धितोपत्रको सार्वजनिक निष्काशनमा फागुन ११ देखि अनिवार्य रुपमा सी आस्वा लागू हुने भएको छ। आस्वा प्रणालीलाई थप ब्यबस्थित, सर्वसुलभ र चुस्त बनाउनका लागि लागू गर्न खोजिएको सी आस्वाले सर्वसाधारणमा अन्यौल देखिएको छ।
लगानीकर्तामा एका तर्फ सी आस्वा मार्फत आबेदन गर्नैका लागि 'मेरो सेयर' आवश्यक रहेको र त्यसका लागि थप शुल्क लाग्ने भन्ने बुझाई पाइएको छ। अर्का तर्फ सी आस्वा लागू भएपछी अनिवार्य रुपमा इन्टरनेटका माध्यमबाट अर्थात अनलाइन मार्फत सेयर भर्नुपर्छ भन्ने बुझाई रहेको छ।
तर वास्तविकता भने यो भन्दा भिन्न रहेको छ। प्राविधिक रुपमा केहि भिन्नता रहेपनि आस्वा र सी आस्वा बीच त्यति ठुलो अन्तर छैन। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई बैंक वित्तीय संस्थाले प्रदान गर्दै आएका आस्वा सेवाको एकीकृत रुप नै सी आस्वा हो भन्दा फरक पर्दैन।
हिजोसम्म लगानीकर्ताले आस्वा सेवा प्रदान गर्ने बैंक वित्तीय संस्थामा गएर सेयरका लागि फर्म भर्ने गर्थे। केहि लगानीकर्ताले घरमा वा कार्यालयमा बसेर पनि अनलाइन मार्फत सेवा भर्ने गर्थे। जसलाई सामान्यतया आस्वा भन्ने गरिन्थ्यो।
यसरी बिभिन्न बैंक वित्तीय संस्थाले आस्वा मार्फत दिने सेवालाई थप चुस्त र एकै प्रणालीबाट लागू गर्न ल्याइएको प्रणाली नै सी आस्वा हो। अर्थात सामान्यभाषामा भन्दा आस्वा सम्बन्धि सेवा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई एकै केन्द्रितकृत प्रणालीमा आबद्ध भै लगानीकर्ताको हितग्राही खाता (डिम्याट नम्बर) तथा बैंक खाताको विवरण रुजु गरि रुजु भएका लगानीकर्ताको आबेदन मात्र प्रविष्टि गर्ने प्रणाली नै सी आस्वा हो।
आफ्ना खाता रहेको बैंकबाट सीआरएन नम्बर प्राप्त गरेका लगानीकर्ताले मात्र अप उप्रान्त सार्वजनिक निष्काशनको सेयर खरिद आबेदन दिन सक्नेछन। यसरि सीआरएन नम्बर प्राप्त गरेका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट वा बैंकमा उपस्थित भै भौतिक फारम भरेर खरिद आबेदन दिन सक्नेछन।
त्यसैले लगानीकर्ताले सी आस्वा का लागि 'मेरो सेयर' सेवा लिनै पर्ने र सी आस्वा भएपछि अनिवार्य रुपमा अनलाइन मार्फत आबेदन दिनुपर्छ भन्ने होइन। यदि तपाईलाई अनलाइन मार्फत भर्न अप्ठ्यारो छ भने सी आस्वा प्रदान गर्ने अनुमति लिएका बैंक बित्तिय संस्थामा गएर त्यहाँका कर्मचारीको सहयोगबाट भौतिक फर्म भरेर हिजोको आस्वा प्रणाली झैँ सार्वजनिक निष्काशनका सेयरमा आबेदन दिन सक्नुहुनेछ। वा, तपाई प्रविधिमैत्री हुनुहुन्छ भने अनलाइन मार्फत समेत सेयरमा आबेदन दिन सक्नुहुन्छ।
तर प्रविधमैत्रीहरुका लागि सी आस्वा भने केहि खर्चिलो हुने देखिन्छ। मेरो सेयर खाताको यूजर नेम र पासवर्ड प्रयोग गरेबापत लगानीकर्ताले बार्षिक ५० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ।
आफ्नो हितग्राही खातामा रहेको सेयरको मौज्दात हेर्न, आफ्नो शेयरको पोर्टफोलियो हेर्न, शेयर धितो बन्धकीमा रहेको विवरण हेर्ने तथा आफ्नो खातामा भएको कारोबारको बिबरण हेर्ने सुविधा प्रदान गर्न 'मेरो सेयर' सुविधा दिएको र यसैका लागि शुल्क लिएको सीडीएससीको दाबि छ। तर अहिलेसम्म कयौं कम्पनीले यो सुविधा निशुल्क दिंदै आएका छन। सिस्टम एकीकृत गर्ने नाममा सिडीएससीले लिएको यस प्रकारको शुल्कबारे चर्को आलोचना समेत भएको छ।
लगानीकर्ताले इन्टरनेटको माध्यमबाट खरिद आबेदन दिन चाहेको खण्डमा मेरो सेयर मार्फत समेत आबेदन दिन सक्नेछन। तर सीआरएन नम्बरका लागि ५० रुपैयाँ शुल्क भने होइन। तपाईले सीआरएन नम्बर निशुल्क पाउनुहुन्छ। सीआरएन नम्बर एक पटक लिएपछि सधैंका लागि हुन्छ।
तर 'मेरो सेयर' प्रयोग नगर्ने लगानीकर्ताले आफ्नो खाता रहेको बैंकको कुनै पनि शाखामा उपस्थित भएर उक्त शाखामा उपलब्ध फारम भरेर सेयर खरिद आबेदन दिन सक्नेछन। यसरि खरिद आबेदन दिंदा कुनै पनि नयाँ शुल्क नलाग्ने सिडीएससीले स्पष्ट पारेको छ।