्ने कि भन्ने थियो । तर, आर्थिक मन्दीले यसरी हिट गर्यो की, अहिले हेभी इक्वीपमेन्टको बिक्रि नै छैन । भौतिक निर्माणको काम राम्रो चल्दा हेभी इक्वीपमेन्टको ब्यापार बढ्ने हो । हेभी इक्वीपमेन्ट किन्ने भनेको निर्माण व्यवसायीहरुले हो, उहाँहरु नै अहिले काम गरेको पैसा नपाएर आन्दोलित हुनुहुन्छ । यो भन्दा ठूलो दुर्भाग्य के हुन्छ ? 

हेभी इक्वीपमेन्टको बजार नै ठप्प छ, किन्नेहरु नै आन्दोलनमा भएपछि बिक्रि हुने कुरा भएन । ढोकै लागेको अवस्था छ । तर, पनि सबै क्षेत्रलाई समेट्ने हाम्रो लक्ष्य कायम छ, यो लक्ष्यमा हामी दृढ छौँ । आज सकिएन, भविष्यमा पक्कै सफल भइएला ।

तपाईहरुले भृकुटीमण्डपको प्रदर्शनी स्थल सानो भयो, ठूलो प्रदर्शनीस्थल बनाउनुपर्यो भनेर हरेक वर्षको अटो शोमा भन्दै आउनु भएको छ । तर, यसपाली पनि भृकुटीमण्डपमै आउनुपर्यो । सरकारले तपाईहरुको कुरा किन सुनेन ?

विकल्प नभएपछि बाध्य हुनु शिवाय अर्को केही हुँदैन, अहिले भएको त्यहीँ हो । काठमाडौँमा प्रदर्शनीस्थल भनेको यहीँ एउटा छ । अन्यत्र कतै खाली ठाउँमा जाउँ न भन्दा आफैँले बनाउनुपर्छ । भृकुटीमण्डपको हल पनि हल मात्रै हो, चुहिने समस्या छ, त्यो पनि आयोजकले नै मर्मत गर्नुपर्छ । 

बाहिर गरौँ , खर्चिलो पनि हुन्छ । दूरी पनि टाढा पर्छ, आफैँले डोम बनाउनुपर्दा सहभागीबाटै त्यो खर्च उठाउनुपर्ने बाध्यता हुन्छ । अटोमोबाइल्स व्यवसायीहरु आफैँ अहिले थला परिरहेको अवस्था छ, यसकारण यसपाली पनि यहीँ केही व्यवस्थित बनाएर गरौँ न भनेर फेरि पनि यहीँ गरियो । अब सरकारले विस्तारै बनाउला, आगामी दिनमा राम्रै होला भन्ने कामना गरौँ ।

ईभी अटो शो हुँदा तपाईले विद्युत प्राधिकरण सय, डेढ सय मिटरको दूरीमा छ, तर हामीले विद्युत पर्याप्त नपाउँदा जेनेरेटर राख्नु परिरहेको छ भन्नुभएको थियो । यसपाली चाहिँ यो समस्या समाधान भयो की, उस्तै छ ?

समाधान भएको छैन, हुँदैन जस्तो पनि लाग्छ । कतिखेर बत्ती जान्छ, सबै बर्बाद हुन्छ भनेर हामीले पूर्वतयारी स्वरुप यहाँको वायरिङ सिस्टममै जेनेरेटर जोड्नु परिरहेको छ । हामीसँग हल नै धेरै वटा छन् । मुख्य हल, मुख्य हलको बाहिरपट्टिको डोम (२ नम्बर हल), माथि साइडको ३ नम्बर हल (ठूलो हल), यो भन्दा उता पट्टिको ४ नम्बर हल र त्यहाँबाट फर्केर आउँदा अर्को एउटा गरी ५ वटा हल छन् । 

हाम्रा १२० वटै स्टलमा नियमित विद्युत आपुर्ति हुनुपर्छ । त्यसकारण हामीले जेनेरेटर ब्याकअप राख्नैपर्छ । १२/१३ वटा ठूला जेनेरेटरको व्यवस्था गरेका छौँ, यी जेनेरेटरबाट इलेक्ट्रिक ब्याकअप दिएका छौँ ।

इभी अटो शो गर्दै थियौँ, तर जेनेरेटरबाट बिजुली निकाल्नु परिरहेको थियो । अहिले पनि अवस्था, परिस्थिति त्यहीँ नै हो ।

अन्तिममा, यसपाली अटो शो हेर्न आउने अवलोकनकर्ताका लागि आउन र जान गाडीको व्यवस्थाको कुरो थियो, त्यो सेवा कसरी दिइन्छ ?

यसपाली ४ पाङ्ग्रे सवारी यहाँ भित्र पार्किङ हुँदैन । उहाँहरुले काठमाडौँ मल, सैनिक कल्याणकारी भवन र पूरानो बसपार्कको काठमाडौँ भ्यू टावरमा आफ्ना सवारी पार्किङ गर्न सक्नुहुन्छ । यी ३ ठाउँमा सवारी पार्किङ गरेपछि नाडाद्वारा निःशुल्क सञ्चालित ३ वटा सटल बसले उहाँहरुलाई भृकुटीमण्डपसम्म ल्याउछन् र शो हेरेर निस्किएपछि फेरि त्यहीँ पुर्याइदिन्छन् । यो निःशुल्क सटल बस सेवा हो । भिजिटर्सलाई ल्याउने र लैजाने कामका लागि हाम्रा ३ वटा बस यो बाटोमा घुमिरहन्छन् ।

सटल बस सेवा अटो शो अवधिभरी हरेक दिन बिहान १०ः३० देखि बेलुका ७ बजेसम्म रहन्छ । यदि, ३ वटा बस नन् स्टप घुमिरहँदा पनि अपुग हुने देखियो भने अरु बस पनि थप्छौँ । यो पनि यसपालीको नयाँ काम हो, यसो गर्दा यहाँ जाम र भिडभाड नहुने विश्वास लिएका छौँ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved