सरकारलाई दैनिक खर्च टार्नै सकस, जनताबाट ऋण उठाउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2020 | 03:00:01 PM मा प्रकाशित

सरकारले यसै साता २४ अर्ब बढी आन्तरिक ऋण उठाउने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले असार ८ गते ट्रेजरी बिल मार्फत आन्तरिक ऋण उठाउन लागेको हो । 

राष्ट्र बैंकले २८ दिनदेखि १२८ दिनसम्मको अवधिको ट्रेजरी बिल बोल कबोल गर्न लागेको हो । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । राष्ट्र बैंकले यस प्रक्रियाबाट २४ अर्ब ३ करोड बराबरको आन्तरिक ऋण उठाउन लागेको हो। जस मध्ये ९ अर्ब ३ करोड पहिले कै ट्रेजरी बिलको नवीकरण हो भने बाँकि १५ अर्ब नयाँ ऋण उठाइन लागेको हो


नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको छ । सरकार यस अघि असार १ गते ४ अर्ब अन्तरिक ऋण उठाएको थियो 

सरकारलाई स्रोतको अभाव भएपछि नियमित खर्च टार्न आन्तरिक ऋण उठाउन लागेको हो । लकडाउनको कारण आर्थिक गतिविधि ठप्प भएर राजश्व नउठेपछि सरकारलाई स्रोतको अभाव भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले संसद मै सरकारलाई नगद अभाव भएको बताएका थिए । उनले भनेका थिए 'अहिले हाम्रो मासिक अनिवार्य दायित्व ४० अर्ब छ। यो भनेको चालु खर्च हो जुन सरकारले जसरी पनि नगदमा भुक्तानी गर्नुपर्छ। यसका लागि हामीलाई केही समस्या भइरहेको छ। अहिले भन्सारबाट महिनामा १५ अर्बजति राजश्व उठिरहेको छ। त्योभन्दा न्यून आन्तरिक राजश्व छ। यसले ४० अर्बको दायित्व पूरा गर्न गाह्रो भइरहेको छ' । अर्थमन्त्रीले भने झैँ चालु खर्च नै धान्न नसक्ने अवस्था आएपछि सरकारले ठुलो रकमको आन्तरिक ऋण उठाउन थालेको हो 

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म सरकारको आन्तरिक ऋण ५ खर्ब ९५ अर्ब ९९ करोड पुगेको छ । यो मध्ये विकास ऋणपत्रको हिस्सा सबै भन्दा धेरै अर्थात ६५.४३ प्रतिशत छ । त्यसपछि ३३.०९ प्रतिशत ट्रेजरी बिलको हिस्सा रहेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved