
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार समय बन्द भएपछि कारोबार रकम थपिएको देखिएपछि लगानीकर्ताले नेप्सेमाथि गम्भीर प्रश्न उठाएका छन्। मंगलबार कारोबार बन्द भएपछि कारोबार रकम ३२ करोडले बढेको देखिएपछि लगानीकर्ताले नेप्सेको सिस्टममाथि गम्भीर प्रश्न उठाएका हुन् ।
मंगलबार शेयर कारोबार बन्द हुँदा नेप्सेको वेबसाइटमा १ अर्ब ७९ करोड ३७ लाख ७ सय ४३ रुपैयाँ बराबरको भएको देखाएको थियो । तर बुधबार बिहान कारोबार सुरु हुनुभन्दा अगाडी नेप्सेको वेबसाइटमा मंगलबार २ अर्ब ११ करोड ९९ लाख ३९ लाख ५ सय ५८ रुपैयाँको कारोबार भएको उल्लेख छ । अर्थात नेप्सेमा ३२ करोड बढीको कारोबार रकम थपिएको उल्लेख छ । नेप्से सूचक त्यहि नै रहेपनि कारोबार रकम र कारोबार कित्ता मात्र बढेको वेबसाइटमा देखिएको हो ।
यसरी कारोबार बन्द भएपछि ठुलो रकम कारोबार भएको देखाएपछि लगानीकर्ताले नेप्सेको कारोबार प्रणालीको विश्वसनीयता माथि नै प्रश्न उठाएका हुन् । एक लगानीकर्ताले भने 'यो त रातको समयमा पनि नेप्सेले इन्डेक्स बन्द गरेर कारोबार गरेको देखियो, यसको छानविन हुनु पर्छ' ।
उता नेप्सेले भने डाटा डिस्प्लेमा केहि समस्या भएर यस्तो भएको हुन सक्ने जनाएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले ईओडि अगाडी र पछाडीको डाटामा फरक परेको हुन सक्ने बताए । उनका अनुसार ३ बजे कारोबार सकिएपछि ३ बजेर ५ मिनेटपछि ईओडि अर्थात् एण्ड अफ डे सिस्टमलाई रन गरिन्छ । त्यो प्रोसेस सकिएपछि मात्र यकिन कारोबार रकम आउँछ । कहिलेकाही त्यो प्रोसेस पुरा हुनको लागि ३ घण्टा पनि लाग्न सक्ने भएकोले रकम फरक देखिएको हुन सक्ने उनले बताए । उनले भने 'डाटा इररको समस्या हुन सक्छ, रातको समयमा पनि कारोबार भयो भन्ने विषय हावादारी हुन्, त्यस्तो सम्भव नै हुदैन'।
उता सिडीएसले मंगलबार २ अर्ब ११ करोड बराबर कै शेयर राफसाफको लागि आएको जनाएको छ ।