साताको पहिलो दिन बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । यद्यपि अन्तिम समयमा नेप्से केहि रिकभर भएको छ । कारोबार अवधिमा ५१ अंक सम्म घटेको नेप्से सूचक अन्त्य तिर केहि रिकभर हुदै ३२ अंकले घटेर १५१०.०१ को बिन्दुमा रोकिएको छ ।
आज कारोबारमा आएका १५२ कम्पनीका ९ लाख ७२ हजार ६ सय २४ कित्ता शेयर खरिद बिक्रिबाट ४१ करोड ४९ लाख ९८ हजार ९ सय ८३ रुपियाँको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै जनता बैंकको १ करोड ५२ लाख ५४ हजार १ सय ४५ रुपियाँको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा गण्डकी विकास बैंक संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत रहेका छन् ।
३२ अंकले घटेको आजको बजारमा महुली लघुवित्तका लगानीकर्ताले सर्बाधिक कमाएका छन् भने रुरल माइक्रो फाइनान्सका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् ।
यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु :
यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :
सेयरबजारमा सुचिकृत कम्पनीहरुले गत धमाधम लाभांश घोषणा गर्दा र दर्जनौं कम्पनीहरुले बार्षिक साधारण गरि सेयरधनिहरुलाई लाभांश खुवाउँदा समेत लगानीकर्ताको आत्मबिश्वाश बढ्न सकेको छैन। दशैं लगत्तैको कारोबारमा नेप्से सामान्य अंकले ओरालो लाग्ने अपेक्षा गरिएपनि यति ठुलो अंकले तिब्र रुपले सेयर बजारमा आएको गिरावटले भने लगानीकर्ता अलमल देखिएका छन।
बजारमा तिब्र गिरावट आउनुको ठोस कारण यहि नै हो भनेर यकिन गर्न नसकिएपनि लगानीकर्ताको मनोबल बलियो बनाउने समाचार नहुँदा त्यसको प्रभाब पुंजीबजारमा देखिएको सेयर पण्डितहरुको भनाइ छ। बजारमा उच्च गिरावट आउनुका सम्भावित कारण
तरल राजनीतिको छायाँमा निर्वाचन
गत साता राजनीतक वृत्तमा देखिएको उतारचढाबले प्रदेश र संघको निर्वाचन नहुने हो भन्ने आशंकाले समेत लगानीकर्ताको मनोबल खस्किएको हो भन्ने अनुमान छ। गत साता एकाएक बाम दलहरुबीच 'निर्वाचनसम्म मेलमिलाप र निवाचन पश्चात एकता' सहमति भयो। जस कारण तरल राजनीति सिर्जना भएको छ। राजनीतिक अस्थिरताको चेपुवामा बजार परेको लगानीकर्ताको बुझाइ छ।
वित्तीय तरलता बढ्यो तर ब्याजदर घटेन
बैंकिङ प्रणालीमा तरलता बढे पनि ब्याजदर घट्ने संकेत नदेखिदा लगानीकर्तामा उत्साह थपिएको छैन। बैंकिङ प्रणालीमा तरलता बढेको भन्दै नेपाल राष्ट्र बैंकले आज मात्र ५ अर्बको तरलताको प्रशोचन गर्देछ ।
राष्ट्र बैंकका अनुसार बैकिङ प्रणालीमा एक खर्ब बराबरको अधिक तरलताको अवस्था छ। तर बिशेष गरि सेयर कर्जाको ब्याजदर घट्न सकेको छैन। अहिले कायम ब्याजदरमा ऋण लिएर लगानी गर्दा तिब्र उतारचढाबको बजारमा जोखिम बढ्न सक्ने भएकाले लगानिकर्ताले लगानी बढाउने 'आँट' गर्न सकेका छैन। जसले माग भन्दा सेयरको आपूर्ति बढ्न गएको छ।
प्रमुख कारण: नेप्सेको जीएम हाउगुजी
दुई महिनादेखि प्रमुख कार्यकारी बिहिन नेप्सेले अबको केहि घण्टामा प्रमुख कार्यकारी पाउंदैछ। नेप्सेको जीएममा 'फलानो' व्यक्ति आए सेयर बजारमा नकारात्मक प्रभाब पर्ने छ भनेर चलाइएको 'हाउगुजी' नै सेयरबजार घट्नुको प्रमुख कारण रहेको बताइएको छ। संस्थागत लगानीकर्ताहरुले नेप्सेको जीएमलाई लिएर 'मिडियाबाजी'गरि लगानीकर्तालाई अत्याउने काम गरेका छन। तर सर्वसाधारण लगानीकर्ताले बुझ्नुपर्ने कुरा के हो भने नेप्सेको जीएम बन्ने लाइनमा रहेका तिनै जना आ-आफ्नो क्षेत्रमा अव्वल नै छन्। र उनीहरु कोहिसंगपनि नेप्से वा पुंजीबजारको सम्बन्धित संस्थामा कार्यकारी प्रमुख भएर काम गरेको अनुभब छैन। अर्थात सबै क्यान्डीडेट नेप्सेको प्रमुखका लागि 'अनटेस्टेड' नै हुन।
१ बजेर ५० मिनेट जाँदासम्म कारोबारमा आएका सेयर संख्याको भोलुम अत्यन्त सानो रहेको छ। सानो सानो कित्तामा सेयर खरिद बिक्रि भईरहेको छ। 'यो समय बर्षभरिको प्रतिफल खाने बेला हो तर केहि संस्थागत लगानीकर्ताले 'बाम एकता' र नेप्सेको नियुक्तिलाई हाउगुजी बनाएर लगानीकर्तालाई अत्याउने गरेकाले साना संख्यामा कारोबार गर्ने लगानीकर्ता अत्तालिएका छन' एक ब्रोकरले भने 'आज अत्तालिएर सेयर बेच्नेहरु भोलि पछुताउनु पर्ने हुन्छ।'
रकमको जोहो
अहिले अधिकांश कम्पनीहरुले हकप्रद बिक्री गरिरहेका छन् भने कयौं कम्पनीहरुले लिलाम मार्फत सेयर बिक्रि गरिरहेका छन। लगानीकर्ताले हकप्रद भर्न तथा लिलामीको सेयरको रकम जोहो गर्न तर्फ लाग्दा आपूर्ति बढेको छ।
त्यस्तै असोज २३ सम्मका लागि सपोर्ट माइक्रोफाइनान्सको आइपीओ बिक्रि जारि छ भने यसै साताको असोज २५ देखि २९ सम्म सिद्धार्थ क्यापिटलले नयाँ म्युचुल फण्ड जारि गर्दैछ। साधारण सेयर तथा म्युचुअल फन्डमा लगानीका लागि समेत रकम जोहो गर्नु पर्ने भएकाले आपूर्ति बढ्न गएको छ । त्यसै चालु आर्थिक बर्षको पहिलो त्रैमासको ब्याजको जोहो गर्नु पर्ने भएकाले समेत सेयर आपूर्ति बढेको अनुमान गरिएको छ।