चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंक वित्तीय संस्थाले उल्लेख्य प्रगति गर्ने अपेक्षा बिपरित बाणिज्य बैंकहरु मध्ये सबै भन्दा पहिले वित्तीय विवरण सार्वजनिक गरेको सिटिजन बैंकले खुद मुनाफा घटेको वित्तीय विवरण प्रस्तुत गरेको छ।
बैकले कारोबार भोलुम बढाएपनि मुख्यतया दुई कारणले गर्दा खुद मुनाफा बढाउन सकेको छैन। पहिलो, बैंकले कर्जा असुलीमा प्रगति गर्न नसक्दा उसको खुद मुनाफा घटेको छ। दोस्रो, निक्षेप तान्न बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धाले बैंकको खुद ब्याज आम्दानी खुम्चिएको छ।
गत आर्थिक बर्षको यस अवधिमा बैंकले ६३ करोड १६ लाख ६८ हजार मुनाफा गरेकोमा यस अवधिमा ६२ करोड ८६ लाख खुद मुनाफा गरेको छ। बैंकले निक्षेप संकलन तथा कर्जा प्रवाह साथै सञ्चालन मुनाफा, खुद ब्याज आम्दानी बढाए पनि निक्षेपको ब्याज दर बढ्न गई ब्याज खर्च दोब्बर हुँदा खुद मुनाफा प्रभावित बनेको हो। यस अवधिमा बैंकले ५८ अर्ब ४६ करोड ४९ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ३१ करोड ६१ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
पहिलो त्रैमासको वित्तीय विवरण जान्नका लागि यहाँ क्लिक गर्नुहोस
त्यस्तै यस अवधिमा १ अर्ब ४२ करोड १२ लाख संचालन मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब २० करोड ४९ लाख संचालन मुनाफा गरेको थियो।
ब्याजदर बढाउने प्रतिस्पर्धाले थिचिदा बैंकको खुद ब्याज आम्दानीमा सामान्य प्रगति देखिएको छ। गत आर्थिक बर्षको यस अवधिमा ८५ करोड ५१ लाख खुद ब्याज आम्दानी गरेको बैकले यस अवधिमा ९७ करोड ४९ लाख खुद ब्याज आम्दानी गरेको छ।
बैंकको खराब कर्जा १।३२ प्रतिशतले बढेर १।९४ प्रतिशत पुग्दा बैंकले कर्जा जोखिम कोषमा राख्नु पर्ने रकम बढ्दा बैंकको खुद मुनाफा प्रभावित बनेको हो। यस अवधिमा बैंकले १४ करोड २६ लाख मात्र खराब कर्जा उठाएको छ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १५ रुपैंया ६६ पैसा र प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ८७ पैसा छ । त्यस्तै प्रति शेयर कुल सम्पत्ति मूल्य ९४० रुपैयाँ १४ पैसा, मूल्य आम्दानी अनुपात १८.२० प्रतिशत र तरलता अनुपात २२.५२ कायम भएको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी पाँच अर्ब ५३ करोड ७३ लाख रुपैंयाबाट बढेर ८ अर्ब दुई करोड ९१ लख रुपैंया पुगेको छ। चुक्ता पुंजी वृद्धि हुँदा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८१ पैसाबाट घटेर १५ रुपैयाँ ६६ पैसामा आउनु सामान्य मान्नु पर्छ।