
आज सोमबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से सूचक ३.६५ अंकले बढेको हो ।
आजको प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये ४ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर छ । प्रि ओपन सेसनमा १ हजार १ सय ५३ कित्ता शेयर खरिद बिक्रिबाट ५ लाख २८ हजार ४ सय १४ रुपैयाँको कारोबार भएको छ ।
आइतबार बजेट सार्वजनिक भएपछि आज पहिलो शेयर कारोबार हुन लागेको हो । बजेटले पुँजीगत लाभकरको दर हेरफेर गरेको छैन भने पुँजीबजारको लागि निम्न ४ ब्यबस्था गरेको छ ।
१. धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिष्पर्धी बनाइनेछ। पुँजी बजारको विस्तार र विविधिकरण गरी सम्भावित जोखिम न्यूनीकरण गरी आम लगानीकर्ताको हक हित संरक्षण गरिनेछ।
२. धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाइनेछ। वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था मिलाएको छु।
३. वस्तु विनिमय बजार र यसका पूर्वाधारहरू सञ्चालनमा ल्याइनेछ। संस्थागत तथा सरकारी ऋणपत्रहरूको दोस्रो बजार कारोबारलाई व्यवस्थित गरी ऋणपत्र बजारको विकास गरिनेछ। उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटललाई सञ्चालन अनुमति दिई सहजीकरण गरिनेछ।
४. एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिनेछ।