नेपाल एसबिआई मर्चेण्टले अन्तरराष्ट्रिय अनुभव सहितको सेवा दिइरहेको छ (अन्तर्वार्ता)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Dec 03, 2023 | 02:54:30 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थापनाको ८ औ वर्ष पुग्नलाग्दा, नेपालमा अन्तराष्ट्रिय स्तरको सेवा दिई रहेको नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड आफ्नो व्यवसायको गति बढाउने योजनामा रहेको छ ।  सोहि कारण हाल कम्पनीले लेखनाथ पोख्रेललाई प्रबन्ध निर्देशकको जिम्मेवारी सहित मर्चेण्टको व्यवस्थापनमा ल्याएको छ ।

चाटर्ड एकाउन्टेन्ट, पोख्रेलले यस अघि नेपाल एसबिआई बैंकको वित्त, लेखापरिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए  । बैकिङ्ग तथा वित्तीय क्षेत्रमा १० बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका व्यक्तिलाई कम्पनीले प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको छ  ।

उनै नव नियुक्त पोख्रेलसँग बिजपाटी डटकमले कम्पनीको हालको अवस्था, भावी योजना, बजारको अहिलेको अवस्था लगायत विविध समसामयिक विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ नेपाल एसबिआई मर्चेण्ट बैंकिङका  प्रबन्ध निर्देशक लेखनाथ पोख्रेलसँगको कुराकानीको सम्पादित अंश ः

नेपाल एसबिआई मर्चेण्टले अहिले के कस्तो सेवा प्रदान गरिरहेको छ?

नेपाल एसबिआई मर्चेण्ट सन् २०१६ मा नेपाल धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर्सको लाईसेन्स लिएर स्थापना भएको हो । यो नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनीको रुपमा स्थापना भएको हो । हाल हाम्रो चुक्ता पुँजी २० करोड रहेको छ । 

अहिले कम्पनीले मर्चेण्ट बैंकिंङतर्फ डिम्याट खाता तथा मेरो शेयर खाता, निष्कासन तथा बिक्री प्रबन्धक सेवा, शेयर रजिष्ट्रार सेवा र अन्डरराईटिङ सेवा प्रदान गरिरहेका छौ । इन्भेष्टमेन्ट बैकिंङतर्फ पोर्टफोलियो व्यवस्थापन सेवा, र  संस्थागत परामर्श सेवा प्रदान गरिरहेका छौ । छिट्टै सामुहिक लगानी कोष योजना संचालन गर्ने तयारीमा छौ ।  

यस अवधिमा पुँजीबजारको गति, हाम्रो कम्पनी र बजारमा रहेका अन्य मर्चेण्टहरुको गतिलाई हामीले समिक्षा गरेका छौ । समीक्षामा हामीले हाम्रो कम्पनी गति बढाउनु पर्छ भन्ने लागेको छ, र हामीले सोहि अनुसार कार्य पनि गरिरहेका छौ । सेवाहरुलाई परिमार्जन गर्दै थप व्यवस्थित गर्दै अगाडी बढिरहेका छौ । कम्पनीले छिट्टै आठौ वार्षिकोत्सव मनाउने तयारी पनि गरिरहेको छ ।

नेपाल एसबिआई मर्चेण्ट अरु प्रतिस्पर्धी भन्दा कसरी पृथक छ ?

