
नेपाल टेलिकमको खुद मुनाफा गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा बढेको छ। टेलिकमको खुद मुनाफा ७४ करोड २१ लाखले बढेर २ अर्ब २५ करोड पुगेको छ। गत आर्थिक बर्षको यस अवधिमा टेलिकमले १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
त्यस्तै टेलिकमको संचालन आय र कुल आय समेत बढेको छ। संचालन आम्दानी १ अर्ब १३ करोडले बढेर ९ अर्ब ७७ करोड पुगेको छ भने कुल आम्दानी ८४ करोड ७८ लाखले बढेर १० अर्ब ९५ करोड पुगेको छ।
फोरजी आयोजना कार्यन्वयनसंगै यसको पहुँच विस्तारले सक्रिय ग्राहक बढेको, कोभिड १९ को प्रभाव सकिएर विस्तारै आर्थिक गतिबिधि बढेको, कोभिड १९ लाई लक्षित बिभिन्न प्याकेज ल्याउँदा त्यसको सकारात्मक प्रभाव बढेको, अनलाइन गतिबिधि बढ्दा भोइस, डेटा र एसएमएसको ब्यापार बढेको लगायतका कारणले गत आर्थिक बर्षको तुलनामा खुद मुनाफा,संचालन मुनाफा, कुल आम्दानी बढेको हो।
फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको टेलिकमले जनाएको छ।
त्यसैगरि कोभिड १९ को कारण अन्तर्राष्ट्रिय यात्रा सहज नभइसकेको वास्तविकता तथा इन्टरनेटको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेतापनि डेटा, एसएमएस र भोइस व्यवसाय भएको वृद्धिको कारणले कम्पनीको यीसेवामा वृद्धि भई क्रमश १५, ३३५ र ७ प्रतिशतले वृद्धि भएको टेलिकमले जनाएको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४० रुपैयाँ ४७ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिमा १९ रुपैयाँ ७९ पैसा बढेर ६० रुपैयाँ २६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.९६ गुणा रहेको छ।