पुस १७ देखि १५ दिनसम्म एनसीसी बैंकको शेयर कारोबार रोक्का हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2022 | 11:33:18 AM मा प्रकाशित

laxmi  sunrise bank

पुस १७ गतेदेखि १५ दिनसम्म एनसीसी बैंकको शेयर कारोबार रोक्का हुने भएको छ  । कुमारी बैंकसँग मर्जरमा गई पुस १७ बाट एकिकृत कारोबार गर्न लागेको एनसीसी बैंकको शेयर कारोबार १५ दिनको लागि बन्द हुने भएको हो  ।

 शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि १५ दिन कारोबार बन्द हुन लागेको हो । यस अवधिमा कुमारी बैंकको भने कारोबार रोक्का हुने छैन ।  

 धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ मा भएको ब्यबस्था बमोजिम बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने भएको हो । उक्त निर्देशिकाको दफा ९ मा  एकीकृत व्यवसायिक कारोवार गरेको मितिबाट गाभ्ने/ गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि बढीमा १५ कार्य दिनसम्म शेयर कारोवार रोक्का राख्नु पर्ने ब्यबस्था छ। त्यसपछि एनसीसी बैंकको शेयर कुमारी बैंकको रुपमा आई कारोबार गर्न सकिने छ । 

कुमारी बैंक र  एनसीसी एक आपसमा मर्ज भई पुस १७ गतेबाट एकिकृत कारोबार गर्दै छन्।मर्जरपछि कुमारी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै बैंकको मङ्सिर २५ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी दुई बैंकलाई पुस ६ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।  कम्पनी रजिष्ट्रारको कार्यालयल पुस ८ गते एनसीसी बैंकको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु कुमारी बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । 

सोहि अनुसार पुस १७ गते आइतबारदेखि कुमारी बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।  मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहने छ ।

एकीकृत कारोबार शुरु गरिने भएको हुँदा डाटा माईग्रेसन प्रयोजनको लागि पुस १५ र पुस १६ गते सार्वजनिक बिदाका दिन कुमारी बैंक र एनसीसी बैंकद्वारा आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आईरहेको बैंकिङ्ग सेवाहरु बन्द रहने बैंकले जनाएको छ।

यी दुई बैंक १:१ को स्वापमा मर्ज भएका हुन् । कुमारी बैंक लि.र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने (मर्ज) सम्पन्न भए पश्चात चुक्ता पूँजी रु.२६ अर्व भन्दा बढी हुने छ भने शाखा संख्या ३५५, ए. टी. एम. संख्या २४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप (ग्राहक) ३ खर्व १ अर्व भन्दा बढी, कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved