
नबिल बैंकको संस्थापक शेयरधनीको रुपमा रहेको हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्ट प्रा. लि. ले आफ्नो नाममा रहेको नबिल बैंकको ३ लाख कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । हिमालयन क्यापिटल मार्केट्सले ३ लाख २ हजार ५ सय ४५ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
हिमालयन क्यापिटल मार्केट्सले बैंकको संचालक समितिमा ति शेयर बिक्रि गर्न इच्छा राखी निवेदन दिएको र उक्त निवेदन बैंकको सञ्चालक समितिको बैठकमा पेश हुँदा रित पुयाई बिक्री / खरिद गर्न प्रकृया अघि बढाउने निर्णय भएको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको ई. प्रा. निर्देशन नं. १० बमोजिम उक्त शेयरहरू खरिद गर्नको लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम इच्छुक तथा योग्य विद्यमान संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विणामार्ग, दरबारमार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिन बैंकले आग्रह गरेको छ । बैंकले आफूले लिन चाहेको शेयर संख्या र प्रतिकित्ता मूल्य खोली सूचनाको प्रकाशन मिति समेत उल्लेख गरी गोप्य खामबन्दी / शिलबन्दी निवेदन दिन अनुरोध गरेको छ ।
उल्लिखित मितिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानूनी व्यवस्था अनुसार उक्त शेयरहरू अन्य व्यक्ति/संस्थालाई बिक्री गर्ने प्रकृया अगाडि बढाइने बैंकले जनाएको छ।