एसएमई कम्पनीको आईपिओ भर्न २५ हजार अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2023 | 11:45:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एसएमई प्लेटफर्म संचालनको लागि आवश्यक पर्ने नियमावलीको मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले आज बिहिबार 'साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९ मस्यौदा' सार्वजनिक गरेको हो ।

मस्यौदामा  यस नियमावली बमोजिम धितोपत्र दर्ता गराउने संगठित संस्थाको चुक्ता पूँजी बढीमा पच्चीस करोड रुपैयाँ हुनुपर्ने उल्लेख छ ।  तर साना तथा मझौला संगठित संस्थाको उपस्थिती र बजारको अवस्था हेरी बोर्डले चुक्ता पूँजीको सीमा हेरफेर गर्न सक्ने उल्लेख छ ।

त्यस्तै यस नियमावली अनुसार आईपिओ निष्काशन हुँदा आवेदकले न्युनतम २५० कित्ता शेयरको लागि आवेदन दिनु पर्ने प्रस्ताव गरिएको छ । यस हिसाबमा कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपिओ निष्काशन गरेमा एक जनाले आवेदन दिंदा न्युनतम २५ हजार आवश्यक पर्ने देखिन्छ । शेयर बाँडफाँड गर्दा सर्वप्रथम सबै आवेदकलाई २५०  कित्ताको दरले धितोपत्र बाँडफाँड गर्नु पर्ने र बाँकी रहेको निष्काशित धितोपत्रको समानुपातिक रुपमा खण्डित नहुने गरी बाँडफाँड गर्नुपर्ने उल्लेख छ ।  सबै आवेदकहरूलाई बाँडफाँड गर्न अपुग हुने अवस्थामा गोला प्रथाबाट आवेदक छनौट गरी धितोपत्र बाँडफाँड गर्नु पर्ने व्यवस्था नियमावलीमा छ । 

त्यस्तै आईपिओ निष्काशन गर्दा यदि अन्य नियमाक्ले तोकेको अवस्थामा बाहेक कम्पनीले न्युनतम ३१ प्रतिशत र अधिकतम ४९ प्रतिशत शेयर निष्काशन गर्न सक्ने प्रस्ताव गरिएको छ । 

बोर्डले १५ दिन भित्र मस्यौदामा राय सुझाव पेश गर्न भनेको छ । यहाँ क्लिक गरेर मस्यौदाको पूर्ण पाठ हेर्न सकिन्छ ।

बोर्डले लामो समयदेखि साना तथा मझौला कम्पनीको शेयर कारोबारको लागि छुट्टै एसएमई प्लेटफर्म संचालन गर्न चाहेको थियो । बोर्डले सो को लागि व्यवस्था गर्न नेप्सेलाई निर्देशन पनि दिएको थियो । तर नेप्सेले प्रष्ट कानुनी आधार नभएसम्म एसएमई प्लेटफर्म संचालन गर्न नसकिने बताएपछि कानुनी सुधार गरेर नियमावली मै यसलाई समावेश गर्न लागेको हो । कम पुँजी भएका कम्पनीलाई एसएमई प्लेटफर्ममा राखेर एसएमई प्लेटफर्मको छुट्टै इन्डेक्स बनाएर कारोबार गराउने तयारी बोर्डले गरेको हो। 

 अहिले सबै खालको कम्पनीलाई एकै ठाउँमा राखेर कारोबार गराउंदा बाघ र बाख्रालाई एकै खोरमा राखेको जस्तो भएकोले अब एसएमई प्लेट फर्म आएपछि त्यस्तो नहुने बोर्ड अध्यक्ष हमालले बताएका छन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved