
विन नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज जेठ १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले जेठ ३१ गते सभा गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि. र विन लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभ्ने गाभिने कार्य पश्चात् कायम हुन आएको चुक्ता पूँजी रु. ७२४,४१,३००।- (अक्षरेपी सात करोड चौबिस लाख एकचालिस हजार तिन सय) मा आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट प्रस्तावित बोनस शेयर वापतको रकम रु. ६७,६५,०००।- बाट कायम हुने ९.३३ प्रतिशत बोनस शेयर र आयकर ऐन, २०६३ को दफा ४७(क) बमोजिम लाग्ने आयकरको प्रयोजनको लागि आ.व. २०७७/७८ को मुनाफाबाट प्रस्तावित रकम रु. ३३८,२५०।- को बाट कायम हुने ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव साधारण सभाबाट अनुमोदन भए पछि शेयरधनीहरुलाई वितरण हुने छ।
कम्पनीको सभामा एफपिओ निष्काशन प्रस्ताव पनि पेश हुने छ । बोनस वितरणपछि संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ७०:३० कायम गर्न कम्पनीले एफपिओ निष्काशन गर्ने पेश गर्न लागेको हो ।