बिजपाटी टिप्पणी
शेयरबजार फेरी अर्को पटक प्यान नम्बरका कारण 'प्यानिक' भएको छ। नेपाल धितोपत्र बोर्डले असार २५ गते सोमबार आर्थिक बर्ष २०७५-२०७६ को 'धितोपत्र तथा बस्तु विनिमय बजारसम्बन्धि नीति तथा कार्यक्रम' सार्वजनिक गर्दै गर्दा फेरी एक पटक प्यान नम्बरको त्रास शेयरबजारमा भित्रिएको छ।
बोर्डले दोस्रो बजारमा सेयर खरिद बिक्रीका लागि स्थायी लेखा नम्बर (PAN) लिन प्रोत्साहित गर्ने नीति लिएको कुरा स्पष्ट छ। तर यहि बिषयबारे शेयरबजारमा फैलिएको 'गलत संदेश' का कारण शेयरबजार प्रभावित भएको छ। धितोपत्र बोर्डले स्पष्टसंग 'दोस्रो बजारमा प्यान नम्बर अनिवार्य होइन, ऐच्छिक हो' भनेको छ। तर पनि बजारमा भने फरक संदेश प्रवाह भएको देखिन्छ जस कारण लगानीकर्तामा त्रास देखिएको छ।
धितोपत्र बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा त्यसो कुनै दोहोरो अर्थ लाग्ने बिषय उल्लेख छ या छैन भनेर लगानीकर्ताले पनि जान्ने बुझ्ने प्रयास नगरेको देखिन्छ। धितोपत्र बोर्डले संचारकर्मीलाई वितरण गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको प्रेस विज्ञप्तिमा उल्लेख गरेको बिषय र बुकलेटमा भएको कुरा उस्तै छ। यहाँ बोर्डले भन्न खोजेको कुरामा केहि अन्यौल भएको हो कि भन्ने अनुमान छ।
हेर्नुस बोर्डले संचारकर्मीलाई वितरण गरेको प्रेश बिज्ञप्तिमा प्यानबारे उल्लेख बुँदा:
हेर्नुस बोर्डद्वारा जारि बुकलेटमा प्यानबारे उल्लेख बुँदा:
बोर्डको प्रेस विज्ञप्तिमा 'भनिएबमोजिम' र बुकलेटमा 'भनिएकोमा' भन्ने दुई फरक फरक शब्द प्रयोग गरेको छ। जसको शाब्दिक अर्थ उस्तै हुन आउँछ तर बुझाईमा केहि फरक पर्दा कहिँ अन्यौल देखिएको छ। तर ध्यान दिनुपर्ने कुरा के हो भने बोर्डको प्रेस विज्ञप्तिमा र बुकलेटमा उल्लेख प्यानबारे उल्लेख बुँदामा "बोर्डको आर्थिक बर्ष २०७४-७५ को नीति तथा कार्यक्रममा दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नम्बर (प्यान) लाई आर्थिक बर्ष २०७५-०७६ देखि अनिवार्य गर्नको लागि आवश्यक नीति व्यवस्था गर्ने भनीएबमोजिम दोस्रो बजारमा शेयर खरिद बिक्रिका लागि स्थायी लेखा नम्बर (प्यान) लिन प्रोत्साहित गर्ने' भन्ने उल्लेख छ।
यहाँ बुझ्नुपर्ने कुरा के हो भने 'बोर्डको आर्थिक बर्ष २०७४-७५ को नीति तथा कार्यक्रममा दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नम्बर (प्यान) लाई आर्थिक बर्ष २०७५-०७६ देखि अनिवार्य गर्नको लागि आवश्यक नीति व्यवस्था गर्ने भनीएबमोजिम' भनेर बोर्डले आफ्नो गत बर्षको 'गल्तिलाई' स्मरण गराउन चाहेको छ।
बोर्डले २०७४/७५ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दा नै 'दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नं. (PAN) लाई २०७५।७६ देखि अनिवार्य गर्नकोलागि आवश्यक नीतिगत व्यवस्था गर्ने' उल्लेख गरेको थियो। गत बर्ष बोर्डले यस्तो घोषणा गर्दा नेप्से लगातार घटेपछि शेयर लगानीकर्ता संघले बिज्ञप्ति नै निकालेको थियो। र बोर्डले सम्बन्धित निकायसंग पर्याप्त छलफल पश्चात मात्रै पुंजीबजारमा प्यानको अनिवार्यताबारे निचोडमा पुग्ने प्रतिबद्धता जनाएको थियो।
प्रेस विज्ञप्तिमा 'भनिएबमोजिम' र बुकलेटमा 'भनिएकोमा' भन्ने दुई फरक फरक शब्दले धितोपत्र बोर्डले गत बर्ष घोषणा गरेको कुरालाई जनाउछ। गत बर्षको नीति तथा कार्यक्रममा घोषणा गरेको प्यानको बिषयले शेयरबजार आतंकित भएपछी यसबर्ष पनि त्यस्तै नहोस भन्ने धितोपत्र बोर्डको चाहना रहेको स्पष्ट छ। त्यसैले बोर्डले गत बर्ष त्यस्तो भनेकोमा 'आगामी आर्थिक बर्ष २०७५ -७६ मा दोस्रो बजारमा शेयर खरिद बिक्रिका लागि स्थायी लेखा नम्बर (प्यान) लिन प्रोत्साहित गर्ने' भन्ने स्पष्ट पारेको हो।
बोर्डको यो भनाईले स्पष्ट हुन्छ, धितोपत्र बोर्ड दोस्रो बजारमा प्यान नम्बर अनिवार्य गर्न चाहन्न, बोर्डले प्यान नम्बरलाई ऐच्छिक बनाएर इच्छुक लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति लिएको छ।
प्यान नम्बर लिनु आफैंमा नराम्रो होइन। विश्वका बिकसित तथा विकासोन्मुख देशहरुमा नागरिकको हक हितकै लागि पनि प्यान नम्बर अनिवार्य गरिन्छ। दोस्रो बजारका लगानीकर्ताका लागि मात्र नभई राज्यले सम्पूर्ण नेपाली नागरिकलाई प्यानमा ल्याउन सके एका तर्फ व्यक्तिहरुको कारोबारमा पारदर्शिता झल्किन्छ भने अर्को तर्फ नागरिकले पाउने सेवा सुविधामा समेत काम गर्न राज्यलाई सहज हुन्छ।
गल्फ कन्ट्री लगायतका विश्वका बिकसित राष्ट्रहरुमा मोबाइल मेसेजबाटै प्यान लिने व्यवस्था गरिन्छ र उनीहरु करको दायरामा आउँछन। प्यानको दायरामा आउनेबित्तिकै सर्वस्व जाने भयो भन्ने मानसिकता बोकेका लगानीकर्ताले प्यानलाई 'दुश्मन' सोच्नुनै गलत हो ।
कहिले काहीं मिडियाकर्मीको बुझाईकै कारण जानुपर्ने भन्दा फरक संदेश बजारमा जान सक्छ त्यसैले पनि बजारमा के संदेश कसरि प्रवाह भईरहेको छ त्यसको यकिन तथ्य पत्ता लगाउने जिम्मेवारी स्वयम लगानीकर्ताको पनि हो। बिषयबस्तुबारे जान्न बुझ्न नखोज्ने तर पछी आफु गलत साबित भएपछी फलानो ढिस्कोले यस्तो गर्यो भनेर आलोचना गर्नु भन्दा सुरुमै बिषयबस्तुबारे जान्न खोज्नुनै लगानीकर्ताको लागि लाभदायक हुन्छ। त्यसैले सक्नेले प्यान नम्बर लिने हो, नसक्नेले कम्तिमा पनि प्यानको हाउगुजीबाट प्यानिक हुन आवश्यक नै छैन।