सवाघण्टाको सम्बोधनमा लगानीकर्तालाई अध्यक्ष हमालको १७ संदेश, 'होल्ड योर फोर्ट'मा जोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2023 | 11:16:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पुँजीबजारमा राम्रो दिन आउने बताएका छन् । बुधबार आयोजित लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा उनले शेयरबजारमा राम्रो दिन आउने भएकोले शेयर लगानीकर्तालाई संयम भएर बस्न आग्रह गरेका हुन् । उनले लगानीकर्तालाई क्रोध र डरमा निर्णय नगर्न आग्रह गर्दै सम्हालिएर केहि समय पर्खन आग्रह गरेका हुन् ।

बुधबार आयोजित कार्यक्रम सवा घण्टा सम्बोधन गरेका उनले शेयर लगानीकर्तालाई मुख्यत निम्न संदेश दिन चाहेका छन् ।

१. पुँजीबजार सुधारको लागि मेरो आफ्नै भिजन पेपर छ, लगानीकर्ताले गरेका अधिकांश मागहरु त्यसमा समावेश छन्, बोर्डमा अध्यक्ष नियुक्त हुँदै गर्दा भिजन पेपर अर्थ मन्त्रालयमा प्रस्तुत गरिएको थियो । बोर्डको र लगानीकर्ताको आवाज एउटै नै छ ।

२. यो देशमा कम गरेर देखाउँन गाह्रो छ। तर मैले अधिक कोशिस गरिरहेको छु । म मेरिटोक्रेसीमा जोड दिन्छु । जे जति पनि काम हुन्छ, मेरिटको आधारमा मात्र हुन्छ । व्यक्ति जो सुकु भए पनि मेरिटको आधारमा काम हुनु पर्छ । त्यसको लागि कोशिस गरिरहेको छु । 

३. कतिपय ब्यक्तिहरु कुरा बुझ्न नै चाहदैनन् । रिसर्च गर्दैनन् । अध्ययन गर्दैनन् । दिमागको टनेल साँघुरो बनाएर बसेका छन् । कतिपयको दिमाग टनेल साँघुरो होइन, बन्द नै रहेछ । उनीहरु रिसर्च गर्न नै चाहदैनन् । हल्लाको भरमा कुरा गरेर हुँदैन , रिसर्च गरेर फ्याक्ट सहित आउनुस्, मैले लिएका नीतिमा म बहस गर्न तयार छु। सबैको साथ भएमात्र काम सफल हुन्छ । म सबैलाई बुझाउन तयार छु ।

४. शत प्रतिशत व्यक्तिलाई खुसी राख्न सकिने कुनै पनि नीति हुँदैन । हरेक नीतिमा कोहि न कोहि अशन्तुष्ट नै रहन्छ । हामीले लिएका नीतिमा मापदण्ड तोकेका छौ, काम गरिसक्नु पर्ने समय निर्धारण गरेका छौ । ब्यूरोक्रेसीले खेल्ने ठाउँ बन्द गरेका छौ । कानुन मै मापदण्ड र काम गरिसक्नु पर्ने समय तोकेपछि भोलि आउने बय्क्तिले पनि त्यहि फलो गर्छ ।

५. नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स, र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरणको बाटो छिटो खुलाईदिन अदालतलाई आग्रह गरिरहेका छौ । अदालतले छिटो निकास दिनु पर्छ । हाम्रो पक्षमा निर्णय देऊ भनेका छैनौ, निर्णय गरिदेउ भनेका छौ । अदालतको निर्णय बोर्डले चाहेअनुसार नआउँन पनि सक्छ । त्यसो भयो भने अर्को बाटो रोज्ने छौ । हाम्रो गन्तब्य प्रष्ट छ । एउटा बाटोबाट नभए अर्को बाटोतर्फ जान्छौ । नयाँ नियमावली ल्याएर भए पनि नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स दिन्छौ।

६. नयाँ स्टक एक्सचेन्ज आउँदा कसैलाई घाटा छैन । अहिले भयेको स्टक एक्सच्नेज कर्पोरेट भैदिएको भए नयाँ  स्टक एक्सचेन्ज नै चाहिने थिएँन । नयाँ स्टक एक्सचेन्ज आउँदा प्रतिस्पर्धा बढ्छ । त्यसको उदाहरण टेलिकम क्षेत्र र बैंकिङक्षेत्रमा देखिसकेका छौ ।

७. नेपालमा १०० वटा ब्रोकर होस्। तर सबैलाई समान नियम होस् । सबैलाई प्रतिस्पर्धाको लागि समान धरातल हुनु पर्छ । सबै ब्रोकर बराबर हुन् । विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि ३ तहको ब्रोकर प्रस्ताव गरिएको हो । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिदैमा अहिले भएका ब्रोकर डुब्दैन । बैंकले गर्ने काम र ब्रोकरले गर्ने काम फरक हुन् । विश्वका उदाहरण हेर्न सकिन्छ, टप ब्रोकरमा ब्रोकर नै छन् , बैंकका सहायक कम्पनी न्यून छन् ।

८. नयाँ ब्रोकर थपिएपछि ब्रोकर कमिशन घट्छ । लोअर लिमिट खुला राख्छौ । त्यसले प्रतिस्पर्धा बढ्छ । 

९. पुँजीबजारमा राम्रो दिन आउँछ । अहिले सरकर परिवर्तन भईरहने, पुँजीगत खर्च नभएको, बाह्य कारण लगायतका कारणले बजार घटेको छ । यो बेला संयम हुनु पर्छ, सम्हालिनु पर्छ, प्रखिनु पर्छ । आफ्नो किल्ला भत्किनु दिनु हुदैन । आत्तिनु हुदैन। अक्सर क्रोध र डरमा 'अनवाइज' निर्णय गर्न पुग्छौ । सम्हालिन सक्नु पर्छ । अंग्रेजीमा 'hold your fort' भनिन्छ।

१०. धितोपत्र बोर्ड पनि आफ्नै डिजिटल ट्रान्सफरमेशनमा गरिरहेको छ । अटोमेटिक सुपरिवेक्षण प्रणाली लागु हुने छ । शंकास्पद कारोबारको सिस्टमले नै फेला पार्छ । 

११. इतिहास मै पहिलो पटक भित्रि कारोबारको कसुरमा अदालतमा मुद्दा दायर भएको छ । अरु पनि अनुसन्धान भईरहेको छ । भित्रि कारोबार मुद्दामा थप् मुद्दा दर्ता हुन्छन् ।

१२. बुक विल्डिङ प्रणालीको आईपिओ छिट्टै आउँछ । समय तोकेका छौ । योग्य संस्थागत लगानीकर्ताले तय गरेको मूल्य ठिक छ कि छैन भने भनेर फेरी रिचेक गर्न भनेका छौ । २ महिनामा यो प्रक्रिया सक्न निर्देशन दिएको छु । छिट्टै आईपिओ आउँछ ।

१३. नेप्सेमा एसएमई पल्टफर्मको लागि नियमावलीको मस्यौदा तयार भएको छ। अबको ७ महिनामा एसएमई प्लेटफर्म आउने गरि काम गर्छौ । ठूला कम्पनी र साना कम्पनीलाई एकै ठाउँमा राख्दा बाघ र बाख्रालाई एकै खोरमा राखे जस्तो भएको छ, अब त्यस्तो हुँदैन ।

१४. कम्पनीहरुले १० प्रतिशत मात्र आईपिओ निष्काशन गर्ने नियम पुनरावलोकन हुन्छ, सामुहिक लगानी कोषलाई आईपिओमा प्रदान गरिने आरक्षणबारे पुनरावलोकन हुन्छ, रियल सेक्टरका कम्पनीको संचालक समबन्धि पुनरावलोकन हुन्छ ।

१५. नेपालको दोस्रो बजारमा एनआरएनलाई भित्र्याउन धेरै जटिलता छन् । सिधै भित्र्याउने भन्दा पनि प्राइभेट इक्वीटि भेन्चर क्यापिटल मार्फत भित्र्याउन पर्छ । भारतमा भित्रिने वैदेशिक लगानी मध्ये ७० प्रतिशत प्राइभेट इक्वीटि भेन्चर क्यापिटल मार्फत आउंछ।

१६. पुँजीगत लाभकरको विषयमा गत वर्ष बजेट आउँदा सरकारलाई कन्भिन्स गरेकै हो । बजेट आउँने अघिल्लो दिनसम्म पनि घट्छ भन्ने नै थियो । अन्तिममा के भएर त्यो विषय राखिएन । यस पटक पनि सरकारलाई पहल गर्छु । पुँजीगत लाभकर घटाउने विषयमा कुनै कसर छोड्ने छैन । राज्यले त्यो सहयोग गर्नै पर्छ ।  

१७. म सँग समय कम छ, अब १० महिना हाराहारी मात्र बाँकि छ । म आउटपुट देखाएरै जान्छु। मलाई पनि पुँजीबजारमा रिफर्मको हुटहुटी छ । पुँजीबजारको वृद्धि र स्थायित्वको लागि दिगो प्लेटफर्म चाहिन्छ । त्यसमा काम गरिरहेको छु । जवाफदेहिता, पारदर्शीता लगायतमा काम भईरहेको छ । बजारलाई बलियो बनाउने हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved