नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको मुद्दामा आज आदेश आउने सम्भावना, एक नम्बर मै पेशी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 11:10:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतमा लामो समयदेखि रोकिएको नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स बितरण सम्बन्धि मुद्दाको आज छिनोफानो हुने सम्भावना रहेको छ । उक्त मुद्दाको पेशी आज बिहिबारको लागि तोकिएसँगै आज यस मुद्दामा अन्तिम आदेश आउने सम्भावना रहेको छ ।

आज न्यायधिशद्वय अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको छ । उक्त इजलाशको पहिलो नम्बर मै यो मुद्दाको पेशी तोकिएको छ ।

 रिट निवेदक अधिवक्ता दिपक विक्रम मिश्रले अधितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए  । उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै कार्तिक ४ गते न्यायधीश तिल प्रसाद श्रेष्ठको एकल इजलाशले  नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। त्यस्तै कार्तिक २९ गते निर्णय फाइल झिकाउने आदेश भएको थियो भने पुस ५ गते पूर्ण सुनुवाईका लागी पेश गर्ने र अग्राधिकार दिने आदेश भएको थियो ।  फागुन १५ गते  संवैधानिक इजलाशमा यसै सम्बन्धी परेको मुद्दाको आदेशको मिसिल झिकाएर अर्को सुनुवाईको लागि पेश गर्नको लागि अदालतले आदेश दिएको थियो ।  त्यसपछि आज मुद्दामा सुनुवाई हुन लागेको हो  ।  

संवैधानिक इजलाशमा अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स बितरणको लागि गरिएको नियमावली संशोधन संविधान बमोजिम नभएको भन्दै ति नियमावली खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए । अदालतले उक्त रिट खारेज गरिसकेको छ । 

ब्रोकर लाईसेन्सको लागि आवेदन दिएको हिमालयन ब्रोकरेज कम्पनीले अधिवक्ता दिपक विक्रम मिश्र विरुद्द पनि सर्वोच्चमा मुद्दा हालेको छ । सोहि रिटलाई पनि एकै ठाउंमा राखेर आज सुनुवाई हुने छ ।  

अधिवक्ता मिश्रले दायर गरेको रिटमा  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाईएको छ।   

 बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो । तर कतिवटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे सूचनामा खुलाएको थिएन । ब्रोकर लाईसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved