नेपाल धितोपत्र बोर्डले एकै दिन तीन संस्थालाई हकप्रद बिक्रिको अनुमति दिएको छ। बोर्डले पुष २३ गते एसियन लाइफ इन्स्योरेन्स, फर्स्ट माइक्रोफाइनान्स र कामना सेवा बिकास बैंकलाई हकप्रद बिक्रिको अनुमति दिएको हो।
एसियन लाइफ इन्स्योरेन्स
एसियन लाइफ इन्स्योरेन्सले १० बराबर ५ कित्ता शेयर अर्थात ५० प्रतिशतका दरले ४० करोड २७ लाख बराबरको ४० लाख २७ हजार कित्ता हकप्रद बिक्रि गर्न अनुमति पाएको हो। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ।
हकप्रद बिक्रि तथा बितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी १ अर्ब २१ करोड पुग्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पुंजी ८० करोड ५५ लाख छ। बिमा समितिले तोकेको चुक्ता पुंजी २ अर्ब पुर्याउन इन्स्योरेन्सले ७९ करोड पुंजी थप्नुपर्नेछ। इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २ बराबर १ कित्ता शेयर अर्थात ५० प्रतिशतका दरले २२ करोड ८१ लाख रुपैयाँ बराबरको २२ लाख ८१ हजार कित्ता हकप्रद बिक्रि गर्ने अनुमति पाएको हो।
लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। ५० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात लघुवित्तको चुक्ता पुंजी ६८ करोड ४३ लाख पुग्नेछ। हाल लघुवित्तको चुक्ता पुंजी ४५ करोड ६२ लाख छ। लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड ४१ लाख खुद मुनाफा गरेको छ।
कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले १० बराबर १.५ अर्थात १५ प्रतिशतका दरले ३० करोड ९४ लाख रुपैयाँ बराबरको ३० लाख ९४ हजार कित्ता हकप्रद बिक्रि गर्ने अनुमति पाएको हो।
बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। १५ प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ३६ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी २ अर्ब ५ करोड छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउन बैंकले १४ करोड पुंजी थप्नुपर्नेछ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २० लाख ६१ हजार खुद मुनाफा गरेको छ।
बैंकले हकप्रद निष्काशनको अनुमति पाएकै दोस्रो दिन हकप्रद प्रयोजनार्थ बुक क्लोज मिति समेत तय गरिसकेको छ। हकप्रद प्रयोजनार्थ बैंकले माघ ३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। तसर्थ माघ २ सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन।