बैंक अफ काठमान्डूले संस्थापक र सर्वसाधारण शेयरधनीको सेयर संरचना मिलाउनका लागि संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्दैछ। बैंकले फेस भ्यालुमा १६६ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २६६ रुपैयाँमा लिलाम मार्फत बिक्रि गर्ने अनुमति मागेपनि नेपाल धितोपत्र बोर्डले प्रिमियम मुल्य बिना नै लिलाम मार्फत बिक्रि गर्ने अनुमति दिएको हो।
धितोपत्र बोर्डबाट अनुमति पाएसंगै बैंकले अर्को हप्ता सूचना जारी लिलाम मार्फत ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ। सामान्यतया बैंक तथा वित्तीय संस्थाहरुले लिलाम मार्फत बिक्रि गर्ने संस्थापक शेयरमा संस्थापक शेयरधनीहरुलाई मात्र आबेदन दिने अनुमति भएपनि बिओंकेको संस्थापक शेयरमा भने सर्वसाधारणले समेत बोलपत्र पेश गर्न सक्ने बैंकका प्रवक्ता प्रविन प्रकाश क्षेत्रीले बिजपाटिलाई जानकारी दिएका छन।
बिजपाटि डटकमले केहि समय अगाडी एफपिओ प्रक्रिया स्थगनपछि बैंक अफ काठमाण्डू सामु चुक्ता पुंजी आठ अर्ब पुर्याउन ३ बिकल्प भन्ने शिर्षकमा लेखेको समाचारमा पहिलो बिकल्पमा बैंकले लिलाम मार्फत बिक्रि गर्ने विश्लेषण गरेको थियो।
'लिलाममा राखिएको संस्थापक शेयरमा सबैले बोलपत्र पेश गर्न सक्नेछन' प्रवक्ता क्षेत्रीले भने, 'तर यसका लागि नेपाल राष्ट्र बैंकले तोकेको फिट एण्ड प्रोपर टेस्ट उत्तीर्ण हुनुपर्नेछ।'
बैंकका भनाई अनुसार सर्वसाधारणले पनि बोलपत्र पेश गर्न पाउने भएपनि प्रक्रिया त्यति सहज नहुने स्पष्ट छ। बोलकबोल दाताले राष्ट्र बैंकले तोकेको फिट एण्ड प्रोपर टेस्ट उत्तीर्ण भएको प्रमाणसमेत जुटाउनु पर्नेछ।
त्यस्तै बिओकेको संस्थापक शेयर दोस्रो बजारमा कारोबार भएपनि नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका संस्थापक शेयर झैँ सहजै कारोबार हुने सम्भावना न्यून रहेको छ। शेयर खरिद गर्नका लागि राष्ट्र बैंकले तोकेको फिट एण्ड प्रोपर टेस्ट उत्तीर्ण हुनुपर्ने प्राबधान भएको अवस्थामा भोलिका दिनमा खरिद बिक्रि गर्न पनि किन्ने र बेच्नेले लामो प्रक्रिया पुरा गर्नु पर्नेछ।
सूचना जारि गर्ने, खरिद कर्ता खोज्ने, किन्ने र बेच्ने कालो सुचिमा नपरेको प्रमाणित गर्नु पर्ने लगायतका प्रक्रिया पुरा गर्नुपर्ने भएकाले बिओकेको संस्थापक शेयर दोस्रो बजारमा कारोबार गर्न त्यति सहज हुनेछैन।
बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग रहेको छ। बैंकले लुम्बिनी बैंकसंगको मर्जपछि संस्थापक साधारण शेयर अनुपात ५१:४९ बनाउन संस्थापक शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। तत्कालिन लुम्बिनी र बैंक अफ काठमान्डूको मर्जपछि संस्थापक शेयर स्वमित्व ४५.६४ प्रतिशत कायम भएको थियो ।
बैंकले गत आर्थिक बर्ष ७२ अर्ब १३ करोड निक्षेप संकलन गरि ६२ अर्ब ५४ करोड कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड छ। हाल बैंकले ७५ शाखा, ६६ ए.टी.म र ७ वटा एक्सटेन्शन काउन्टरबाट आफ्नाग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदानगर्दै आएको छ ।