हामी नेपाल एसबिआई बैंकको सहायक कम्पनी हौ । नेपाल एसबिआई बैंकमा भारतको सरकारी बैंक स्टेट बैंक अफ इण्डियाको मुख्य लगानी छ । स्टेट बैंक अफ इण्डियाको सहायक कम्पनी एसबिआई क्यापिटलसँग नेपाल एसबिआई मर्चेण्टले रणनीतिक समझदारी गरेको छ । वैशाख २०८० मा एसबिआई क्यापिटल र नेपाल एसबिआई मर्चेण्टबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । जस अनुसार दुवै संस्था मिलेर नेपालमा संस्थागत परामर्श ( कर्पोरेट एडभाइजरी सेवा) प्रदान गर्ने भन्ने छ । एसबिआई क्यापिटल मार्फत नेपाल एसबिआई मर्चेण्टले यो सेवा दिईरहेको छ । यसो हुँदा हामीसँग कर्पोरेट एडभाइजरी सर्भिसको लागि भारत लगायत अन्य अन्तराष्ट्रिय पुँजीबजारमा लामो समयको अध्ययन तथा अनुभव भएका विशेषज्ञहरु हुनु हुन्छ । उहाँहरु मार्फत अन्तराष्ट्रिय अनुभवको साथ साथै गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्न सकेका छौ । हाम्रो क्षमता अभिबृद्धि भएको छ ।  यो सेवालाई हामीले अझै धेरै गति दिनेछौं र नेपाली बजारमा यहाँका व्यवसायिक संस्थाहरुले दक्ष वित्तिय परार्मश सेवा पाउनु हुनेछ । 

यस बाहेक अन्तराष्ट्रिय संजाल रहेको एसबिआइ समुहको एक सदस्य भएकोले हामीले हाम्रा अन्य सेवा हरुमा समेत दक्षता अभिवृद्धि, ज्ञान तथा अनुभव आदानप्रदान गरी ति सेवाहरु, बजारको तुलनामा, पृथक योजना, उचित मुल्यमा, सेवा दिइरहेका छौ र आगामी दिनमा अझ व्यापक र आम रुपमा अगाडि लैजाने र्काय भैरहेका छन् । 

डिम्याट ग्राहक तथा पीएमएस ग्राहक कति छन्, अफर केके छन् ?

हामीसँग ५० हजार भन्दा बढी डिम्याट खाता खोलेका ग्राहक छन् । अहिले १०० भन्दा बढि ग्राहकले पीएमएस सेवा लिईरहनु भएको छ । हामीले उहाँहरुको २५—३० करोड भन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गरिरहेका छौ । हामीसँग पोर्टफोलियो व्यवस्थापनको विभिन्न ४ वटा योजना रहेको छ । 

डिम्याट खाताका ग्राहक बढ्दो क्रममा रहेका छन् । हामीले डिम्याट र मेरो शेयरमा विभिन्न ६ वटा अफर ल्याएका छौ । हामीले ५० प्रतिशत छुट दिएर ५० रुपैयाँमा नै मेरोशेयर र डिम्याट सेवा प्रदान गरिरहेका छौ । त्यस्तै ५ वर्ष, १० वर्ष,  लाइफटाइम र पारिवारिक डिम्याट योजना गरि विभिन्न ६ प्रकारका योजना ल्याएका छौ । यी योजनामा हामीले लिएको शुल्क एकदमै न्यून छ । जुन शुल्क बजारको लागि प्रतिस्पर्धी मूल्य पनि हो ।  

लामो समय बैंकमा काम गरेर मर्चेण्ट बैंकिंङमा आउँदा कस्तो चुनौती हुँदो रहेछ ? 

बैंकिङ क्षेत्रमा काम गर्दा ऋणको बजार, निक्षेपको बजारमा काम हुन्थ्यो । जुन जनमानसमा पुगिसकेको विषय हो , काम गर्न सहज थियो । अहिले मर्चेण्ट बैंकिङका सेवा पुरानै भए पनि इन्भेष्टमेन्ट बैंकिङ नेपालको हकमा उदाउँदो चरणमा रहेको छ । कर्पोरेट एडभाईजरी लगायतका इन्भेष्टमेन्ट बैंकिंङका सेवा अहिले बल्ल बुझ्दै बुझाउदै अगाडी लैजानु पर्ने अवस्था छ । बैंकिङ भन्दा यो कान्छो नै छ, यसलाई धेरै अगाडी लैजानु पर्ने चुनौती पनि छ । साथ साथै ठूलो अवसर पनि यस क्षेत्रमा छ । 

यस क्षेत्रको महत्व र योगदान हाम्रो जस्तो, वित्तिय औजारहरु कमै रहेको र विकासका लागी पुँजि र्निमाणका स्रोत अति आवश्यक भैसकेको परिप्रेक्ष्यमा, यस क्षेत्रको विकासका लागी राज्यका निकायहरु सँग समन्वय गर्दै अगाडी जानु पर्ने कार्य, आफैमा चुनौती पुर्ण नै हो ।

प्राइभेट इक्विटी भेन्चर क्यापिटलको सेवा दिने योजना केहि छ ?

हामीले यसमा पनि विचार गरिरहेका छौ । यद्यपि अहिलेको हाम्रो सुरुको लक्ष्य भनेको सामुहिक लगानी कोष योजना संचालन गर्ने हो । हामीले त्यसमा गृहकार्य गरिरहेका छौ । हाम्रो पहिलो म्युचुअल फण्ड बन्दमुखी नै हुने छ । अहिले बजारमा भएका भन्दा पृथक खालको म्युचुअल फण्ड योजना ल्याउने हाम्रो लक्ष्य छ । एक वा दुई वटा बन्दमुखी योजना संचालन गरेपछि हामी खुलामुखी योजना संचालन गर्ने छौ । म्युचुअल फण्ड ल्याएपछि प्राइभेट इक्विटी भेन्चर क्यापिटल सम्बन्धि सेवा प्रदान गर्ने हाम्रो भावी योजना छ ।

तपाइको कार्यकालको अन्त्यसम्ममा नेपाल एसबिआई मर्चेण्टलाई कहाँ पाउनुहुन्छ ?

हामीले हाम्रो गति बढाई सकेका छौ । हामीले डिम्याट सेवा, पोर्टफोलियो व्यवस्थापन सेवा, कर्पोरेट एडभाईजरी सेवालाई विशेष जोड दिएका छौ । मेरो कार्यकालको अन्तिममा नेपाल एसबिआई मर्चेण्टलाई टप ५ मा पुर्याउने लक्ष्य मेरो रहेको छ । हालको गति तथा वजारमा हाम्रो उपस्थीतीलाई हामीले र्निमम समिक्षा गरेका छौ । आगामी दिनमा ग्राहकको पहुच र यसका उत्कृट सेवालाई व्यापक र नविनतम रुपमा अगाडि बढाउने मेरो योजना हो । एसबिआई समुहको सदस्य भएकोले अन्तराष्ट्रिय अनुभव सहितको सेवा हामीले नेपाली बजारमा पस्किने छौ ।  यसको लाभ नेपाली बजारले उठाउने र कम्पनीलाई पनि त्यसले फाइदा हुने छ ।  

नयाँ ब्रोकर कम्पनी थपिएका छन् , डिम्याट सेवामा कत्तिको प्रतिस्पर्धा हुने देख्नु हुन्छ ?

ब्रोकर कम्पनीहरुको विशेषता भनेको शेयरको ट्रेडिङमा हो । तर हरेक नेपालीसम्म डिम्याट खाता पुर्याउनको लागि बैंकिंङ क्षेत्रमा लागेकाले बढी योगदान गर्न सक्छ भन्ने हो । साथै मर्चेण्ट बैंकर्सहरुले बैंकको पनि शाखाको लाभ लिएर अगाडी बढ्ने गर्छन् । समग्रमा सबै नै मिलेर अगाडी बढ्दै जाने हो । सबैको सहकार्य बाट नै पुँजीबजारको विकास र विस्तारमा सहयोग हुने हो । जति बजार सहभागिता बढ्दै जान्छ, बजारको लागि र बजार सहभागीको लागि त्यति नै फाइदा बढ्दै जान्छ । सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्दै जाने हो ।   

डिम्याट सेवा विस्तार गर्दै गर्दा वित्तीय साक्षरतामा नेपालका मार्केट पार्टीसीपेन्ट्स सुस्त देखिएका हुन् ?

अहिले वित्तीय साक्षरताका कार्यक्रमहरु वृद्धि भईरहेको छ । अहिले नेपाल राष्ट्र बैंकले पनि ठूलो अग्रसरता लिएको छ । तालिम प्रदान गर्नेहरुको लागि तालिम प्रदान गर्नको लागि रोस्टर नै बनाएर अगाडी बढेको छ । बैंकहरुको संस्थागत सामाजिक उत्तरदायित्वको रकमलाई पनि साक्षरताको लागी परिचालन गराईएको छ । नेपाल धितोपत्र बोर्डले पनि यसमा कार्य गरिरहेको छ । विगतको तुलनामा सबै  मार्केट पार्टीसीपेन्ट्सले पनि वित्तीय साक्षरता गति बढाएका छन्। बैंकका शाखा, लघुवित्त, सहकारी मार्फत पुंजीबजारको ज्ञान पुर्याउन सकिन्छ । अहिलेको  गति कायम रहेमा हामी निकट भविष्य मै हरेक नेपालीलाई पुँजीबजारको महत्व, त्यसको जोखिम, अवसर लगायत विषयमा सुशुचित गराएका हुने हौ । यो एकल भन्दा सामुहिक प्रयासबाट नतिजा देखिने विषय हो । त्यसतर्फ सबै लागिपरेको देखिन्छ । 

छिट्टै वार्षिकोत्सव आउँदै छ, के छ विशेष योजना ?

हामीले वार्षिकोत्सवको अवसरमा हाम्रो संस्थागत उत्तरदायित्व सहितको कार्यक्रम गर्ने नै छौ । अब २ वर्षपछि हाम्रो एक दशक पुरा हुँदै छ । अबको २ वर्षपछि हामी कहाँ पुग्ने भनेर रणनीतिक रोड म्याप सहित हामी अगाडी बढ्ने छौ । एक दशक पुरा भएको वार्षिकोत्सव थप विशेष हुने नै छ । 

बजार अब कता जान्छ होला भन्ने अनुमान छ ?

जे सुकै कारणले बजार एउटा बियारिस ट्रेडमा रहेर घटे पनि अब भने यो भन्दा बिग्रनु पर्ने, घट्नु पर्ने कारण छ जस्तो लाग्दैन । अब सकारात्मक सूचकहरु आउँन थालेका छन् । वैदेशिक मुद्रा संचिति धेरै राम्रो अवस्थामा छ, बैंकमा तरलता पर्याप्त छ, ब्याजदर घट्दो क्रममा छ, अझै घट्ने अपेक्षा गरिएको छ । बैंकमा पर्याप्त तरलता रहेको, र ब्याज पनि घट्दो क्रममा रहेकोले अब अर्थतन्त्रमा सबैले अवसर देख्न थालेका छन् । अब यहि बाट बजारले गति लिन्छ जस्तो लाग्छ । 

बजारमा नयाँ सेक्टरको कम्पनी आउँदै गर्दा अबको बजार वृद्धि कस्तो रहला ?

विगतको तुलनामा बजार सहभागीको साक्षरता बढेको छ । अब लगानीकर्ताहरुले वित्तीय अवस्था हेरेर लगानी गर्छन् भन्ने अनुमान छ । विगतको बियरिस ट्रेण्ड हेरेपछि लगानीकर्ता अझ बढी जानकार भएर आउने छन् । राम्रो वित्तीय अवस्था भएको, राम्रो प्रतिफल दिन सक्ने, राम्रो व्यवस्थापन भएको कम्पनी हेरेर लगानीकर्ताले लगानी निर्णय लिने छन् । र बजार थप परिपक्व बन्ने छ भन्ने मेरो अनुमान छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved