गुरु न्यौपानेलाई ७५ हजार जरिवाना तिराउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 12:37:16 PM मा प्रकाशित

laxmi  sunrise bank

उच्च अदालत पाटनले रिडी पावर कम्पनीका निवर्तमान अध्यक्ष गुरु प्रसाद न्यौपानेलाई ७५ हजार जरिवाना तिराउने धितोपत्र बोर्डको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । उच्च अदालतले गत चैत्र २१ गते न्यौपानेलाई ७५ हजार जरिवाना तिराउने आदेश कार्यान्वयन नगर्न धितोपत्र बोर्डको नाममा आदेश दिएको हो । 

उच्च अदालतका न्यायधीशद्वय श्यामजी प्रधान र किरण कुमार पोखरेलको संयुक्त इजलाशले यस मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई ७५ हजार जरिवाना तिराउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । 

अदालतको आदेशमा भनिएको छ 'प्रस्तुत मुद्दामा विपक्षी नेपाल धितोपत्र बोर्डबाट मिति २०७९/०९/२४ मा भएको निर्णय उपर यस अदालतमा पुनरावेदन पर्न आएको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५३ बमोजिम प्रस्तुत पुनरावेदनमा अन्तिम किनारा नभएसम्म उक्त निर्णयको कार्यान्वयन गर्न नमिल्ने हुँदा निवेदन माग बमोजिम विपक्षी नेपाल धितोपत्र बोर्डबाट भएको उक्त निर्णय हाल कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षीहरुलाई जानकारी गराउनु होला ।'

धितोपत्र बोर्डले पुस २४ गते गुरु न्यौपानेलाई ७५ हजार जरिवाना तिराउने निर्णय गरेको थियो ।  बोर्डले धितोपत्र ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार न्यौपानेलाई कारवाहीको निर्णय गरेको थियो । उक्त उपदफामा 'यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफुले  गर्नु पर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले पच्चीस हजार रुपैयाँदेखि पचहत्तर हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ। ' भन्ने उल्लेख छ ।

कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले दश वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहुने व्यवस्था धितोपत्र ऐनले गरेको छ ।

न्यौपानेले बोर्ड विरुद्द दायर गरेको मुद्दा भने उच्च अदालत पाटनमा विचाराधीन नै छ  । त्यस्तै बोर्डले न्यौपाने विरुद्द काठमाडौँ जिल्ला अदालतमा  भित्री कारोवार (इन्साइडर ट्रेडिङ) गरेको कसुरमा मुद्दा दर्ता गरेको छ । चैत्र ८ गते बुधबार सरकारी जिल्ला वकिलको कार्यालयले उनी विरुद्द उद्दा दायर गरेको हो ।उनी विरुद्द  ३ करोड २३ लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरिएको हो । 

रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपानेले उक्त कम्पनीको सेयर निज सो पदमा बहाल रहदाकै बखत मिति २०७७।१२।१९ देखि मिति २०७८।०४।२४ सम्म खरिद बिक्री गरेको विषयमा तहकिकात गर्दा निजले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोवार गरेको देखिएकोले मुद्दा दर्ता गरिएको धितोपत्र बोर्डले जनाएको छ ।  निज उपर धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (१) बमोजिमको सजायको माग दाबी लिई मुद्दा दायर भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved